१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

गायिका नितुको आत्मदाह : कलाकारद्वारा दुःख व्यक्त, प्रेम सम्बन्धमा सचेत हुन आग्रह

गायिका नितु पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मादाहको प्रयासपछि भएको मृत्युपश्चात नेपाली साङ्गीतिक क्षेत्रमा र सामाजिक सञ्जालमा बहस सिर्जना भएको छ। गायिका नितु पौडेल र गायक तथा संगीतकार बाबुल गिरी बिचको सम्बन्धमा आएको विवादपछि पौडेलले आत्मादाह गरेको अनुमान गरिएको छ।

घटनापछि गायिका समीक्षा अधिकारी, जुनु रिजाल र एलिना चौहान लगायतका कलाकारहरूले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै प्रेम सम्बन्ध, मानसिक स्वास्थ्य र जीवनको महत्वबारे आफ्नो धारणा राखेका छन्।

गायिका समीक्षा अधिकारीले नितु पौडेलको कदमप्रति गहिरो समवेदना व्यक्त गर्दै उनको जन्मदिने बाबुआमालाई किन बिर्सिएको भन्दै प्रश्न गरेकी छिन्। उनले लेखेकी छिन्, ‘मायाले पिरोल्छ, मायाले दुःख दिन्छ, सताउँछ, अत्याउँछ र पनि आफ्नै संघारमा न्याय खोज्दै थियौ, तिमीले चोखो मायाको बलिदान दियौ के थाहा उसलाई बाँचेर पनि पटक पटक मर्नुको पीडा त्यसैले त मर्नु नै समस्याको समाधान रोज्यौ। तिमिले खै के गर्यौ? जे गर्यौ संसार देखेपछि गरेउ तर संसार देखाउने बाबु आमालाई किन बिर्सियौ?’  

अधिकारीले पौडेललाई शोषण गरी मर्न बाध्य बनाउने जो कोही भए पनि उसलाई कानुनको दायरामा ल्याउनुपर्ने माग गरेकी छिन्।

त्यसैगरी कलाकार जुनु रिजालले नितुको घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता घटनाबाट जोगिन मानसिक स्वास्थ्यलाई ध्यानमा राख्नुपर्ने बताएकी छिन्। उनले तनाव असह्य भएमा डाक्टरको निगरानीमा बस्न र काउन्सिल सेसन सुरु गर्नुपर्ने समेत बताइन्।  

‘कुनै पनि रिलेसनमा बस्दा एकोहोरो या दोहोरै छ त्यो स्पष्ट हुनुस, सक्भर आफूले मन पराएको भन्दा आफूलाई मन पराउने हेर्नुस, जन्म दिएर हुर्काइ बढाइ पढाएकाको दु:ख, पिर, कस्ट सम्झिनुस्, जीवन सुन्दर छ यसलाई आफ्नै गतिमा बग्न दिनुस बिचैमा यसरी हरेस नखानुस्,’ उनले साामाजिक सञ्जालमा लेखेकी छिन्।  

त्यसैगरी गायिका एलिना चौहानले प्रेम सम्बन्धको यथार्थलाई कठोर शब्दमा व्यक्त गरेकी छिन्। उनले मायालाई ’खेल’ नभइ ’आगो’ को संज्ञा दिएकी छिन्, जसले शरीर र मन दुवै जलाउने बताएकी छिन्।  

गायिका चौहान लेख्छिन्, ‘माया सुन्दर हुन्छ, तर जब त्यो अन्धो बन्छ, त्यसले जीवन नै लिन्छ।’  

नितुले गल्ती गरेको बताउँदै उनी लेख्छिन्, ‘उनलाई मर्न बाध्य बनाउने हरेक व्यक्ति, हरेक मौन दर्शक पनि दोषी छन्।’ कसैको भावनासँग खेल्नेहरूलाई थाहा होस्, तिमीहरूको धोका र बेवास्ताले कसैको जीवन नलियोस्। मायाभन्दा ठूलो जिन्दगी हो,’ चौहानले कसैको भावनासँग खेल्नेहरूलाई चेतावनी दिँदै मायाभन्दा ठूलो जिन्दगी भएको सन्देश दिएकी छिन्।

प्रकाशित: ८ कार्तिक २०८२ ०९:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App