सिक्किमेली लघुकथा समाजले प्रकाशन गरेकाे संयुक्त लघुकथासंग्रह ‘सिक्किमेली लघुकथासङ्ग्रह’ लोकार्पण भएको छ।
समाजका व्यवस्थापक हेमराज अधिकारीले प्रेसविज्ञप्ति जारी उक्त कुराकाे जानकारी गराएका हुन्।
गान्तोकमा सिक्किमेली लघुकथा समाजको आयोजनामा वरिष्ठ साहित्यकार श्री के.एन. शर्माको अध्यक्षतामा र वरिष्ठ साहित्यकार रुद्र पौड्यालको प्रमुख आतिथ्यमा लाेकार्पण भएको हो।
कार्यक्रमका सभाघ्यक्ष शर्मा, प्रमुख अतिथि पौडेल, समाजका संस्थापक त्रिपुरा खरेल , व्यवस्थापक हेमराज अधिकारी, प्रधुम्न श्रेष्ठ, चक्रपाणि भट्टराई ,चूणामणि खतिवडा, विमल काफ्ले , भक्ति शर्मा लगायतका व्यक्तित्वहरूले कृतिको सामूहिक लाेकार्पण गरेका हुन्।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै समाजका व्यवस्थापक हेमराज अधिकारीले सिक्किमेली लघुकथा समाजको स्थापना, उद्देश्य, यात्रा, उपलब्धि तथा भावी योजनाबारे विस्तृत जानकारी गराएका थिए।
समाजका संस्थापक त्रिपुरा खरेलले समाजको स्थापना कालदेखि आजसम्मको सम्पूर्ण गतिविधि, उपलब्धि र भविष्यको कार्यदिशाबारे प्रकाश पार्दै एउटा लघुकथा वाचन गरेकी थिइन्।
कार्यक्रममा गीताश्री शर्मा र सोमकुमार सुब्बाले लघुकथा वाचन गरेका थिए भने डा. पारसमणि दङ्गालले विमोचित कृतिमाथि समालोचनात्मक विमर्श प्रस्तुत गरेका थिए।
समाजले फेसबुकमार्फत् सञ्चालन गर्दै आएको प्रत्यक्ष प्रसारणमा लघुकथा वाचन गर्ने प्रस्तोताहरूलाई प्रमुख अतिथि पौड्यालबाट सम्मानसमेत गरेको थियो।
लघुकथाविद् लता केसी लघुकथा अभिभावककाे अनुसार कार्यक्रमका प्रमुख अतिथि पौड्यालले नेपाली साहित्यको लघुकथा विधालाई भारतभर स्थापित गर्न सिक्किमेली लघुकथा समाजले छोटो समयमै उल्लेखनीय र अनुकरणीय कार्य गरिरहेको उल्लेख गर्दै समाजलाई हार्दिक बधाई तथा शुभकामना दिएका थिए।कार्यक्रममा उपस्थित अतिथिहरूलाई के.के. प्रधानले धन्यवाद ज्ञापन गरेका थिए।
कुशल प्रस्तोता राधा पाण्डेले सञ्चालन गरेको सो कार्यक्रममा समाजका कार्यकारिणी सदस्यहरू,कालेबुङ,सिलिगुडी,दार्जिलिङ,खर्साङ र सिक्किमबाट आएका साहित्यकारहरुको उत्साहजनक उपस्थिति रहेको थियो।
प्रकाशित: १४ असार २०८३ ०८:०२ आइतबार





