केही हप्ताअगाडि प्राध्यापक मोहनप्रसाद लोहनीद्वारा लिखित ‘द पोइटिक्स अफ रिवेलियन यान्ड फ्युजटिभ एस्सेज’ शीर्षकको पुस्तक प्राप्त भयो। यो पुस्तक लोहनीले उपहारस्वरूप मलाई उपलब्ध गराएका थिए। पुस्तक युगकवि सिद्धिचरण श्रेष्ठका विभिन्न साहित्यिक रचनाबारे लोहनीले विभिन्न समयमा लेखेका र पत्रिकामा प्रकाशित १० वटा लेखको संकलन हो। लेखहरू स्तरीय अंग्रेजी भाषामा लेखिएका छन् र उद्धरण गरिएका नेपाली भाषाका कविताका हरफलाई पनि अंग्रेजीमा अनुवाद गरिएको छ। पुस्तकको प्रकाशन कवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले गरेको हो।
पुस्तकमा लोहनी लेख्छन् - ‘युगकवि सिद्धिचरण श्रेष्ठमा प्रगाढ राष्ट्रभक्ति थियो। उनी आफ्नो हकअधिकार, स्वतन्त्रता र मानवीय सम्मानका लागि निरंकुश सत्ताका विरुद्ध विद्रोह गर्नुपर्ने कुरामा विश्वास गर्थे। उनी सङ्कीर्ण जाति प्रथाको विरोध गर्थे र आत्मिक प्रेमलाई महत्त्व दिन्थे। उनको मानवता र विश्वशान्तिमाथि अटल विश्वास थियो। उनी महिलाको सम्मान र उत्थान चाहन्थे। उनको प्रकृतिप्रेम बिछट्टको थियो। उनी प्रकृतिका पुजारी थिए।’ लोहनी भन्छन् - जीवनको अन्त्यतिर कविले सांसारिक मोहबाट मुक्त भई आध्यात्मिक सिद्धि प्राप्त गरे।
सिद्धिचरण राणाशासनकालमा जन्मिएका थिए। हुर्कंदै जाँदा उनले राणाशासनको क्रूरता र अत्याचार देखे। राणाहरू अत्यन्त निर्दयी थिए र उनीहरूले नागरिकलाई नैसर्गिक अधिकारबाट वञ्चित गरेका थिए। उनीहरूको हुकुमी शासन थियो। नागरिकहरू स्वतन्त्र थिएनन्। यी सबै कुरा देखेपछि कविमा विद्रोहको भावना उत्पन्न भयो र आफ्ना कविताका माध्यमद्वारा राणाहरूको अत्याचारबाट देशलाई मुक्त गर्न विद्रोहका लागि युवाहरूलाई प्रोत्साहन गरे। उनी युवाहरूका प्रेरणास्रोत भए।
युवाहरू आफ्नो हकअधिकारका लागि सजग भए र आन्दोलित भए। यही कसुरमा कवि र गणेशमान सिंहलगायत केही युवालाई राणाहरूले जेलमा कठोर यातना दिए। गंगालाल, धर्मभक्त, शुक्रराज र दशरथलाई फाँसी दिएर विद्रोहलाई दबाउन खोजियो। युगकविलाई १८ वर्षको जेल सजाय तोकियो। ‘मङ्गलमान’ खण्डकाव्य सिद्धिचरणको उत्कृष्ट कृति मानिन्छ। उक्त खण्डकाव्यका नायक मङ्गलमान क्रान्तिकारी युवाका प्रतिनिधि हुन्।
कविले उक्त कृति मार्फत न्याय र हकअधिकारका लागि युवाहरूलाई दिएको सन्देशलाई प्राध्यापक लोहनीले पुस्तकमा प्रस्तुत गरेका छन्। कविले न्याय र सत्यका लागि नेपालमा मात्र नभई संसारमा नै युवाले संघर्ष गर्नुपर्ने कुरा उल्लेख गरेका छन्। सन्देश विश्वव्यापी छ।
लोहनी भन्छन् - युगकविको अर्को खण्डकाव्य ‘आँसु’ मा पनि ‘मङ्गलमान’ मा झैं विद्रोहको स्वर घन्किन्छ। यस खण्डकाव्यमा राणा शासनद्वारा सताइएका नेपालीको पीडालाई मानवीय समस्याका रूपमा उल्लेख गरिएको छ। संसारका धेरै देशमा कमजोरमाथि गरिएको अन्याय र अत्याचारलाई सभ्यताको नाउँ दिइएको छ।
युगकविमा प्रगाढ राष्ट्रप्रेम थियो। उनी राष्ट्रको गौरव गीत गाएर कहिल्यै थाक्दैनथे। लोहनीले युगकविले रचना गरेका कविताहरू ‘कोपिला’, ‘मेरो प्रतिबिम्ब’, ‘कुहिरो र घाम’ आदि, खण्डकाव्यहरू ‘मङ्गलमान’, ‘ज्यानमारा साइँलो’, ‘उर्वशी’, ‘आँसु’ र ‘जुनकिरी’, ऐतिहासिक सन्दर्भमा लेखिएको ‘भीमसेन थापा’ र गीती नाटक ‘बलिवध’बारे पनि समालोचनात्मक विश्लेषण गरेका छन्।
‘युद्ध र शान्ति’लाई सामाजिक खण्डकाव्यका रूपमा लिइएको छ। अति प्रसिद्ध कविता ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘वर्षा’, ‘सुन्दरीजल’, ‘वसन्त’, ‘हिमाल’, ‘प्रभातकालीन किरण’, ‘हिमालको दृश्य’, ‘जुनेली रातमा’ शीर्षकका कविताले कविको प्रकृतिप्रेम दर्साउँछन् भन्छन् प्राध्यापक लोहनी।
सिद्धिचरणले आफ्नो युगको प्रतिनिधित्व गरे र उनले आफ्ना कृतिका माध्यमबाट धेरैलाई जागरुक र प्रभावित पारे। प्राध्यापक लोहनी भन्छन् - गणेशमान सिंह, प्रा. यदुनाथ खनाल, डा. ईश्वर बराल, केदारमान व्यथित, डा. जयराज आचार्यहरू उनीबाट धेरै प्रभावित थिए। उनीहरूले युगकविको उच्च मूल्याङ्कन गरेका छन्।
युगकविको तुलना कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र नाट्यसम्राट बालकृष्ण समसँग गरिएको छ। लोहनीले राजनीतिक क्रान्तिका सन्दर्भमा सिद्धिचरण श्रेष्ठ सबैभन्दा अग्र स्थानमा रहेको ठान्छन्।
यसरी लोहनीका अनुसार सिद्धिचरण बहुमुखी प्रतिभा भएका कवि हुन्। उनी अन्यायविरुद्ध लडेर मात्रै सच्चा शान्ति प्राप्त गर्न सकिन्छ भन्छन्। उनी अहिंसा, मानवको कल्याण र विश्वशान्तिको सन्देश दिन्छन्। उनी सत्य र सामाजिक न्यायको पक्षमा उभिन्छन्। उनी दुःखी र कमजोरका आवाज हुन्। पछि उनमा उच्च आध्यात्मिक चेतना प्रस्फुटन भएको पाइन्छ।
पुस्तक ४२ पृष्ठको छ। युगकवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार वैरागी काँइलाले भूमिका लेखेका छन्। पुस्तकको अन्त्यमा लेखक लोहनीले युगकविबारे कविता लेखेका छन्। नयाँ पुस्ताका लागि पुस्तक उपयोगी छ। पुस्तकले धेरै नयाँ कुराको जानकारी गराउँछ। पुस्तकमा केही कुरा दोहोरिएका छन्। विभिन्न समयमा लेखिएका लेखहरू भएकाले त्यस्तो हुन गएको होला। अर्को संस्करणमा प्रेसले गरेका सामान्य कमीहरू सच्चिएर आउनेछन् भन्ने आशा गर्छु।
प्राध्यापक लोहनी विद्वता र अनुभवले खारिएका अंग्रेजी विषयका प्राध्यापक हुन्। उनले लामो समय प्राध्यापन गरेर बिताए। कूटनीतिक क्षेत्रमा पनि उनको लामो अनुभव छ। उनीसँग नेपाल विश्व सम्बन्ध परिषद्मा अध्यक्ष भएर काम गरेको अनुभव छ। ८३ वर्षको उमेरमा पनि उनको क्रियाशीलता प्रेरणादायक छ।
प्रकाशित: ३१ श्रावण २०८२ ०७:५० शनिबार





