१५ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

अल्प समय अनन्त अपेक्षा

समय

जेन-जी विद्रोहपश्चात् नेपालको राजनीतिक भूधरातल फेरियो। दशकौंदेखि सत्ताबाहिर नरहेका दलले तत्कालका लागि जनतामाझ उभिएर समीक्षा गर्ने हैसियतसमेत गुमाए। ‘ज्यान जाला पद नजाला’ भन्ने मनोभाव पालेका नेता पदभन्दा ज्यान नै पहिला जोगाउनुपर्ने रहेछ भन्ने निचोडमा पुगे।

कतिपयको ज्यान जोगाउने बहानामा कैयौंको ज्यान गयो। थुप्राथुप्रा पैसाका बिटा, चाङ चाङ व्यञ्जन, महँगा धातुजडित वस्त्र, सुविधासम्पन्न सवारी साधन, लाखौं रुपैयाँ पर्ने रङ्गीन रस, आलिसान महल, सयौं सुरक्षाकर्मी र बलवान पाखुरे कार्यकर्ता सबै खोइलाका कटेरी रहेछन्, तालमेल बिग्रियो भने एकैछिनमा गर्ल्याम्म ढल्ने। अहिले नष्ट हुने भौतिक सम्पत्तिभन्दा नष्ट नहुने आत्मिक ऊर्जा अमूल्य हुँदो रहेछ भन्ने मनोविज्ञान मन मनमा मौलाएको छ।

क्रान्ति कसरी जन्मिन्छ?

क्रान्ति सर्वजनले अनुभूत गर्नेगरी गरिएको आमूल परिवर्तन हो। अर्थात् पुरानो व्यवस्था, विधिविधान र सरकारको पूर्ण परिवर्तन भई उक्त स्थानमा नयाँ नेतृत्व र प्रवृत्ति स्थानान्तरण हुनु नै क्रान्ति हो। जब शासकप्रति जनतामा तीव्र असन्तुष्टि पैदा हुन्छ, अनि रोपिन्छ क्रान्तिको बिउ। त्यसैले क्रान्तिका लागि उर्वर बिउ हो - असन्तुष्टि। शासकको पद, प्रतिष्ठा र पैसाप्रतिको चरम उत्कण्ठा, म नै देश हुँ भन्ने अहं अनि शासक र जनताबिच बढ्दो विभेदले जन्माउँछ असन्तुष्टि। त्यही असन्तुष्टि सङ्गठित हुँदै जान्छ, मौलाउँदै जान्छ। अति भएपछि जनताले त्यही असन्तुष्टिरूपी कफन टाउकोमा बेरेर विद्राहको मैदानमा होमिन्छन् अनि हुन्छ क्रान्ति।

महात्मा गान्धीले भनेका छन् - जब झुसिलकिराले अब संसार सकिँदैछ भन्ने सोच्छ, तब ऊ सुन्दर पुतलीमा बदलिन्छ। गान्धीको यो भनाइ बडो मार्गदर्शक लाग्छ मलाई। हाम्रो समस्या वस्तुमा भन्दा पनि सोचमा छ। हामीले भोलि मर्दैछौं भन्ने सोचेर काम गर्नुपर्छ अनि हामी कहिल्यै मर्दैनौं भन्ने सोचेर सिक्नुपर्छ।

हामी यसको ठिक उल्टो काम गर्छौं। अर्थात् हामी कहिल्यै मर्दैनौं, जुगौं जुग पुग्ने सम्पत्ति कमाउनुपर्छ भन्ने सोचेर काम गर्छौं। सित्तैमा पायौं भने जे पनि खाइदिने प्रवृत्ति हामीमा छ। यही प्रवृत्तिको नेतृत्व भएपछि पल्लो कुनामा अनि पुछारमा विभेद सहेर बसेका क्रान्तिकारीहरूले विद्रोह गर्छन्। यस्तो विद्रोहले बढार्ने भनेको त्यही विलासी अनि अदूरदर्शी नेतृत्वलाई नै हो।

विद्रोहको जगमा जन्मिएको परिवर्तन

जेनजी विद्रोहबाट अहिले आएको परिवर्तनलाई परिवेशगत रूपमा दुई तहबाट हेरिनुपर्छ– राजनीतिक परिवर्तन र चेतनागत परिवर्तन। अहिले राजनीतिक चेतनामा देखिने गरी नै परिवर्तन आएको छ। पहिला राजनीतिक आस्थाकै आधारमा समाज, परिवार विभाजित थियो। २०५० को दशकमा अधिकांश परिवारमा अघिल्लो पुस्ता प्रजातान्त्रिक पार्टीनिकट देखिन्थ्यो भने पछिल्लो पुस्ता कम्युनिस्ट धारमा हिँडेका देखिन्थ्यो।

वर्तमान विद्रोहसम्म आइपुग्दा २०५० को दशकका आधुनिक पुस्ता पछिल्लो विद्रोहसम्म पनि कम्युनिस्ट धारमै हिँडिरह्यो। त्यसले नेपालमा कम्युनिस्ट धेरै टुक्रामा विभाजित भए पनि समग्र कम्युनिस्ट कार्यकर्ताकै बाहुल्य देखिइरह्यो। यही जनगत बाहुल्य देखाएर लामो समय कम्युनिस्ट नेतृत्वले देश चलाइरह्यो।

२०४६ सालको राजनीतिक परिवर्तनपश्चात् पछिल्लो विद्रोहसम्म नै देशको राजनीति त्रिभुज आकारमा हिँडिरह्यो। देशलाई हाँक्ने त्रिभुजका तीन कोण नेकपा एमाले, नेकपा माओवादी र नेपाली कांग्रेस बनिरहे। त्रिभुज राजनीतिमा खतरनाक कुरा के हुँदो रहेछ भने दुई कोण मिल्दा एक कोण पल्लो कुनामा पुग्ने। दुई पार्टी मिल्ने, एक पार्टीलाई पाखा पुर्‍याउने। दुई पार्टी मिलेपछि बलियो तानाशाही प्रवृत्ति देखाइहाल्ने। तीनै पार्टीमा यही चरित्र देखिइरह्यो। जेनजी विद्रोहको सबैभन्दा ठुलो राजनीतिक परिवर्तन यही त्रिभुज राजनीतिक यात्रालाई भत्काउनु रह्यो।

अहिले राजनीतिको केन्द्र स्वीकार नगर्ने चेतनाको विकास भएको छ। अबका जनता अर्थात् नयाँ पुस्ता प्रजातन्त्र ल्याउने पार्टी नेपाली कांग्रेस हो, वृद्ध भत्ता दिने पार्टी नेकपा एमाले हो, १० वर्ष सशस्त्र द्वन्द्व गर्ने पार्टी नेकपा माओवादी हो भन्दै राजनीतिको पुरानो केन्द्र सधैं स्विकारिरहँदैन। यो पुस्ता त केन्द्र, संरचना, सत्य, सोच अनि शैली भत्काउन चाहन्छ।

परम्परागत शक्ति र सौन्दर्यका नियम अकाट्य छन् भन्ने कुरा उत्तरआधुनिकताको यात्रामा रहेको पुस्ताले स्विकार्दैन। यो पुस्ताले त यस्तो केन्द्र भत्काउन बागी व्यवहार देखाइरहन्छ। त्यसैले उत्तरआधुनिकताले एकरूपता र एकल विचारमाथि प्रश्नचिह्न उठाउँछ अनि तिनलाई अर्कै विकल्पले प्रतिस्थापन गर्ने मान्यता राख्छ। शाश्वत सत्यलाई अस्वीकार गर्नु यो युगको पहिचान हो। यही उत्तरआधुनिक चेतना बोकेर बाँच्ने पुस्ता हो जेनजी। यो पुस्तालाई हेर्ने परम्परागत दृष्टिकोण त्रुटिपूर्ण छ।

हाम्रो राजनीतिक, प्रशासनिक संयन्त्रमा देखिएको पहिलो विसङ्गति भनेकै युगगत कार्यशैलीमा तालमेल नहुनु हो। समाज, सामाजिक चेतना उत्तरआधुनिकतातर्फ अगाडि बढ्दैछ तर हाम्रो राजनीतिक, प्रशासनिक संयन्त्र अझै पनि माध्यमिककालीन शैलीमा छ।

आज पनि नागरिकतामा नाममा कुनै अक्षर बिग्रियो भने उक्त नाम मिलाउनका लागि धेरै दिन प्रशासन कार्यालयमा धाउनुपर्छ। विद्यार्थीको मार्कसिटमा केही गल्ती भयो भने उत्तरआधुनिक जेनजी माध्यमिककालीन प्रशासनिक संयन्त्रमा फस्न पुग्छ। काम, पढाइलगायत सिलसिलामा देशविदेश दौडनुपर्ने विद्यार्थी त्रिविको नतिजा कुर्दै आधा वर्षभन्दा बढी लरखरिनुपर्छ। जेनजी विद्रोह यस्तै प्रवृत्तिको प्रस्फुटन हो र उत्तरआधुनिक चेतनाको प्रकटीकरण समेत हो। अबको राजनीति, प्रशासन, कार्यपालिका, न्यायपालिका चुस्त, दुरुस्त र निष्पक्ष हुनुपर्छ भन्ने सन्देशको विद्रोहात्मक स्वरूप पनि हो।

अब पनि काम गर्न किन ढिलो गर्ने?

वर्तमान सरकार उत्तरआधुनिक चेतना भएको जेनजी विद्रोहपश्चात् निर्माण भएको हो। यस्तो परिवेशमा निर्माण भएको सरकारको चेतना परम्परागत हुनु हुँदैन।

वर्तमान सरकारलाई समयको मागअनुरूप भटाभट काम गर्न केले रोकेको छ? सरकार सञ्चालनमा कुनै अदृश्य शक्ति त छैन? जनचाहनाअनुरूप काम गर्न ढिलाइ भयो भने यी प्रश्न जनस्तरबाटै उठ्छन्। छिटफुट रूपमा यस्ता प्रश्न उठ्न पनि थालिसकेका छन्। जटिल निर्णय गर्न प्रक्रियागत समय लाग्ला तर तत्कालै  गर्न सकिने निर्णयगत काम कति छन् कति। त्यस्ता निर्णयसमेत यो सरकारले गर्न किन ढिलाइ गर्दैछ?

राजनीति सेवा हो, पेसा होइन। त्यसैले पदमुक्त भइसकेका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायतलाई दिइने हरेक सेवासुधिवा खारेज गर्न किन ढिलाइ गर्नुपर्‍यो? आँट गरेर यति काम गरिदिऔं त, यो सरकारप्रति जनभरोसाको थालनी यहींबाट तत्कालै भइहाल्छ। अब देशलाई नयाँ शिराबाट पुनःसंरचना गर्नुपर्छ। त्यसैले चुनावअघि नै राजनीतिक दलसम्बन्धी यथार्थ तथा कठोर निर्णय लिन जरुरी छ।

चुनावमा सहभागी हुने दलको नियतगत प्रवृत्ति कस्तो हुने भन्ने सुनिश्चित गरिनुपर्छ। ती दलका धेरै भातृ निकाय, दल निकट संघसंस्थाहरू खारेज गर्नुपर्ने आवश्यकता छ। विद्यार्थी, कर्मचारीहरूलाई आफ्नो काम छोडेर राजनीति गर्ने छुट दिइरहने हो भने कसरी निःस्वार्थ भएर देशमा काम हुन्छ? त्यसैले यस्ता राजनीतिक भातृसंघसंस्था खारेज तत्काल गर्नुपर्छ।

भ्रष्टाचारप्रति शून्य सहनशीलताको कठोर नियम तत्कालै कार्यान्वयनमा लानुपर्छ। जतिसुकै भ्रष्टाचार गरून्, ती सबै देशद्रोही हुन्। त्यस्तालाई कारबाही गर्न भोलि भन्नु हुँदैन। दुईपटक भन्दा बढी सांसद्, मन्त्री, प्रधानमन्त्री, राजदूत वा कुनै पनि संवैधानिक निकायमा नियुक्ति हुन नपाउने व्यवस्था स्थापित गर्न तथा मन्त्री, प्रधानमन्त्रीको उमेर/योग्यता निर्धारण गर्न एक हप्ताभन्दा ढिलो गर्नु नै हुँदैन।

सुशासनका लागि यस्ता काम गर्न यो सरकारले जति ढिलो गर्छ, सरकारको लोकप्रियता त्यति नै घट्दै जान्छ। किनभने यो सरकारले राज्य पुनः संरचना र सुशासन कायम गर्ने नीतिगत निर्णय गर्छ भन्ने ठुलो जनअपेक्षा छ। यस्ता नीतिगत सुधार गर्नका लागि सरकारले दिनरात नभनी काम गर्नुपर्छ। संघीयता खारेजी, कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचन लगायतका कतिपय निर्णयका लागि अलिक लामो प्रक्रिया हुन सक्छ। त्यसका लागि पनि वातावरण बनाएर अगाडि बढ्नुको विकल्प सरकारसँग छैन।

यो सरकार चुनाव गराउन मात्र बनेको सरकार होइन। अध्यादेशमार्फत गर्न मिल्ने सुशासन र राज्य पुनःसंरचनाका काम यही ६ महिनामै सरकारले गरोस् भन्ने जनअपेक्षा हो। समय छोटो छ। त्यसैले यो सरकारसँग दिउँसोमात्र काम गर्छु, निद्रा पुर्‍याएर काम गर्छु, परिवार तथा साथीसँगीसँग मनोरञ्जन गर्छु, धर्मकर्म गर्न केही दिन लगाएर तीर्थ जान्छु भन्ने छुट छैन।

यो सरकारले राष्ट्रसेवा सबैभन्दा ठुलो धर्म हो भन्ने मन्त्रलाई मार्गदर्शन बनाउनुपर्छ। नेलसन मन्डेलाले भनेझैं एउटा ठुलो पहाड चढेपछि बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाड बाँकी छन्। सरकारले अहिले चढेको मात्र एउटा पहाड हो। थुप्रै पहाड चढ्ने चुनौती यो सरकारसँग विद्यमान छन्।

यो सरकारले तैंले मेरो आँखा फोडिस्, म पनि तेरो आँखा फोड्छु भनेर आँखाको बदला आँखा गर्नु हुँदैन। यसरी प्रतिशोधको मार्गमा हिँडेर विपक्षीको आँखा फोड्न थाल्यो भने सरकारसमेत दृष्टिविहीन बन्ने छ। त्यसैले संयम भएर देशमा उज्यालो क्रान्ति ल्याउनुपर्छ। आजको समग्र अपेक्षा यही हो। 

प्रकाशित: ११ आश्विन २०८२ ०८:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App