सिर्जना अभियान समाज भक्तपुरले लघुकथाकार महेन्द्र नेउपानेको दोस्रो लघुकथासङ्ग्रह ‘चुनावी सेरोफेरो’ लाेकार्पण गरेकाे छ।
कार्यक्रमका सभाध्यक्ष ध्रुव मधिकर्मी, प्रमुख अतिथि डा. पुष्करराज भट्ट, विशिष्ट अतिथिद्वय डा. हरिप्रसाद भण्डारी र लता केसी र लघुकथाकार नेउपानेले लघुकथा गान बजाउँदै कृतिको सामूहिक लाेकार्पण गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि भट्टले वर्तमान समयमा देखापरेका लघुकथाको प्रवत्तिबारे चर्चा गर्दै हिजोआज एकल विषयमा लघुकथाकृति लेखिने प्रचलन बढेको बताए। साथै यस्ता कृतिले वर्तमान समयको अभिव्यक्ति प्रवाह गर्ने विश्वास व्यक्त गरे।
कृतिको विशिष्ट अतिथि डा. भण्डारीले कृतिकारलाई शुभकामना दिँदै लाेकार्पित कृतिमाथि संक्षिप्त समीक्षा गरेका थिए। चुनावी सेरोफेरो लघुकथाकृतिको नाम सार्थक रहेको , निर्वाचन २०८२ को दौरानमा घटेका यावत् घटना र विषयलाई कृतिकारले संक्षिप्तरुपमा रोचक र मिठासपूर्णरूपमा लघुकथाहरू उनेको, लघुकथाका शीर्षकहरू सन्दर्भिक रहेको, आवश्यक पात्रहरूको सिर्जना गरिएको बताए।
कृतिमा समेटिएका लघुकथाहरूमा लघुकथाका नवीतम् मान्यतामा आधारित रहेर व्यङ्यभाव, प्रतीक, स्वैरकल्पना र संवादको प्रयोग, मीठो र सरल भाषा,राम्रो परिवेशमा लघुकथाहरू बुनिएको भाव व्यक्त गरे।
कार्यक्रममा विशिष्ट अतिथि के.सीले कृतिकारको लेखनकला र शैलीलाई नजिकबाट हेरिरहेको बताउँदै छोटो समयमा दुई कृति प्रकाशन गर्नु महत्त्वपूर्ण कार्य भएकाेमा बधाइ दिएकी थिइन्।
कृतिकारले कृतिको गर्भ र पृष्ठभूमिबारे औँल्याए। चुनाव घोषणा भएदेखि मतदानको दिनसम्म ५५ दिनमा लेखिएका ५९ लघुकथा भविष्यका लागि दस्तावेज बनून् भन्ने अभिप्रायले कृति प्रकाशन गरेको बताए।
सो कार्यक्रममा लाेकार्पित कृतिबाट शान्ता तिम्सिनाले मातृभूमि र प्रार्थना खनालले वेदना लघुकथा वाचन गरेका थिए।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष मधिकर्मीले कृतिभित्र समेटिएका लघुकथाहरू चुनावी माहौलसँग मात्र नजोडिएर आज र भोलिको समय पनि जोडेको विश्वास व्यक्त गरे। आयोजकका तर्फबाट सभाध्यक्षले कृतिकारलाई शुभकामना र बधाइपत्रले सम्मान गरेका थिए।
आयोजक संस्थाका सदस्य लक्ष्मी वैद्यले सञ्चालन गरेकाे छोटोमीठो सो कार्यक्रममा कृतिकारका आफन्तजन, साहित्यकार र लघुकथाप्रेमीहरूको उल्लासमय उपस्थिति रहेको थियो।
प्रकाशित: २२ चैत्र २०८२ ०६:३२ आइतबार





