३ आश्विन २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

‘संघर्षले बुनेका साझा सपना’ लाेकार्पण

नेपालका सामाजिक आन्दोलनमा योगदान पुर्‍याएका १३ महिला नेतृका जीवन, संघर्ष र योगदान समेटिएको अनुसन्धानमूलक पुस्तक संघर्षले बुनेका साझा सपना लाेकार्पण भएको छ।

पुस्तकमा विभेदविरुद्ध आवाज उठाएका, समुदायलाई संगठित गरेका तथा अधिकार, सम्मान र सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाका व्यक्तिगत यात्रामार्फत नेपालका विभिन्न सामाजिक आन्दोलनको इतिहास र त्यसमा महिलाको भूमिकालाई अभिलेख गरिएको छ।

पुस्तकमा बादी समुदायको अधिकारका लागि भूमि, अधिकार र सम्मानको संघर्ष गरेकी उमादेवी बादीको कथा समेटिएको छ। त्यस्तै, एसिड आक्रमणबाट बाँचेर न्याय, सम्मान र सामाजिक परिवर्तनका लागि निरन्तर संघर्ष गरिरहेकी मुस्कान खातुनको संघर्षलाई पनि पुस्तकले समेटेको छ।

पुस्तकमा विस्तारै सार्वजनिक स्मृतिबाट हराउँदै गएको सिनो बहिष्कार आन्दोलनका कथाहरू पनि समावेश छन्। उक्त आन्दोलनमा सक्रिय महरीदेवी, भोला देवी र चन्देश्वरी सदाका अनुभवमार्फत जातीय विभेदविरुद्ध महिलाले गरेको संघर्ष, साहस र संगठनको इतिहासलाई प्रस्तुत गरिएको छ।

पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिलाका संघर्ष र आन्दोलनलाई लेखन तथा अभिलेखीकरणमार्फत सार्वजनिक स्मृतिमा स्थापित गर्नु आफैंमा महत्वपूर्ण उपलब्धि भएको बताइन्।

“यो पुस्तकको विमोचन महिला अधिकार आन्दोलनका लागि अर्को एउटा कोशेढुंगा हो। यी कथाहरू अहिले यसरी लिपिबद्ध भएको देख्दा निकै राम्रो लागेको छ,” डंगोलले भनिन्, “हामीले सम्झनुपर्छ, नलेखेसम्म त्यो लेखिँदैन। महिलाका संघर्ष र आवाजमाथि पटक–पटक प्रश्न उठाइने समाजमा आफ्नै कथा र आख्यान स्थापित गर्ने एउटा बलियो माध्यम यस्ता लेखन र दस्तावेजीकरण हुन्।”

पुस्तकले आज सामान्यजस्तै लाग्ने कतिपय अधिकार र सामाजिक परिवर्तन लामो संघर्षको परिणाम भएको देखाउन खोजेको छ।

विभेद, बहिष्करण र हिंसाका बीच पनि संगठित हुँदै प्रतिरोध गरेका महिलाका संघर्षले नेपाली समाजको वर्तमान स्वरूप निर्माणमा भूमिका खेलेको पुस्तकमा उल्लेख छ।

पुस्तक सार्वजनिकपछि “महिला नेतृत्व र सामाजिक आन्दोलनहरू: चिन्तन र अभ्यास” शीर्षकमा प्यानल छलफल गरिएको थियो। छलफलमा नेपालमा महिला नेतृत्वमा भएका सामाजिक आन्दोलनका अनुभव, त्यसबाट प्राप्त सिकाइ र ती आन्दोलनको वर्तमान सान्दर्भिकताबारे चर्चा भएको थियो।

महिला, शान्ति तथा सुरक्षा विज्ञ हेमलता राईले सहजीकरण गरेको छलफलमा अपाङ्गता अधिकार अभियन्ता मुना शाक्य, संघीय संसद् सदस्य पार्वती वि.क., लेखक, अनुसन्धानकर्ता तथा डिजिटल अधिकार अभियन्ता रिता बरामु र त्रिभुवन विश्वविद्यालयको लैङ्गिक अध्ययन केन्द्रीय विभागकी प्रमुख जमुना सिवाकोटी सहभागी थिए।

छलफलमा पुस्तकमा समेटिएका व्यक्तिगत संघर्षका कथालाई महिलाको नेतृत्व, सामाजिक न्याय, प्रतिनिधित्व, सम्मान र सामूहिक अभियानका बृहत्तर सवालसँग जोडेर हेरिएको थियो। विगतका सामाजिक आन्दोलनका अनुभवबाट वर्तमानमा समानता र समावेशिताका लागि भइरहेका संघर्षले के सिक्न सक्छन् भन्ने विषयमा पनि छलफल भएको थियो।

संघर्षले बुनेका साझा सपनाले महिलाका संघर्ष र सामाजिक आन्दोलनका यस्ता कथालाई अभिलेखमार्फत सार्वजनिक स्मृतिमा सुरक्षित राख्ने प्रयास गरेको छ। भ्वाइसेस् अफ वुमन मीडियाद्वारा प्रकाशित यस पुस्तकले इतिहासमा योगदान गरेका तर क्रमशः ओझेलमा पर्दै गएका महिलाका नाम, अनुभव र आवाजलाई सामाजिक आन्दोलनको व्यापक इतिहासभित्र स्थापित गर्ने प्रयास गरेको छ।

प्रकाशित: ३ आश्विन २०८३ १२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App