२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

चर्चामा ‘वरिष्ठ बलराम’

आउँदाे कात्तिक ६ गते भाइटीकाको अवसर पारेर रिलिज हुन लागेको चलचित्र ‘वरिष्ठ बलराम’ यतिबेला चर्चाको शिखरमा छ। चलचित्रको सार्वजनिक गीत ‘न्यौली बनैमा’ र ट्रेलरले दर्शकहरूको मन जित्न सफल भएका छन्।

‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ ले सामाजिक सञ्जाल र टिकटकमा व्यापक लोकप्रियता बटुलिरहेको छ। सार्वजनिक भएको दुई हप्तामै यस गीतले युट्युबमा ५२ लाख ९६ हजारभन्दा धेरै भ्यूज प्राप्त गरिसकेको छ।

प्रशान्त शिवाकोटीको शब्दरचना र संगीत रहेको उक्त गीतलाई प्रशान्त र शान्तीश्री परियारको सुमधुर स्वरले जीवन्तता प्रदान गरेकाे छ।

गीतमा एक आपसमा मन पराउने जोडीको भूमिकामा विजय बराल र समृद्धि अर्याल छन्। गीतमा शंकाका बीच सँगै जीवन बिताउने सहमति गर्छन्।

विशेषगरी विजयको अभिनय कौशल र नृत्यले दर्शकबाट निकै प्रशंसा पाएको छ, जसले चलचित्रको समग्र पब्लिसिटीमा ठूलो सहयोग पुर्‍याएको छ। धेरै दर्शकले गीत र नृत्यको प्रशंसा गर्दै चलचित्रको सफलताको कामना गरेका छन्।

गीतको सफलतासँगै चलचित्रको ट्रेलरले पनि दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ। दर्शकले केही दिनअघि सार्वजनिक भएको ट्रेलर पनि रुचाएका छन्। ट्रेलरले १३ लाख ९६ हजारभन्दा माथि भ्यूज पाएको छ।

दर्शकले चलचित्रको ट्रेलरमा दयाहाङ राई र विजय बरालको टकराब मन पराएको पाइएको छ।

दयाहाङको फरक गेटअपसँगै दयाहाङ र विजयको अभिनयको युट्युबमा ट्रेलर हेर्ने दर्शकले तारिफ गर्दै छन्। एकले अर्काको अस्तित्व स्वीकार्न नसकेर आफ्नो आधिपत्य खडा गर्न खोज्दा दयाहाङ र विजयबीच देखिएको टकराब रुचाएको पाइएको छ।

गीत र ट्रेलरले बटुलेको लोकप्रियता हेर्दा ‘वरिष्ठ बलराम’ ले बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। सुरेन्द्र पौडेलले ‘वरिष्ठ बलराम’ लाई निर्देशन गरेका हुन्।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पीके) लगायतको अभिनय छ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन्।

आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे हुन्। लाइन प्रोडुसरमा राम विष्ट छन्।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन छ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ।

प्रकाशित: २९ आश्विन २०८२ १३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App