चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मका लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्। उनी चलचित्र 'बुलबुल' र 'भूठान' का निर्माता हुन्।
नेपाली चलचित्र 'बुलबुल' मार्फत अहिलेकी चर्चित नायिका स्वस्तिमा खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाउँदै चलचित्र उद्योगमा स्थापित भएकी थिइन् भने हालै 'भूठान'मार्फत वरिष्ठ कलाकार हरिवंश आचार्यले पनि समीक्षक समाजले दिने उत्कृष्ट अभिनेता अवार्ड जितेको थिए।
थापाले सार्वजनिक गरेको पोष्टमा बन्न लागेको रोमान्टिक चलचित्रका लागि नयाँ नायिका चाहिएको र सोको लागि फर्म भर्न आह्वान गरेका छन्।
फर्म भर्न पोष्टमा क्यूआर दिइएको छ सोमार्फत सोझै फर्म वा वेवसाइटमा पुग्न सकिन्छ। सो फर्मको भर्न इच्छुकले थरीथरी साइजका फोटोहरू र आफ्नो कामको १ मिनेटको छोटो भिडियो र बायोडाटा अपलोड गर्नुपर्ने हुन्छ। २२ देखि २७ वर्षकी नायिका हुनपर्ने पनि उनले खुलाएका छन्।
उनको नयाँ चलचित्रको निर्देशक रामराजा दाहाल हुनेछन्। रामराजा दाहाल हाल अस्कर इन्टरनेशनल कलेज अफ फिल्म स्टडिजका प्रिन्सिपल छन्।
उनले विगतमा वशमा छैन मेरो मन, कसम हजुरको, गुरु दक्षिणा, नेपथ्य लगायतका चलचित्रको निर्देशन गरेका थिए। उनी १२ वर्षपछि निर्देशनमा फर्कन लागेका हुन्।
निर्माता थापाले अब बन्न लागेको प्रेमकथा अहिलेसम्म नेपाली चलचित्रमा कहिल्यै नदेखिएको र यसले दर्शकहरूलाई मन्त्रमुग्ध बनाउँदै विगतको सम्झनामा पुर्याउने बताए। अब खोजेको नायिकामा पनि दमदार अभिनय क्षमता हुनपर्ने र हेदैमा स्टार भाइव्स आउने लुक्स हुनपर्ने उनले बताए।
उनका अनुसार जुलाई १६ अर्थात् २०८३लअसार मसान्तसम्म फर्म भरिसक्नपर्ने र छानिएकाहरूको साउनभित्र अडिसन हुनेछ र वर्कशपमा राखिनेछ। दशैंलगत्तै चलचित्रको छायांकन गर्ने लक्ष्य राखिएको छ।
उनी आत्मविश्वासका साथ भन्छन्, ‘यसमा जो छानिन्छ ऊ भविष्यको सुपरस्टार नायिका बन्नेछिन्।’
प्रकाशित: १४ असार २०८३ १२:५० आइतबार





