६ मंसिर २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

समयले जिते ‘कमेडियन अफ द इयर’ अवार्ड

भारतका चर्चित हास्य कलाकार (कमेडियन) समय रैनाले दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म महोत्सव अवार्ड २०२६ मा ‘कमेडियन अफ द इयर’ अवार्ड जितेका छन्।

शुक्रबार मुम्बईमा सार्वजनिक गरिएको विजेताको सूचीमा रैनालाई भारतीय स्ट्यान्डअप कमेडी र डिजिटल क्षेत्रमा पुर्‍याएको योगदानका लागि सम्मान गरिएको हो।

दैनिक जीवनका घटनालाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गर्ने उनी दर्शकसँगको प्रत्यक्ष संवाद र फरक प्रस्तुतिका कारण लोकप्रिय छन्।

स्ट्यान्डअप कमेडीबाट करिअर सुरु गरेका रैना ‘कमिक्सस्तान’को दोस्रो सिजनका संयुक्त विजेता हुन्। उनले सञ्चालन गरेको डिजिटल हास्य कार्यक्रम ‘इन्डियाज गट लेटेन्ट’ले पनि उनलाई थप चर्चित बनाएको थियो। यसबाहेक उनको एकल प्रस्तुति ‘स्टिल अलाइभ’ पनि चर्चित छ।

यस वर्षको दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म महोत्सव अवार्डमा फिल्म ‘धुरन्धर’ले सबैभन्दा धेरै ६ विधामा अवार्ड जितेको छ। फिल्मका अभिनेता रणवीर सिंह उत्कृष्ट अभिनेता घोषित भएका छन् भने निर्देशक आदित्य धरले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन्। फिल्मले उत्कृष्ट चलचित्र, उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक, उत्कृष्ट निर्माता, संगीत निर्देशक र नकारात्मक भूमिकालगायतका विधामा अवार्ड जितेको छ।

त्यस्तै, ‘सैयारा’बाट अनित पड्डाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्। ‘कान्तारा : च्याप्टर १’ले समीक्षकको रोजाइमा उत्कृष्ट फिल्मको अवार्ड पाएको छ भने यसै फिल्मबाट ऋषभ शेट्टी उत्कृष्ट अभिनेता घोषित भएका छन्।

‘हक’बाट यामी गौतम धरले समीक्षकको रोजाइमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्। संगीततर्फ करण औजला वर्षका उत्कृष्ट कलाकार घोषित भएका छन्। इलैयाराजाले संगीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै विशेष सम्मान पाएका छन् भने कमल हासनले फिल्म क्षेत्रमा योगदान पुर्‍याएकोमा सम्मान प्राप्त गरेका छन्।

अन्तर्राष्ट्रिय विधातर्फ टेलर स्विफ्ट वर्षकी अन्तर्राष्ट्रिय कलाकार घोषित भएकी छन्। जेम्स क्यामरुनले विश्व सिनेमामा योगदान पुर्‍याएको भन्दै सम्मान पाएका छन्।

‘अवतार : फायर एन्ड ऐश’ उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म बनेको छ भने ‘सिनर्स’बाट माइकल बी जोर्डन र ‘ह्याम्नेट’बाट जेसी बक्लीले क्रमशः उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड जितेका छन्। त्यस्तै, पल थोमस एन्डरसन उत्कृष्ट अन्तर्राष्ट्रिय निर्देशक घोषित भएका छन्।

दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म महोत्सव सन् २०१२ मा स्थापना भएको र सन् २०१६ मा औपचारिक रूपमा अघि बढाइएको संस्था हो। यसले भारतीय फिल्म, टेलिभिजन तथा अन्तर्राष्ट्रिय मनोरञ्जन क्षेत्रमा योगदान पुर्‍याउने कलाकार र सिर्जनाकर्मीलाई सम्मान गर्दै आएको छ।

यसको नाम भारतीय सिनेमाका पिता मानिने धुन्डिराज गोविन्द फाल्केको नामबाट राखिएको हो। महोत्सवले फिल्म, वेब सिरिज, टेलिभिजन, संगीत र मनोरञ्जनका विभिन्न विधामा अवार्ड प्रदान गर्छ।

यद्यपि, दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म महोत्सवले प्रदान गर्ने यो अवार्ड भारत सरकारले दिने आधिकारिक दादासाहेब फाल्के पुरस्कारभन्दा फरक हो। यो महोत्सवले आयोजना गर्ने छुट्टै अवार्ड कार्यक्रम हो।

प्रकाशित: ५ मंसिर २०८३ १५:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App