बलिउड चलचित्र इतिहासकी बहुप्रसिद्ध अभिनेत्री मधुबालाको जीवनीमा आधारित बायोपिक फिल्मको कास्टिङबारे पुनः चर्चा चुलीएको छ। फिल्ममा मधुबालाको र्शीष पात्र कसले निभाउने भन्ने विषयमा विभिन्न अभिनेत्रीहरूको नाम अगाडी हुँदै आएका छन्।
यसअघि उक्त भूमिकाका लागि कियारा अडवानीलाई चयन गरिएको भन्ने खबर सार्वजनिक भएको थियो। तर पछि त्यो समाचार गलत भएको स्पष्ट भएको छ। त्यसपछि ‘सैयारा’बाट चर्चामा आएकी अनीत पड्डाको नाम पनि मधुबालाको भूमिकासँग जोडिएको थियो, तर केही भारती मिडियाले यसको पनि खण्डन गरेका छन्। अब यी दुई अभिनेत्री मधुबालाको भूमिकामा देखिने छैनन्।
दक्षिण भारतीय चर्चित अभिनेत्री साई पल्लवीलाई फिल्मको मुख्य भूमिकाका लागि विचार गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उनी फिल्म निर्माता संजय लीला भंसालीको प्रारम्भिक रोजाइमध्ये एक हुन्। यद्यपि, कास्टिङबारे फिल्म निर्माण टोलीले अझैसम्म आधिकारिक घोषणा गरेको छैन।
निर्माण टोली मधुबालाको सौन्दर्य र अभिनय दुवैलाई पर्दामा प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने कलाकारको खोजीमा रहेको बताइएको छ। यही कारणले कास्टिङ प्रक्रियामा निकै सावधानी अपनाइएको र विभिन्न नामहरूबारे छलफल भइरहेको बताइएको छ।
मधुबाला भारतीय सिनेमाकी सबैभन्दा चर्चित र लोकप्रिय अभिनेत्रीमध्ये एक हुन्। उनका चलचित्रहरू र व्यक्तिगत जीवन दुवै लामो समयसम्म चर्चामा रहेकाले उनको जीवनमा आधारित बायोपिकप्रति दर्शकहरूमा पनि ठूलो उत्सुकता देखिएको छ।
प्रकाशित: ३० फाल्गुन २०८२ १६:५९ शनिबार





