युगल पोमोको लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली कथानक सिनेमा ‘जोर ढुंगा’ हङकङमा प्रदर्शन हुने भएको छ। यो सिनेमाको हङकङमा ग्राण्ड प्रिमियर गर्नु अगाडि गत शनिबार ३० मेमा एक कार्यक्रमको आजोजना गर्दै फर्स्टलुक पोस्टर रिलिज गरिएको थियो।
यो कार्यक्रममा सिनेमा ‘जोर ढुंगा’ आगामी ३० अगष्ट २०२६ आइतवार हंङकङको हुङहम वाम्पोको सानविम सिनेमा हलमा ग्राण्ड प्रिमियर हुने जानकारी दिइएको थियो। ताप्लेजुङको निगुरादेन आसपासका रमणीय लोकेशनमा छायांकन गरिएको ‘जोरढुंगा’ अंग्रेजी सबटाईटल र स्थानीय संवादसहित लिम्बू पृष्ठभूमिमा निर्माण गरिएको हो।
वाई के फिल्मस्को ब्यानरमा जेनेक्स मिडिया र साहसी डिजिटलको सहकार्य रहेको सिनेमामा हङकङका रमेश लिम्बु, रोमन लावती र योगेश लामा निर्माता तथा अमेरिका निवासीका ह्यारी योञ्जन कार्यकरी निर्माता हुन्।
सिनेमामा प्रतीक थेबे लिम्बु, मौसम ईम्बुङ (फुलेन्देको बाउ), पुष्पाञ्जली तिल्लिङ, योगेश लामा, हार्दिक पौडेल, सिदार्थ लिम्बु, विष्णु राई, मदनकुमारी पोमु लिम्बूको मुख्य भुमिका छ। सुरेन्द्र रानाको गीत र संवाद लेखन रहेको सिनेमाको निर्माण नियन्त्रक अनिल थोप्रा हुन्।
अनिलकुमार महर्जनले सम्पादन गरेको सिनेमालाई मोहनकुमार झिल्लुले खिचेका हुन्। सिनेमामा दिनेश माङमुको प्रोडक्सन डिजाइन, निश्चल कुलुङको कला निर्देशन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, जानु आलेको मेकअप र महेश्वर सम्बाहाङफेको मुख्य सहायक निर्देशन छ।
प्रकाशित: २४ जेष्ठ २०८३ ०८:३४ आइतबार





