१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

इलामका सेवन्त आचार्यले जिते ‘खाइराइड हास्यव्यङ्ग्य’ प्रथम पुरस्कार

‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार २०८३’ को नतिजा सार्वजनिक भएको छ।

नेपाली हास्यव्यङ्ग्य साहित्यको प्रवर्द्धन तथा विकासका लागि विद्यालय तहका विद्यार्थीहरूबिच ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार २०८३’ काे आयोजना गरिएको हाे।

भ्यान्कुभर, क्यानाडा निवासी हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीले २०८२ सालदेखि पुरस्कार स्थापना गरेकाे हाे।

'बाङ्गा अक्षर' ले विश्वभरका १२ कक्षासम्म अध्ययनरत नेपालीभाषी विद्यार्थीहरूबाट २०८३ असोज १४ गतेभित्र निबन्ध आह्वान गरेको थियो।

प्राप्त निबन्धहरूको मूल्याङ्कनमा अमर माध्यमिक विद्यालय, इलाम - कक्षा १२ का सेवन्त आचार्य प्रथम, डियरवाक सिफल स्कुल, काठमाडौँ - कक्षा १० का सुविज्ञराज खरेल द्वितीय, श्री कान्ति भैरव गुरुकुल, काठमाडौँ - कक्षा १२ पुष्प खरेल र काभ्रे इङ्गलिश माध्यमिक विद्यालय, काभ्रे - कक्षा १२ का स्वीकृति तामाङ तृतीय भएका छन्।

काठमाडौँमा आयोजना गरिने एक विशेष समारोहबिच 'बाङ्गा अक्षर' का तर्फबाट विजेताहरूलाई सम्मान-पत्रका साथै नगद पुरस्कार प्रदान गरिने भएकाे छ।

प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुने दुवै जनालाई जनही ५-५ हजार रुपैयाँका दरले पुरस्कार अर्पिने भएकाे छ।

हास्यव्यङ्ग्यकार तथा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे, कवि तथा साहित्यकार डा. ऋषि बस्ताकोटी र हास्यव्यङ्ग्यकार सुमी लोहनी रहेकाे तीन सदस्यीय मूल्याङ्कनका लागि विशेषज्ञ टोली गठन गरिएको थियो।

निबन्धको मूल्याङ्कन गर्दा हास्य र व्यङ्ग्यको प्रभावकारिता, विषयवस्तु र सान्दर्भिकता, मौलिकता र सृजनशील प्रस्तुति, भाषा र शैली, एवं संरचना र तादात्म्यलाई मुख्य आधार बनाइएको जनाइएको छ।

संस्थाका अध्यक्ष नारायण भट्टराईले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीलाई धन्यवाद दिँदै  सिर्जनात्मक लेखनमा निरन्तर लाग्न अनुराेध गरेकाे छ।  

प्रकाशित: १५ कार्तिक २०८३ ११:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App