गीतकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार-२०८३’ प्रदान गरिने भएको छ।
टीका गोपाल प्रतिष्ठानका अध्यक्ष गीता सिंहको अध्यक्षतामा काठमाडौंमा बसेको बैठकले दाहाललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
प्रतिष्ठानका सल्लाहकार सन्तोष श्रेष्ठसहित पदाधिकारीहरूको उपस्थितिमा भएको बैठकले यही साता काठमाडौंमा विशेष समारोह आयोजना गरी दाहाललाई सम्मान गर्ने जनाएको छ।
यसअघि उक्त पुरस्कार कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ तथा कीर्तिमानी गीतकार डा.उपाध्यायलाई प्रदान गरिएको थियो। नेपाली गीतसंगीत क्षेत्रको प्रवर्द्धन तथा स्रष्टाहरूलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले गायक तथा संगीतकार कन्हैया सिंहले आफ्ना मातापिताको नाममा उक्त पुरस्कार स्थापना गरेका हुन्।
साहित्य, संस्कृति, दर्शन र मानवीय संवेदनाका विविध पक्ष सिर्जनामार्फत अभिव्यक्त गर्दै नेपाली वाङ्मयको समृद्धिमा पुर्याएको योगदानको कदरस्वरूप दाहाललाई सम्मान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ।
शब्दलाई साधना, सिर्जनालाई जीवनदर्शन र साहित्यलाई समाजको ऐनाका रूपमा आत्मसात् गर्दै आएका दाहाल नेपाली साहित्यका बहुआयामिक स्रष्टाका रूपमा परिचित छन्।
दाहालका सिर्जनामा जीवनका अनुभूतिसँगै समाजका आरोहअवरोह, सांस्कृतिक चेतना, दार्शनिक प्रश्न र मानवीय संवेदनाका विविध आयाम समेटिएका छन्।
उनका ‘श्रद्धाञ्जलि’ कवितासंग्रह, ‘रश्मी’ खण्डकाव्य, ‘योद्धा’ काव्य, ‘हावर्डको चौतारीमा’ कवितासंग्रह, ‘श्वेतपत्र’ महाकाव्य, ‘म त बन्दी भएको छु’ कवितासंग्रह, ‘यात्राको सिँढी’ नियात्रा, ‘अहोरात्र’ उपन्यास तथा ‘सिर्जनामा दृष्टि’ भूमिकालेखनसंग्रह प्रकाशित छन्।
उनको साहित्यिक व्यक्तित्व र सिर्जनामाथि पनि विभिन्न अध्ययन तथा समालोचनात्मक कृति प्रकाशित भएका छन्। ‘नव छायावादको छवि’, ‘खेमनाथ दाहाल : सिर्जना र मूल्यांकन’ तथा ‘समालोचना वृत्तमा खेमनाथ दाहाल’ लगायतका कृतिले उनको साहित्यिक योगदानलाई विभिन्न कोणबाट विश्लेषण गरेका छन्।
साहित्यमा मात्र सीमित नरहेको दाहालको सिर्जनात्मक यात्रा संगीत क्षेत्रमा समेत विस्तारित छ। उनका काव्यिक भाव र चेतनालाई संगीतसँग जोडेर तयार पारिएको गीति एल्बम ‘जागृति’ श्रोता तथा दर्शकमाझ आएको छ। ‘श्वेतपत्र’ महाकाव्य र ‘योद्धा’ काव्यबाट साभार गरिएका गीत समेटिएको उक्त एल्बममा ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’, ‘बित्छ बिहान आमाको’, ‘फुल्छ बागमा फूल’ र ‘गाउँछौ अब लौ आमाका गीत’ लगायतका गीत समावेश छन्।
एल्बमका ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’ र ‘फुल्छ बागमा फूल’ गीतमा कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठको स्वर रहेको छ। त्यसैगरी ‘बित्छ बिहान आमाको’मा ज्ञानु राणा र ‘गाउँछौ अब लौ आमाका गीत’मा रमेश पाठकले स्वर दिएका छन्।
साहित्य र संगीतलाई सिर्जनात्मक रूपमा जोड्दै नेपाली वाङ्मयमा योगदान पुर्याउँदै आएका दाहाललाई प्रदान गर्न लागिएको यस सम्मानले नेपाली साहित्य तथा गीतसंगीत क्षेत्रका स्रष्टाको योगदानको कदर गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १५ कार्तिक २०८३ ११:४२ आइतबार



-600x400.jpg)

