१७ वैशाख २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

सम्झना

लघुकथा

आमा, तिमीलाई म कहाँ भेटौं? तिम्रो अनुहार हेर्न असाध्य मन लागेकाे छ! मेरी आमालाई भेटेर काखमा लडिबुडी गर्न मन छ। लाडिँदै घुर्की लगाउन मन छ। यति धेरै मान्छेका  हुलमा मेरी आमा जस्तै अनुहार भएको एउटा मान्छे भए पनि देखे हुन्थ्यो नि। म कुदेर अँगालो मार्थे हाेला।

बरण्डामा बसेर बाटोतिर हेर्दै मैले दिनभर यस्तैयस्तै मनमनै सोचिरहेँथे। आमालाई सम्झेर जूनतिर हेर्दै बिन्ती गर्दै थिएँ म, "प्रिय जून, मेरी आमालाई सपनीमै भए पनि सधैं देखाऊ न?"

अचानक न्यानाे स्पर्शले मलाई बेर्‍याे। त्याे न्यानोपन आमाबाहेक कसैकाे हुनै सक्दैनथ्याे। आमाले मलाई अँगालोमा बेरिन्। मलाई विश्वास लागिरहेकाे थिएन। खुशीकाे सीमा थिएन।

"आमा, अब मलाई छोडेर कतै नजानु है!" मेरी आमाले मलाई शीरदेखि पैतालासम्म माया गर्दै भन्नुभयाे, "किन यस्तरी दुब्लाई हँ मेरी छोरी?"

उहाँ बगैंचामा जानुभयाे र अम्बाको बिरुवामा पानी हाल्दै भन्नुभयाे, "तिमी जन्मिदा राेपेकी याे बिरुवामा फल पनि  लागेछ त।"

एकाएक बिउँझिएँ म। मैले पाएँ - हजुरआमाकाे छातीमा टाँसिएर सुतेकी रहेछु म।

"सपना देख्यौ कि क्या हाे, नानी। सुत। बिहानी भएकाे छैन", हजुरआमा बाेल्नुभयाे।

मलाई लाग्याे - यो सपना कस्ताे छुच्चो। आमालाई  देखाउँछ तर कति छिट्टै आमालाई आफूसँगै लिएर जान्छ? मैले सपनासँग कट्टी गरे।

फेरि झसङ्ग हुँदै उठेँ म। मलाई झट्ट सम्झना आयाे - मातातीर्थ औंसी आज। अम्बाको  बोटमा पानी हाल्दै आमाकाे चिनाे सम्झेर धेरैबेरसम्म सुम्सुम्याइरहेँ।

प्रकाशित: १६ वैशाख २०८३ १०:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App