७ चैत्र २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

कवि अर्यालको ‘अङ्कुर’ लाेकार्पण

कवि राधिका अर्याल (राधा) को कवितासङ्ग्रह ‘अङ्कुर’ लाेकार्पण भएकाे छ।

स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौं वर्षोत्सवको सन्दर्भसँगै स्वर्गीय त्रिभुवन अर्यालको ११औं वार्षिक पुण्यतिथिको अवसरमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान - २०७६, स्याङ्जाको संयोजन तथा प्रतिभा जागरण केन्द्र, वालिङ-१, त्रियासी, स्याङ्जाको आयोजनामा कृति लाेकार्पण र ‘त्रियासी साहित्य साँझ-२०८२’ सम्पन्न भएकाे हाे।

कविकी माता पार्वती अर्यालको अध्यक्षतामा भएको समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्व वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासी र विशिष्ट आमन्त्रित व्यक्तित्व मोहन रेग्मी, वालिङ नगरपालिकाका नगर उपप्रमुख कविता तिवारी र कविकी ममतामयी माता, समालाेचकद्वय दीपक लम्साल, विष्णु सुवेदी गैह्रे र कवि स्वयंले कृतिकाे लाेकार्पण गरेका थिए।

विष्णु सुवेदी गैह्रे र दीपक लम्सालले लाेकार्पित कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए।

बुवा त्रिभुवन अर्याल र आमा पार्वती अर्यालको कोखबाट काठमाडौंमा जन्मिएर स्याङ्जामा हुर्किबढेकी कवि अर्यालले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातक र टोरोन्टो मेट्रोपोलीटियन युनिभर्सिटीबाट नर्सिङ विषयमा स्नातकोत्तर गरेकी छन्।

यसअगाडि नै नर्सिङशास्त्र र शिक्षाशास्त्रमा स्नातक गरिसकेकी र त्रिभुवन विश्वविद्यालयअन्तर्गतको शिक्षण अस्पतालमा २१ वर्ष सेवा पूरा गरेकी अर्याल ओन्टारियो, क्यानडामा नर्सिङ व्यवस्थापकको रूपमा कार्यरत छिन्।

कवि मिलन समीरले सम्पादन गरेकाे "अङ्कुर" मा विभिन्न समसामयिक विषय, प्रसङ्ग र सन्दर्भसँग सम्बन्धित ५६ कविता समावेश छ।

किशोर अर्यालद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको कार्यक्रमको संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक कवि मिलन समीरले गरेका थिए। उक्त कार्यक्रममा शार्दुल अर्यालले धन्यवाद मन्तव्य प्रस्तुत गरेका थिए।

"त्रियासी साहित्य साँझ-२०८२" नाम दिइएको कार्यक्रमको दोस्रो चरणमा स्याङ्जाली स्रष्टाहरू प्रेमबन्धु सुवेदी, इन्द्रप्रसाद पाठक, गुरुप्रसाद ढकाल, वसन्त खनाल, शम्भु अर्याल, पूजा रेग्मी, लेखनाथ काफ्ले, शोभाकान्त रेग्मी, ढालबहादुर केसी, खगेन्द्रजंग थापा, पारिश्वर न्यौपाने, राधिका अर्याल, चण्डिकाप्रसाद भट्टराई, सागर काफ्ले, सरस्वती अर्याल काफ्ले, डालकुमारी रेग्मी, दमकुमारी बगाले लगायतले आफ्ना रचना प्रस्तुत गरेका थिए।

प्रकाशित: १ कार्तिक २०८२ १३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App