अभिनेत्री रश्मिका मन्दाना जगपति बाबुको टक शो ‘जयम्मु निश्चयम्मु रा’ मा दिएको एउटा अभिव्यक्तिका कारण अहिले विवादमा छिन्। उनले पुरुषले कम्तीमा एक पटक महिनावारीको पीडा भोग्नुपर्छ भनेर भनेकी थिइन्।
उनले शोमा भनेकी थिइन्, ‘मलाई हरेक महिना लाग्छ, ‘हे भगवान्, तपाईंले मलाई किन यति यातना दिनुभयो?’ मलाई लाग्छ कसैले यो बुझ्न सक्छ भने अनुभव गरेपछि मात्र। त्यसैले मलाई लाग्छ पुरुषहरूलाई कम्तीमा एक पटक महिनावारी हुनुपर्छ।’
उनले थपिन्, ‘हार्मोनल असन्तुलनका कारण हामीले बुझ्न नसक्ने भावनाहरू आउँछन्, र त्यो दबाब पुरुषहरूलाई देखाउन सकिँदैन किनकि व्याख्या गर्दा पनि उनीहरूले बुझ्दैनन्। मलाई यति भयानक पीडा हुन्छ कि एक पटक बेहोस नै भएकी थिएँ।’
यो क्लिप भाइरल भएपछि सामाजिक सञ्जालमा केहीले उनलाई पुरुषप्रति असंवेदनशील भनेर ट्रोल गरेका छन्। उनका फ्यानले ‘उनी त आफ्नो पीडा बुझाउन मात्र खोजेकी हुन्’ भनेर साथ दिएका छन्।
विवाद बढेपछि रश्मिकाले जवाफ दिँदै भनेकी छन्, ‘यो कुरा कसैले बोल्दैनन्... मलाई शो र अन्तर्वार्तामा जान डर लाग्छ, किनकि म जे भन्छु त्यसलाई पूरै फरक तरिकाले लिइन्छ।’
उनी हालै प्रदर्शन भएको हिन्दी फिल्म थामामा अभिनय गरेकी थिइन्। उनी नोभेम्बर ७ मा रिलिज भएको तेलुगु फिल्म द गर्लफ्रेन्डमा पनि देखिएकी छिन्। व्यक्तिगत जीवनको कुरा गर्दा गत अक्टोबर ३ मा विजय देवरकोंडासँग गोप्य रूपमा इन्गेजमेन्ट गरेकी थिइन्। उनीहरूको विवाह आगामी फेब्रुअरी २६ मा हुँदैछ। एजेन्सी
प्रकाशित: २९ कार्तिक २०८२ १४:२० शनिबार





