दक्षिण भारतीय अभिनेता राम चरणलाई चलचित्र ’पेड्डी’ को छायांकनको सेटमा दायाँ हातको नारीमा चोटको थियो। भने उनको मंगलबार सफल शल्यक्रिया सम्पन्न् भएको छ। हाल उनी कोयम्बटुरस्थित अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन्।
अस्पतालका अनुसार जटिल चोट भएकाले शल्यक्रियाको नेतृत्व वरिष्ठ अर्थोपेडिक विशेषज्ञ डा. एस. राजशेखरनले गरेका हुन। साथै, हात तथा नारी शल्यक्रियाका अन्तर्राष्ट्रिय विशेषज्ञ डा. अलेजान्द्रो बाडिया पनि उपचार टोलीमा सहभागी भएका थिए। चिकित्सकहरूले शल्यक्रिया सफल भएको जनाउँदै राम चरणलाई पूर्ण रूपमा निको हुन आठ हप्तासम्म आराम गर्न सल्लाह दिएका छन्।
उनलाई निर्देशक बुच्ची बाबु सानाको निर्देशनमा निर्माण भएको ‘पेड्डी’ चलचित्रको एक कठिन कुस्ती दृश्यको छायांकनका क्रममा लागेको हो। चोट लागेपछि पनि उनले चलचित्रको महत्वपूर्ण छायांकन र प्रचार–प्रसारका कार्यक्रम पूरा गरेपछि मात्र शल्यक्रिया गराउने निर्णय गरेका थिए।
चलचित्र निर्माण कम्पनी वृद्धि सिनेमाजले राम चरणको समर्पणको प्रशंसा गर्दै चोटका बाबजुद पनि उनले आफ्नो जिम्मेवारी पूरा गरेको जनाएको छ। कम्पनीले उनको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
यसअघि पनि ‘पेड्डी’ को छायांकनकै क्रममा राम चरणको निधारमा गम्भीर चोट लागेको थियो र त्यसबेला हैदराबादमा शल्यक्रिया गरिएको थियो। कलाईको समस्याका लागि चिकित्सकहरूले पहिले नै शल्यक्रियाको सुझाव दिएका भए पनि उनले चलचित्रको काम सकिएपछि मात्र उपचार गराएका हुन्।
शल्यक्रियाबाट पूर्ण रूपमा स्वस्थ्य भएपछि उनी नयाँ चलचित्र ‘आरसी १७’को छायांकन सुरु गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १३ श्रावण २०८३ १३:२१ बुधबार





