निर्देशक तथा अभिनेता बिराज भट्ट को बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ मा पुराना तथा नयाँ कलाकारहरूको कमब्याक हुने क्रम जारी रहेको छ।
चलचित्रको छायांकन सुरु भएसँगै कलाकार लाइनअपले दर्शकमाझ उत्साह थपेको छ। लामो समयदेखि चलचित्र क्षेत्रबाट टाढिएका अभिनेता राज हमाल करिब २० वर्षपछि पुनः नेपाली चलचित्रमा फर्किन लागेको जानकारी निर्माण टिमले दिएको छ। उनले यसअघि ‘बाटुली’, ‘जय शिव शंकर’, ‘म छुनी तिम्रो’ लगायत दर्जनौं चलचित्रमा अभिनय गरेर दर्शकमाझ विशेष पहिचान बनाएका थिए। ‘१२ गाउँ २’ मार्फत उनको पुनरागमनलाई नेपाली चलचित्र क्षेत्रमा विशेष रूपमा हेरिएको छ।
त्यसैगरी ‘१२ गाउँ’ मा अभिनेता बिराज भट्टको किक लागेर नाक भाँचिएको दृश्यपछि चर्चामा आएका कलाकार कालु राना पनि सिक्वेलमा निरन्तर रहने भएका छन्। पहिलो भागमा उनको भूमिकाले दर्शकको ध्यान तानेको थियो। निर्माण टिमका अनुसार चलचित्रको छायांकन अहिले धमाधम भइरहेको छ।
एक्सन, ड्रामा र पारिवारिक भावना समेटेर निर्माण भइरहेको चलचित्रलाई यस वर्षको दशैं फूलपातीको अवसर पारेर देशभर प्रदर्शन गर्ने तयारी गरिएको छ। चलचित्रमा बिराज भट्टसहित नयाँ तथा चर्चित कलाकारहरूको समेत अभिनय रहने बताइएको छ। पहिलो भागको सफलतापछि ‘१२ गाउँ २’ प्रति दर्शकको अपेक्षा झन् बढेको निर्माण पक्षको दाबी छ।
प्रकाशित: २४ वैशाख २०८३ १२:४७ बिहीबार


-600x400.jpg)


