‘तीन पुस्तालाई पुग्ने सम्पत्ति छदैँछ भनेर तैँले अकर्मण्य देखाउनु हुँदैन, भाइ! केही इलम त गर्नुपर्छ।’ कान्छा भाइलाई ठुल्दाइले सम्झाए।
दाइको कुरा सुनेपछि उसले ओठे जवाफ फर्कायो, ‘आफूले के गर्या छौ र? पुर्खाकै सम्पतिमा त रजगज गरेका छौँ। मैले खर्च माग्दा उपदेश दिनु पर्दैन। खुरुक्क १० हजार देऊ। म साथीहरूसँग घुम्न जान्छु। दुई दिन घर आउँदिनँ।’
ठुल्दाइ अलि झोक्किए, ‘पुर्खाको माटोमा पसिना बगाएर परिवार पालेको छु। तँ जस्तो अल्लारिएर पुर्ख्यौंली सम्पत्ति मासेको त छुइनँ नि! बाआमाको सेखपछि आफू नपढे पनि तँलाई पढाउनु मेरो भूल भएछ।’
कान्छाले धम्कीको भाषा बोल्यो, ‘मेरो पारो नतताऊ है। तिम्रो असलियत समाजमा ल्याउनु नपरोस्। मलाई थाङ्नामा सुताउन नखोज।’
ठुल्दाइले १० हजार दिँदै ठूलै स्वरमा बोले, ‘यो अन्तिम पटक हो, बुझिस्। तेरो धम्की तैंसँग राखेस् अनि आफ्नो अंश लिएर घरवार गरेस्। रातोदिन तेरो बेफजुलको खर्चले म ढुकुटी रित्याउन सक्दिनँ।’
पैसा झम्टिएर हात पारेपछि बाहिरिँदै ऊ बर्बरायो, ‘बाउको सम्पत्ति समाजसेवामा रित्याएर खुबै पुरुषार्थ गरे भन्ने ठान्या होलान्।’
प्रकाशित: १९ वैशाख २०८३ ०७:०४ शनिबार

