तीजको लहर गाउँघरदेखि सहरसम्म फैलिँदै गर्दा नेपाली सांगीतिक क्षेत्रमा नयाँ तीज गीत सार्वजनिक हुने क्रम बढेको छ। यही क्रममा गायिका तथा गीतकार पूजन काफ्लेले आफ्नै स्वर र शब्दमा तयार पारेको नयाँ तीज गीत ‘तीजको लहर आउँदा बरिलै’ म्युजिक भिडियोसहित सार्वजनिक गरेकी छन्।
गीतमा तीजको सांस्कृतिक रौनक, माइतीको सम्झना, दिदीबहिनीको भेटघाट, दर खाने परम्परा, नाचगान तथा नेपाली महिलाको उत्साहलाई समेटिएको छ। तीज नजिकिँदै गर्दा सार्वजनिक भएको गीतले पर्वको उल्लासलाई थप जीवन्त बनाउने अपेक्षा गरिएको छ।
पूजन काफ्लेको शब्द तथा स्वर रहेको गीतमा जीआर बानियाँको संगीत र सन्तोष प्रगाढको संगीत संयोजन छ। गीतको मिक्सिङ तथा मास्टरिङ सञ्जय श्रीपालले गरेका हुन् भने रेकर्डिङ मुर्चुङ्गा डिजिटलमा गरिएको हो।
गीतको भिडियोमा बीना राउत मुख्य कलाकारका रूपमा देखिएकी छन्। उनको साथमा यज्ञबहादुर काफ्ले, मैयादेवी काफ्ले, भीम थापा, दर्पण भुजेल, समीक्षा केसी र रोशनी बरालले अभिनय तथा नृत्य गरेका छन्। भिडियोको निर्देशन तथा नृत्य संयोजन शिवन पोखरेलले गरेका छन् भने दिपेश एसकेले सहायक नृत्य संयोजन गरेका छन्।

भिडियोमा तीजको परम्परागत वातावरण, सामूहिक नाचगान र नेपाली सांस्कृतिक परिवेशलाई प्राथमिकता दिइएको छ। छायांकन दिपाल गिरीले गरेका छन् भने मिलन विश्वकर्माले सम्पादन तथा रङ संयोजन गरेका छन्।
गायनसँगै गीत लेखनमा समेत सक्रिय काफ्लेले यसअघि विभिन्न सम्मान प्राप्त गरिसकेकी छन्। नवौँ राष्ट्रिय राजधानी अवार्डमा उत्कृष्ट आधुनिक महिला गायिकाको सम्मान तथा ‘चुपचाप’ गीतका लागि हिमालयन अन्तर्राष्ट्रिय अवार्डमा उत्कृष्ट गायिकाको सम्मान पाएकी काफ्लेले यसपटक तीजको मौलिक भावलाई आफ्नै शब्द र स्वरमा प्रस्तुत गरेकी हुन्।
‘तीजको लहर आउँदा बरिलै’ पूजन काफ्ले अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। आधुनिक प्रस्तुतिसँगै तीजको मौलिक सांस्कृतिक स्वादलाई निरन्तरता दिने प्रयास गरिएको यो गीतले श्रोता तथा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ३१ श्रावण २०८३ १२:३२ आइतबार





