२८ चैत्र २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

शुन्यको सामिप्य

कविता

किनाराले नदीलाई छुनु मात्रै कहाँ मिलन हो र?

किनारा त साक्षी हो - नदीको अनन्त यात्राको।

शरीरको एउटा सानो प्यास हो प्राप्ति

यो त एउटा बन्द मुठ्ठी हो

तर साँचो अनुबन्ध त रित्तो हत्केलामा ब्रह्माण्ड अटाउनुमा छ।

प्रेम - त स्वयम्‌मा एक अनन्त 'शून्य' हो

जहाँ हराउनु नै वास्तवमा पाउनु हो।

मैले तिमीलाई नछोईकन छोएकी छु

त्यसरी - जसरी बतासले सुस्तरी पातलाई सुम्सुम्याउँछ

र रुखलाई पत्तै हुँदैन।

मैले तिमीलाई नभेटेरै भेटेकी  छु

त्यसरी - जसरी क्षितिजमा धर्ती र आकाश जोडिन्छन्

जो कहिल्यै नजिक हुँदैनन्, 

तर कहिल्यै अलग पनि देखिँदैनन्।

​मेरो सिउँदो वा मेरो आँगनको रेखाले

मेरो हृदयको फैलावटलाई छेक्न सक्दैन।

विवाह त एउटा सामाजिक भूगोल मात्र हो

तर प्रेम? प्रेम त एउटा ब्रह्माण्डीय इतिहास हो।

​म वर्षौँदेखि एउटा घरको जग बनेर उभिएको छु

तर मेरो धुरीखाँबो त तिम्रो प्रेमको भरोसामा अडिएको छ।

म वर्षौंदेखि कसैको 'वर्तमान' भएर बाँचे पनि

मेरो 'अस्तित्व' को हरेक श्वासमा तिम्रो सुवास छ।

तर मेरो मनको आकाशमा कुनै बारबन्देज छैन

त्यहाँ म सधैँ तिम्रो नीलिमा भएर फिँजारिएकी छु।

बिछोड पनि त एउटा साधना रहेछ

टाढा हुनुको अर्थ रित्तो हुनु होइन

बरु तिम्रो यादले आफूलाई भर्नु रहेछ।

जसरी जून र समुद्रका बीचमा लाखौँ माइलको दूरी छ

तर समुद्रको हरेक छालमा जूनकै प्रतिबिम्ब नाचिरहन्छ।

यो प्रेम शरीरको तृष्णा होइन

यो त आत्माको परमात्मासँगको मौन संवाद हो।

तर तिम्रो प्रेम मेरो त्यो 'एकान्त' हो

जहाँ म ईश्वरसँग संवाद गर्छु।

जहाँ तिमी हुनु र म हुनुको अर्थ सकिन्छ

र केवल 'हुनु' को एउटा मीठो आभास मात्र बाँकी रहन्छ।

प्रकाशित: २८ चैत्र २०८२ १०:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App