१ विषय परिचय
लघुकथा साहित्यका चार विधामध्ये आख्यान विधाअन्तर्गत पर्ने उपन्यास, कथा जस्तै एक उपविधा हो। नेपाली बृहत् शब्दकोशले कथाका तत्त्वहरूले पूर्ण भएको ससाना कथा, छोटा कथालाई लघुकथा मानेको छ (२०७५ः पृष्ठ १०९४) भने प्रबन्धात्मक रूपमा गद्य भाषामा लेखिएको आख्यानात्मक लघुरचना, कहानी वा गल्पलाई कथा भनेको छ। (२०७५ः पृष्ठ १७९) त्यसै गरी कहिने वा भनिने कुरालाई आख्यान भनेको छ। आख्यानबाट आख्यानात्मक शब्द बनेको हो। आख्यानात्मक भनेको कथानकको शृङ्खला हो । यसरी आख्यान र कथालाई एकै ठाउँमा राखेर हेर्दा लघुकथा भनेको छोटो कथानक भएको घटनाहरूको शृङ्खला हो।
प्रस्तुतीकरण शब्द प्रस्तुत+ई+करण मिलेर बनेको हो। यसको शाब्दिक अर्थ प्रस्तुत गर्ने काम, ढङ्ग वा शैली हो। विषयको प्रस्तुतीकरण, शोधको प्रस्तुतीकरण, प्रस्तुति, पेस गराइको क्रममा पनि यसको प्रयोग हुन्छ। प्रस्तुतीकरण बोलाइ वा लेखाइको शैलीभित्र पर्छ। हरेक बोलाइ र लेखनको विशेष शैली हुन्छ। शैलीले नै विधा वा रचनाको विशेषता बोकी रचनालाई पृथक् पृथक् रूपमा चिनाउँछ। यसै शैलीका कारण साहित्यका विधा कविता, नाटक र निबन्धसँग आख्यान अलग देखिन्छ भने प्रस्तुतिकै कारण एउटै विधा भएर पनि उपन्यास र कथासँग लघुकथा छुटिन्छ। यही प्रस्तुतीकरणकै माध्यमले लघुकथा प्रभावकारी, गुणधर्मी, चित्ताकर्षक, विश्वसनीय र आह्लादित हुन्छ। त्यसैले घटनाहरूको शृङ्खलालाई विधाबाट अलग गराउन, स्वरूप पहिचान गर्न तथा लघुकथालाई कलात्मक, सौन्दर्ययुक्त, ललित बनाउन प्रस्तुतिको महत्त्वपूर्ण भूमिका रहन्छ।
प्रस्तुतीकरण रचनामा बाह्य र आन्तरिक गरी दुई प्रकारका हुन्छन्। बाह्य प्रस्तुतीकरणमा घटनाको संयोजन र प्रयोग, पात्रले वहन गरेको चरित्र, पात्रले बसउठ गरेको परिवेश, ग्रहण गरेको विचार, वाक्य र शब्दको प्रयोग जस्ता कुरामा निर्भर रहन्छ भने आन्तरिक रूपमा भाव, घटनाको उनाइ, लेखकले लिएको सामग्री र पाठकलाई पार्ने प्रभाव जस्ता कुरा पर्छन्। यिनै कुरासँग सन्दर्भित गरी लघुकथामा प्रस्तुति हेर्न सकिन्छ। यसका लागि यस लेखमा तत्त्वहरूलाई आधार मानी प्रस्तुति अध्ययन गरिएको छ।
२ कथानकमा प्रस्तुति
कथानक आख्यान विधाको मूल तत्त्व हो। कथानकभित्र घटनाको शृङ्खला, घटनाको क्रम (आदि, मध्य र अन्त), घटनाका अवस्था (प्रारम्भ, सङ्घर्षविकास, सङ्घर्षचरमोत्कर्ष, सङ्घर्षह्रास र उपसंहार), कुतूहल, द्वन्द्व, दृष्टिविन्दु आदि पर्दछ।
कथा, कथावस्तु र कथानक फरकफरक कुरा हुन् भन्ने कुरा विद्वान्हरूले आख्यान, नाटक आदिको सैद्धान्तिक विवेचनाका क्रममा व्यक्त गरेका छन्। कथानक (घटनाहरूमा) पात्र, परिवेश, भाषाशैली, उद्देश्य जस्ता आख्यानका तत्त्वहरूले पूर्ण पाठ कथा हो। कथामा कथावस्तु हुन्छ। कथावस्तु भनेको कथाको मूल विषयवस्तु वा कथाको सार हो। कथावस्तुमा पात्र, परिवेश र सन्देश पनि जोडिएर आउँदा कथासार बन्छ। कथानक भनेको ‘कथा’ र ‘आनक’ मिलेर बनेको हो। यो आख्यानात्मक रचनामा हुने घटनाहरूको शृङ्खला वा घटनावली हो। कथानकमा पात्र र परिवेशको प्रयोग हुँदैन। यसमा विशुद्ध रूपमा घटनाहरूको टिपोट हुन्छ। घटना भनेको अकस्मात् वा नियोजित रूपमा भएको कामकुरो, कामकारबाही, काण्ड वा पर्व हो। कुनै पनि घटना प्राकृतिक वा मानवीय क्रियाकलापका कारण घटना घटेपछि त्यसले प्रतिक्रियाका रूपमा अर्को घटना जन्माउँछ। यही प्रतिक्रिया पुनः घटनाको कारण बन्दै घटनाहरूको क्रमिक शृङ्खला बन्दछ। यिनै घटनाहरूको शृङ्खला वा माला कथानक हो। लघुकथामा घटना प्रयोग गर्दा एउटा पात्रलाई मात्र आधार मानेर उसले केके गर्यो, केके बोल्यो, ती सबै पक्ष समेटेर प्रस्तुत गर्न आवश्यक छैन। यसमा कुनै खास घटना र त्यसले जन्माएको घटना वा पारेको प्रभाव प्रस्तुत गर्नुपर्छ। यसमा एउटा मूलबाट बगेको पानीको खोलाको जति मात्र विषय हुन्छ। एउटा खोलामा अर्को खोला वा कुलाको पानी नै मिसियो भने पनि त्यो कथातिर जान सक्छ। त्यसैले लघुकथामा घटनाको चयन र कार्यकारण देखाउँदै जाँदा सचेत भई एकोन्मुख प्रभावतिर जानुपर्ने हुन्छ।
कुनै पनि व्यक्तिको जन्मसँगै मृत्यु जोडिएको हुन्छ। त्यसै गरी कुनै घटनाको सुरुआतपछि अन्त पनि निश्चित छ। कथा भनेको घटनाको शृङ्खला भएकाले यसको पनि अन्त हुन्छ। यही वैश्विक दृष्टिका आधारमा हरेक घटनाको जन्मपछि त्यससँग सम्बन्धित व्यक्ति वा समाजबाट क्रियाप्रतिक्रिया लिनदिन सुरु हुन्छ। ती सकारात्मक वा नकारात्मक दुवै हुन सक्छन्। सकारात्मक प्रतिक्रियाले बहुजनको हित गर्छ भने नकारात्मक प्रतिक्रियाले हानिनोक्सानी गर्छ। लघुकथामा सकारात्मक वा नकारात्मक जे जस्तो घटना वा प्रतिक्रिया भए पनि घटना गतिशील भई त्यसले घटना उत्पन्न गराउने वा क्रियाप्रतिक्रिया दिने कार्य गरी पात्रलाई एउटा गन्तव्यमा पुर्याउन घटनाको शृङ्खला तयार पारिन्छ। यस क्रममा टुङ्गोमा नपुगेको घटना छन् भने ती घटना मात्र हुन्छन् तर टुङ्गोमा पुगेपछि कथानकको शृङ्खला तयार हुन्छ। यही टुङ्गोमा पुगेका घटनाहरू लघुकथाको पनि कथानक बन्छ।
कथानकलाई बाह्य वा स्थूल रूपमा हेर्ने हो भने यसमा घटनाको जन्म आदिभाग, घटनाको क्रियाप्रतिक्रिया मध्यभाग र घटनाको अन्त कथानकको पनि अन्तभाग बनेर आउँछ। यसैलाई सूक्ष्म रूपमा हेर्ने हो भने घटनाको प्रारम्भ, सङ्घर्ष विकास, सङ्घर्ष चरमोत्कर्ष, सङ्घर्ष ह्रास र उपसंहारमा विभाजन गरिएको हुन्छ। तथापि कतिपय लघुकथामा व्यङ्ग्य गर्दा सङ्घर्ष ह्रासमा नै कथानक टुङ्गिएर उपसंहार अर्थात् फल प्राप्तिचाहिँ कस्तो भयो पाठकमा छाडिएको देखिन्छ। लघुकथामा घटनाको शृङ्खला मात्र दिँदा कथानक बन्छ। लघुकथाको स्वरूपमा आउँदैन । त्यसैले लघुकथा लेखन गर्दा आख्यानको स्वरूप बुझी सोहीअनुसार प्रस्तुति दिनुपर्छ।
आख्यान भनेको साहित्य हो भने साहित्य पनि कलाभित्र पर्दछ । यदि लघुकथा छोटो बनाउने नाममा घटनाहरूको शृङ्खला मात्र दिइयो भने त्यसमा कलाको प्रयोग नपर्न सक्छ। त्यस्तै, साहित्यको अर्थ हित गर्नु पनि भएकाले लघुकथाको लेखनले हितको पक्षमा बोलेन भने साहित्यको गुण हराउन सक्छ। अतः कलात्मक र सौन्दर्यको जलप लगाएर कथानकमा आउने घटनाहरूलाई प्रस्तुत गर्नुपर्छ। त्यसपछि लघुकथा घटनाहरूको टिपोट मात्र होइन आख्यान, साहित्य र कला पनि बन्छ। त्यसैले छोटो बनाउने नाममा कला र सुन्दरता मार्दा लघुकथा होइन, लघुकथाको कथानक बन्छ।
लघुकथा लेखन गर्दा शृङ्खलामा आएका घटनाहरूलाई प्रस्तुतिले प्रभाव पार्छ। कुनै पनि घटनाको जन्म त्यसका क्रियाप्रतिक्रिया र परिणामलाई क्रमशः प्रस्तुत गर्दा सरल कथानक बन्छ। कुनै पनि घटनाको परिणाम उल्लेख गरी त्यो परिणाम आउनुका कारण पछि देखाइयो भने कथानक व्यतिक्रमिक वा वृत्तकारीय बन्छ। यो कुरा सम्पूर्ण आख्यान र आख्यानात्मक रचनामा पनि देखिन्छ। यहाँ कथानक मानिन्छ भन्नुको कारण लघुकथा बनिसकेको हुँदैन किनकि लघुकथा हुन कला र साहित्यको गुण पनि आवश्यक छ। यसैका लागि लघुकथा लेखन गर्दा बाहिरी प्रस्तुति मात्र होइन आन्तरिक प्रस्तुतिमा पनि संयोजन हुनु जरुरी छ। आन्तरिक गुणभित्र द्वन्द्व र कुतूहल पर्दछ।
कथानकभित्र कुतूहल पनि पर्छ। कुतूहलको अर्थ जान्ने इच्छा वा जिज्ञासा हो। यो कुरा अनुसन्धानको मुख्य पक्ष भए पनि रचनामा पाठकको ध्यान तान्नका लागि यसको आवश्यकता पर्छ। कुतूहल सुरुमा लेखकलाई हुन्छ। लेखकले कुनै पनि घटनाको आदि, मध्य वा अन्तको घटना थाहा पाएपछि त्यसको पूर्ण जानकारी लिन चाहन्छ। लेखकले त्यही आफूले पाएको पूर्ण जानकारीले पाठकलाई आकर्षक बनाओस् भन्ने अपेक्षासहित लघुकथाको सिर्जना गर्छ।
यसरी लघुकथा लेखन गर्दा कुनै पनि घटनाको अन्त कसरी हुन्छ भन्ने जानकारी पहिले नै पाठकलाई भएको खण्डमा पाठक रचनाबाट पहिले नै बाहिरिन्छ। त्यसैले लेखकले पाठकलाई घटना, पात्र र परिवेशमा नै अलमलाएर राख्न घटना, क्रियाप्रतिक्रिया, कथानकको आदि, मध्य र अन्तमध्ये कुनै एक खण्ड लुकाएर अन्तिममा मात्र खुला गरिदिन्छ। अझ कतिपय लेखकले त कथा सकिए पनि घटना के भो होला वा पात्रले के कस्तो जीवन भोग्दै होला भनेर कृतिबाट बाहिर निस्केपछि समाजको अवलोकन गर्न थाल्दछ। यसरी कुनै पनि रचनाको खास रहस्यलाई नदेखाई लघुकथा लेखन गर्न पनि प्रस्तुतिले नै सहयोग गरेको हुन्छ।
कथानकमा द्वन्द्व पनि हुन्छ। यो आख्यानको आन्तरिक गुण हो। द्वन्द्व भनेको खास घटनामा उत्पन्न नमिल्दो क्रियाप्रतिक्रिया हो। कथानकका घटना त्यतिकै घट्दैन। घटना घटाउन कुनै पनि प्राकृतिक, मानवीय, वस्तु, विचार जस्ता कुरा कारण बनेको हुन्छ। क्रियाबाट निस्कने प्रतिक्रियामा पनि प्राकृतिक वा मानवीय वस्तुका विचार, मान्यता, स्वभाव, प्रवृत्ति वा गुण जस्ता कुरा आएका हुन्छन्। यसैका कारण द्वन्द्व उत्पन्न हुन्छ। द्वन्द्वका पनि विभिन्न रूप हुन्छन्। कुनै द्वन्द्व सङ्घर्षका रूपमा आउँछ। यही सङ्घर्ष बढ्दा प्रतिस्पर्धा, विद्रोह, क्रान्ति र युद्ध हुन्छ। यी कुरा लघुकथामा कुन रूपमा आएको छ भन्ने कुरा प्रस्तुतिमा देखिनुपर्छ।
द्वन्द्वलाई प्रस्तुतिको आधारमा हेर्दा बाह्य र आन्तरिक देखिन्छ। एउटा व्यक्तिको अर्को व्यक्ति, समाज, समूह वा विचारसँग हुने द्वन्द्व बाह्य हो। यो भौतिक हुन्छ। भौतिक द्वन्द्व बाह्य इन्द्रियले बोध गर्छ तर एउटै मानिसभित्र उत्पन्न फरक दुई अवस्था, विचार वा चेतन तथा अचेतन मनबिचको द्वन्द्व देखिँदैन। यो आन्तरिक द्वन्द्व हो। यसलाई मानसिक द्वन्द्व पनि भनिन्छ। बाह्य वा आन्तरिक जुनसुकै द्वन्द्व भए पनि लेखकले द्वन्द्वको खास कारणको जन्मका लागि एउटा घटना प्रस्तुत गर्दछ। त्यसै घटनासँग युग, स्वभाव, विचार, मूल्यमान्यता, समाज, नियम, कानुन, सभ्यता, धर्म, संस्कृति आदिजन्य कारणबाट द्वन्द्वको विकास गर्छ। यसरी द्वन्द्वको विकास गर्दा लेखकसँग चयनका लागि विभिन्न विकल्प रहेको हुन्छन्। ती विकल्पमध्ये व्यक्ति, समाज र राष्ट्रले पत्याउने दरिलो द्वन्द्वरूपी घटना चयन गर्नुपर्छ। यसका लागि समाजले विश्वास गर्नेबाहेकको द्वन्द्व देखाउनतिर लेखक लाग्नु हुँदैन। यसका साथै लघुकथामा सङ्घर्षको विकास गर्दा घटनालाई एकै ठाउँमा अलमलाएर राख्नु पनि हुँदैन। एकै ठाउँमा घटना रुमलिँदा कथाको आयाम बन्न सक्छ। यसका लागि घटनालाई प्रारम्भ, क्रिया अवस्था, सङ्घर्षअवस्था, सङ्घर्षचरमको अवस्था, सङ्घर्षह्रास र उपसंहारतिर लैजानुपर्छ अर्थात् लघुकथामा क्रियाप्रतिक्रिया वा सङ्घर्ष/द्वन्द्व न्यूनतम् चार अवस्थाका घटनाहरू आवश्यक पर्छ। यसरी लघुकथा प्रस्तुत गर्दा एकातिर गत्यामान घटना र प्रतिघटना अर्कातिर कलात्मकता पनि रहने गरी लेखिनु आवश्यक छ । अन्यथा लघुकथा सूत्रकथा वा कथानक/कथावली बन्छ।
आख्यानमा झैँ लघुकथाको प्रस्तुतिमा पनि दृष्टिविन्दुको महत्त्व छ। त्यसैले दृष्टिविन्दु पनि प्रस्तुतिको माध्यम हो। लेखकले आफ्नो कुरा, विचार, राख्न प्रयोग गर्ने माध्यमलाई दृष्टिविन्दु भनिन्छ । दृष्टिविन्दु पात्रसँग जोडिएर आएको हुन्छ । कथानकलाई पात्रसँग जोड्ने काम नै दृष्टिविन्दुले गर्दछ। त्यसैले कथा लेखन गर्दा दृष्टिविन्दु चयनमा लेखक सतर्क रहनुपर्छ।
लघुकथा वा कथामा आन्तरिक वा बाह्य दृष्टिविन्दु हुन्छ। ऐतिहासिक र पौराणिक कथानक स्रोत भएका लघुकथामा बाह्य दृष्टिविन्दु राख्नु उपयुक्त हुन्छ। यदि यी स्रोतका लघुकथामा आन्तरिक दृष्टिविन्दु राख्ने हो भने आफू पनि त्यही इतिहासको साक्षी वा पात्र बन्नुपर्ने हुन्छ। ती स्रोतका कथानकलाई आजको समाजसँग तुलना गर्दा पनि आन्तरिक दृष्टिविन्दु राख्न मिल्छ। यद्यपि यसका लागि लेखक निकै सजकताका साथ प्रस्तुत हुनुपर्ने हुन्छ।
लघुकथामा आन्तरिक दृष्टिविन्दु प्रयोग गर्दा लेखकले मुख्य घटना वहन गर्ने वा कथाभित्रको साक्षी पात्रका रूपमा प्रस्तुत हुनुपर्ने हुन्छ। लेखक साक्षीका रूपमा प्रस्तुत हुँदा आन्तरिक दृष्टिविन्दु सहायक पात्र बनी जिम्मेवारपूर्वक घटनामा विचरण गरिरहेको हुन्छ।
यसरी आन्तरिक दृष्टिविन्दु प्रयोग गर्दा कथामा लेखकको हस्तक्षेप बढी हुन सक्छ। आफूलाई असल देखाउने प्रयत्न हुन्छ। त्यस्तै, मुख्य पात्र अरूलाई छाडेर आफूले घटना वा चरित्रको निरीक्षण गर्दा मुख्य पात्रलाई सल्लाह दिन खोजे पनि लेखकको हस्तक्षेप देखिन्छ। यसो गर्दा कथानक लेखकको नियन्त्रणमा आउँछ। त्यसैले लघुकथामा दृष्टिविन्दुको चयनमा लेखक सजक हुनु जरुरी छ। कथानकलाई कथाको रूप दिँदा लेखक कथाभित्र रहने वा नरहने ख्याल गरी दृष्टिविन्दु प्रयोग गर्नुपर्ने देखिन्छ। यसर्थ समाजमा भएका घटनाहरूमा आफ्नो पनि प्रत्यक्ष उपस्थिति छ भने आन्तरिक दृष्टिविन्दु प्रयोग गर्दा कथा स्वाभाविक रूपमा अगाडि बढ्छ। यसको विपरीत सुनेका पढेका घटनालाई आधार मानेर लेख्ने हो भने बाह्य दृष्टिविन्दु नै उपयुक्त हुन्छ। हामीले हालसम्म लेखिएका लघुकथाहरूमा प्रयुक्त आन्तरिक दृष्टिविन्दु हेर्ने हो भने लेखकले सभ्य, भलादमी, असल पात्रका रूपमा देखाएको देखिन्छ। यसर्थ आफ्नै कथा प्रस्तुत गर्दा आन्तरिक दृष्टिविन्दु प्रयोग गर्नु उपयुक्त हुने देखिन्छ।
बाह्य दृष्टिविन्दुमा कथा लेख्दा लेखकको हस्तक्षेप कम हुन्छ। तथापि यस किसिमका कथामा पनि लेखकले कुनै एक पात्रलाई माध्यम बनाई आफ्ना कर्म, स्वभाव, प्रवृत्ति वा विचार प्रकट गरिरहेको हुन्छ। यसरी कथा लेख्दा कुनै एक पात्रलाई बलात रूपमा विचार व्यक्त गर्न लगाइएको खण्डमा लेखकले त्यस पात्रको स्वतन्त्रतामा हाबी गरेको देखिन्छ। त्यसैले बाह्य दृष्टिविन्दुमा कथा लेख्दा पनि सबै पात्रलाई खेल्ने अवसर दिनुपर्छ।
यसरी दिँदा असल पात्रका खराब र खराब पात्रका असल गुण पनि देखिन्छ। यसरी सबै पात्रलाई न्याय दिएर कथा लेख्न सकिएको खण्डमा कुनै पात्र पनि अन्यायमा पर्दैन। पौराणिक र ऐतिहासिक कथानक स्रोतमा लेखकको कुनै पात्र माथि हस्तक्षेप भएको देखिन्छ । सामाजिक कथानक स्रोत भएका लघुकथा हेर्ने हो भने समाजका घटना दुरुस्त चित्रण गर्ने व्रmममा अन्तिमको घटना परिणाम जस्ताको त्यस्तै चित्रण गर्दा लेखकको हस्तक्षेप कम हुन जान्छ । अतः लघुकथा लेखनमा कथाको प्रस्तुतिको माध्यम दृष्टिविन्दु चयन गर्दा पनि लेखक स्वतन्त्र हुनु जरुरी छ।
३ पात्रको प्रस्तुतीकरण
पात्र कथाको खम्बा हो। यसलाई पनि आख्यानको प्रमुख तत्त्व भनिन्छ। पात्रले घटना घटाउँछ। पात्रले अवस्थाअनुसार उत्पन्न समस्यालाई निचोडमा लैजान्छ। त्यसैले लघुकथामा पात्र प्रयोग गर्दा कथानक वा घटना ख्याल गर्नुपर्छ। कथाकारले कथा लेख्दा पात्र चयनलाई सामान्य ठान्नु हुँदैन। उदाहरणका लागि रामायणमा प्रयुक्त भएका दुष्ट पात्र सुपर्णखा, रावण तथा महाभारतमा प्रयोग भएका दुर्योधन र दुशासनलगायत अन्य पुराणमा भएका पात्रहरू हेरूँ। यसलाई हेर्दा वर्तमान समयमा रावण, कंस, दुर्योधन पात्रबाट समाजमा कसैको नाम राखिएको देखिन्न। यसबाट थाहा हुन्छ कि लेखकले पात्रको नामकरण गर्दा समाजले त्यसलाई दुष्ट मानेको खण्डमा त्यो नामकरण समाजले आउँदो समयमा स्वीकार गर्दैन। अतः लेखकले कथामा उभ्याएको पात्र कस्तो बनाउने वा हुने हो सचेत रहनुपर्छ। पुराण वा ऐतिहासिक कथालाई स्रोतका रूपमा लिँदा तत्पात्र प्रयोग गरे हुन्छ। यसका साथै कथालाई रोचक बनाउन लेखकले ऐतिहासिक वा पौराणिक पात्रसँगै काल्पनिक पात्र पनि प्रयोग गर्न सक्छ । यो कुरा सामाजिक कथामा पनि ख्याल गर्नुपर्ने हुन्छ। त्यसैले पात्र प्रयोग गर्दा त्यस पात्रले पार्ने असर ख्याल गर्नुपर्ने हुन्छ। लेखकले सामाजिक विषयमा कथा लेख्दा सत् रअसत् पात्र प्रयोग गर्दा सचेत भई घटना र कथा बहन गर्न सक्ने पात्र प्रयोग गर्नुपर्ने हुन्छ। यसका लागि ठाउँ, समय र परिस्थिति ख्याल गरी पात्र राख्न आवश्यक छ। पात्रको नामकरण गर्दा कथानकका घटना, सहर, गाउँ, स्वदेश, विदेश, शिक्षित, अशिक्षित, धनी, गरिब, पेसा, थर जस्ता युगीन यावत् कुरामा ध्यान दिन जरुरी छ।
घटना व्यक्तिमा घट्छ, व्यक्तिबाट घट्न सक्छ। व्यक्तिको माध्यमबाट घटना घट्दा वा व्यक्तिमा घटना घट्दा व्यक्तिको प्रवेश वा निषेध हुन सक्छ। त्यसैले कथा लेख्दा जातीयता, वर्ण, लिङ्ग, काम, पेसा, बसाइ, वंशाणुगत र जीवाणुगत आधार, वस्तुगत आधार आदि हेरिनुपर्छ । कतिपय पात्रको प्रयोग गर्दा लेखकले परम्पराभन्दा भिन्न विपर्यास ढबको पनि प्रयोग गर्न सक्छन्। जे होस् पात्र राख्दा समाज, घटना, संस्कार, चालचलन, रीतिरिवाजअनुसार राख्दा उचित हुन्छ । यसका लागि लेखकले काल्पनिकभन्दा पनि वास्तविक समाजबाट टिपेर राख्न आवश्यक छ।
४ परिवेशको प्रस्तुति
परिवेशले घटना घट्ने स्थान, समय र परिस्थिति बहन गरेको हुन्छ। परिवेशमा घटनाको जन्म हुन्छ । परिवेशले नै समाजका व्यक्तिलाई विभिन्न रूपमा चिनाएको हुन्छ र पात्रको निर्माण गरिदिएको हुन्छ। परिवेशभित्र धर्म, संस्कृति, रीतिरिवाज, रहनसहन, गाँस, बास, कपास, बोली, आचरण, सोचाइ जोडिएर आएको हुन्छ । यसरी परिवेश घटना, पात्र र भाषासँग जोडिएर आउने भएकाले यी सबैलाई विश्वसनीय र यथार्थ बनाउन परिवेशको प्रस्तुति पनि यथार्थ हुन जरुरी छ। परिवेशमा समय पनि जोडिन्छ। समय घटनासँग जोडिएको हुन्छ। हिजोको घटना आज र आजको घटना भोलि नघट्न सक्छ। त्यसैले कथामा परिवेशअन्तर्गत समय जोड्दा ख्याल गर्नुपर्छ। पुराणका कथास्रोतमा पौराणिक समय प्रतिविम्बित हुन्छ भने ऐतिहासिकमा इतिहासको खास समय आएको हुन्छ । पौराणिक समयमा घटना, पात्र र बोलाइ पनि पौराणिक हुनुपर्छ भने ऐतिहासिकमा पनि इतिहास सापेक्ष प्रयोग गर्नुपर्छ।
साहित्य समाजको दर्पण हो। अहिले लेखिएका साहित्यको तत्कालमा मूल्य नहोला तर कालान्तरमा त्यसभित्र रहेका घटना, पात्र र भाषाले एउटा गहकिलो इतिहास निर्माणमा सहयोग गर्न सक्छ । त्यसैले कथामा समय चित्रण गर्दा लेखकले वर्तमान पाठकलाई मात्र जानकारी दिने उद्देश्य नलिई उत्तर समयका पाठकलाई इतिहास दिने सोचका साथ आजको युगको कोसेली भविष्यका पुस्तालाई हुने सोचका साथ कथा लेख्नुपर्छ।
परिवेशमा परिस्थिति पनि जोडिएको हुन्छ। कुनै पनि घटना शून्यमा घटित हुँदैन । घटना घट्नुको कुनै न कुनै कारण हुन्छ। कारणका लागि पात्र सहायक हुन्छ, घटना मुख्य हुन्छ। त्यसैले कुनै पनि घटना किन घट्यो, घटनाले के दियो, घटनाले को प्रभावित बन्यो र के के असर पर्यो, त्यो कुरा कथामा देखाउन आवश्यक छ। यसका लागि परिस्थिति निर्माणमा लेखक सजग रहनुपर्छ। यसका लागि नै लेखक अनुसन्धाता हुनुपर्छ, काल्पनिकतामा रमाएर कल्पनालाई यथार्थसँग लेराएर जोड्न सक्ने कुशल सम्पादक हुनुपर्छ। अर्थात् कथा लेख्दा घटना मात्र उल्लेख नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा परिस्थितिलाई कथामा संयोजन गर्न सक्नुपर्छ। यसरी कथा लेख्दा कुन परिवेशमा हुर्केको पात्रले कुन परिस्थितिमा कस्तो चरित्र प्रदर्शन गर्दछ भन्ने कुरा देखाउँछ। यसका साथै उसलाई त्यस्तो चरित्र निर्माण हुन कति समय लाग्यो भन्ने कुरा पनि प्रस्तुत भएको हुन्छ। अतः लेखकले परिवेश चित्रण र निर्माणमा उचित सन्दर्भ देखाउन कथामा प्रस्तुतिको भूमिका देखिन्छ।
५ भाषाशैलीको प्रस्तुति
भाषा अभिव्यक्तिको माध्यम हो। यसले अनुनय, विनय, अनुरोध, विचार प्रवाहका साथै अवस्थासमेतको जानकारी दिन सहयोग गर्छ। भाषामा नै रति, करुणा, घृणा जस्ता भाव उत्पन्न गराउने सामथ्र्य रहन्छ। भाषामा नै घटना उजागर गरी अन्त्य गर्ने सामथ्र्य रहन्छ। यसले नै घटनाको जानकारी दिई चरित्र प्रदर्शन गर्दछ। भाषाकै कारण पात्रको कठोर र नम्र प्रवृत्ति देखिन्छ। यत्ति मात्र होइन भाषाकै कारण साहित्यिक रचना सुन्दर र लालित्ययुक्त हुन्छ। भाषाभित्र नै अलङ्कार, बिम्ब, ध्वनि जस्ता कुरा निहित रहन्छ। भाषा नै कलाको रूपमा प्रस्तुत हुन्छ। त्यसैले भाषा मिलाउन सके रीति तथा गुणले साहित्य सुन्दर बन्छ। त्यसै कारण भाषा प्रयोगमा लेखक सचेत र चनाखो हुनुपर्छ।
भाषा लेखाइको सशक्त माध्यम पनि हो। भाषाको पूर्ण एकाइ सिङ्गो कृति हो। कृतिमा भाषा पाठ, अनुच्छेद, वाक्य, संवाद, पदावली, शब्दका रूपमा रहेको हुन्छ । लघुकथामा खास गरी लेखक र पात्रको भाषा हुन्छ। कथामा पात्रले निश्चित चरित्र र परिवेश बोकेको हुन्छ। अतः पात्रले प्रयोग गर्ने भाषामा पनि उसको चरित्र र परिवेश लुकेको हुन्छ। पात्रले प्रयोग गर्ने भाषाबाट उसको अध्ययन, क्षमता, स्तर, बसाइ, सोचाइ, विचार, चेतना र भाव प्रस्तुत भएको हुन्छ।
लघुकथा रसिलो साहित्यिक विधा हो। यसबाट प्रस्तुत हुने रस पात्र, पात्रको बसाइ र क्रियाकलापबाट अभिव्यक्त भइरहेको हुन्छ। लघुकथामा पनि अङ्गी र अङ्ग रस हुन्छ। यी रस अभिव्यक्तिका लागि लघुकथामा भावअनुसारका शब्द प्रयोग गर्नुपर्छ। शृङ्गार, करुण, शान्त जस्ता रस छन् भने शब्द र शब्दमा भएका वर्ण कोमल हुँदा सुनमा सुगन्ध हुन्छ। यसको विपरीत रौद्र, वीर जस्ता रस छन् भने शब्द र शब्दमा हुने वर्ण कठोर हुनु राम्रो हुन्छ। यसैका लागि हामीले पात्रका लागि संवाद प्रयोग गर्दा एकातिर परिवेश अर्कातिर उसको मानसिक स्थितिका साथै भावानुकूल शब्द र वर्णचयनको अन्तर्य मिलाउन आवश्यक छ।
लेखकले पात्रको कथनमा भाषा प्रयोग गर्दा सामाजिक स्थिति अनुसार बाल, युवा, वृद्ध, शिक्षित, वैज्ञानिक ज्ञानका साथै पेसा, धर्म कर्म, भूगोल, विदेशी तथा जातीय भाषाको सम्पर्क, भाषिका जस्ता कुरा ख्याल गर्नुपर्छ। कथामा पात्रको भाषामा लेखकले अपनत्व कायम गरी हाबी देखाउनु हुँदैन।
कथामा पात्रका अतिरिक्त लेखकको भाषा पनि हुन्छ । कथामा आउने संवादमा पात्रको भाषा हुन्छ भने अन्य स्थानमा लेखकको भाषा हुन्छ। लेखकले आफ्नो भाषा प्रयोग गर्दा मानक र स्तरीय भाषा प्रयोग गर्नु राम्रो हुन्छ । कथामा लेखकको भाषा घटनाको वर्णन, चरित्रको वर्णन, हाउभाउको उल्लेख गर्दा आउने गर्छ । लेखक आफूले प्रयोग गर्ने भाषा कसिलोमा रसिलो हुनुपर्छ । लघुकथा आख्यान विधा भएकाले यसमा गद्यभाषाको प्रयोग हुनुपर्छ । यसमा कविता र निबन्धमा जस्तो धेरै विचार वा अनुभूति प्रकट गर्नुहुँदैन । कथामा घटना घटाउने पात्र भएकाले विचार र अनुभूतिलाई पात्रका माध्यमबाट व्यक्त गर्नुपर्छ । यसका साथै ऐतिहासिक स्रोतको कथा छ र त्यसमा पनि आन्तरिक दृष्टिविन्दु छ भने लेखकको भाषा प्रयोगमा पनि सोही समयको प्रयोग गर्दा विश्वसनीयता सबल बन्छ।
भाषा साहित्यको महत्त्पूर्ण अङ्ग हो । त्यसैले भाषा प्रयोग गर्दा लेखकले कथानकका घटनाअनुसार अनुच्छेदको सङ्घटन, वाक्यको रखाइव्रmम, शब्दको सिलसिला र वर्णसमेतको प्रयोगमा सचेत हुनुपर्छ। यसका साथै कथामा प्रतीकात्मक, द्वयार्थक, अनेकार्थक, व्यङ्ग्यात्मक, आलङ्कारिक भाषाको प्रयोग गर्न सकिन्छ । कथामा भाषाले नै घटना, चरित्र, परिवेश देखाउने हुँदा प्रयोग गर्ने भाषा घटना, चरित्र परिवेश अनुकूल हुनुपर्छ। यसका लागि लेखक स्वयंले सम्बन्धित घटना, पात्र र परिवेश अध्ययन गरी भाषा निक्र्यौल गर्नुपर्ने हुन्छ । अन्यथा गम्भीर अध्ययन गर्ने अध्येताको दृष्टिमा त्यसमा दोष देखिन सक्छ।
भाषासँगै वर्णविन्यास पनि जोडिएको हुन्छ। त्यसैले वर्णविन्यासका साथै भाषिक चिह्न प्रयोग गर्दा पनि लेखक सचेत हुनुपर्छ। भाषिक चिह्नहरूले उत्तर दिने, प्रश्न सोध्ने, दुःख, शोक, आश्चर्य, भय आदि प्रकट गर्ने हुनाले खास चिह्नको ठाउँमा अर्को चिह्न प्रयोग गर्दा अमिल्दो अर्थ वा भाव निस्कन सक्छ। त्यसै गरी अर्थ वा भावअनुसार सामान्यार्थ (प्रश्नार्थसमेत), आज्ञार्थ, इच्छार्थ, सङ्केतार्थ, सम्भावनार्थ र प्रेरणार्थक वाक्य हुने भएकाले अर्थ वा भावअनुसार वाक्य वा चिह्नको प्रयोग गर्नुपर्छ। पदवर्ग नौ किसिमका छन्। तिनले वाक्यमा आएर आआफ्ना काम गरिरहेको हुन्छ। कारक छ र विभक्ति सात प्रकारका छन्। तिनले वाक्यलाई सुगठित बनाएको हुन्छ। विभक्तिले त कारक पनि पहिचान गराएको हुन्छ। कारकले नै क्रियापदसँग सम्बन्ध जोडी अर्थलाई स्पष्ट पारिरहेको हुन्छ। अझ भन्नुपर्दा एउटा सरल वाक्यमा एकै कामका लागि एउटै कारकको दुई ठाउँमा प्रयोग हुँदैन। यी कुराहरू ख्याल गरेर वाक्य निर्माण गर्न जरुरी छ।
कथा लेखन गर्दा प्रयोग हुने शब्दको स्रोत तत्सम, तद्भव र आगन्तुक गरी तीन प्रकारका हुन्छन्। कतिपय तत्सम र आगन्तुक शब्द सामान्य जनजीवनमा पनि नियमित प्रयोग भइरहेका हुन्छन् भने कतिपय शब्दको प्रयोग भएको हुँदैन। यसर्थ कथामा भएको समाजअनुसार भाषा प्रयोग गर्नुपर्छ। यसका साथै कतिपय घटना खास स्थानसापेक्ष हुन्छ। त्यस किसिमको घटनालाई कथा बनाउँदा पात्र पनि सोही स्थानको प्रयोग गरिन्छ। यसरी स्थान सापेक्ष घटना र पात्रको प्रयोग गर्दा आञ्चलिकता देखिन्छ। यसरी आञ्चलिकता भएको विषयमा कथा लेख्दा पात्रले प्रयोग गर्ने संवा (भाषा) मा आञ्चलिकता हुनु राम्रो मानिन्छ। यसले कथालाई विश्वसनीय र वैध पनि बनाउँछ। यसको विपरीत भाषा मात्र आञ्चलिक भएमा कथामा दोष देखिन सक्छ।
कथाभित्र भाषाका रूपमा आउने वाक्य सरल, मिश्र र संयुक्त गरी तीन प्रकारका हुन्छन्। यी तीन किसिमका वाक्यमा पनि एकभन्दा बढी जोडेर जटिल वाक्य बन्छ। सकेसम्म कथामा जटिल वाक्य प्रयोग गर्नु उपयुक्त हुँदैन। यसका साथै मिश्रवाक्यको पनि अधिक प्रयोगले कथा बोधमा बाधा पर्छ। त्यसैले कथा लेख्दा सरल र संयुक्त वाक्य प्रयोग गर्नु उपयुक्त हुन्छ। सरल वाक्यको प्रयोगले आमपाठकलाई रचना बोधगम्य हुन्छ भने मिश्रले बौद्धिक र उच्च पाठकको अपेक्षा गर्छ। त्यसैले कथा लेखन गर्दा पाठकसापेक्ष रचना सिर्जना गर्नु राम्रो हुन्छ।
भाषा प्रयोगमा काल र पक्षको पनि ख्याल गर्नुपर्छ। कथाको वाक्यमा प्रयोग हुने क्रियापदले काम वा अवस्था मात्र जनाउँदैन। त्यसले लिङ्ग, वचन, पुरुष, आदर, समय, कामको अवस्था, अर्थ, करण–अकरण आदि पनि व्यक्त गरिरहेको हुन्छ। यसका साथै लघुकथा पूर्ण पाठ हो। यो अनुच्छेद अनुच्छेदको संघटन हो। त्यस्तै, वाक्य वाक्य/संवाद आदि मिलेर लघुकथाको अनुच्छेद बन्छ। यी कुराको उचित व्यवस्थापनले लघुकथाको प्रस्तुति सबल बन्छ। अतः लघुकथाका लेखकले सचेतताका साथ आफ्नो रचना प्रस्तुत गरी तयार पार्नुपर्छ।
६ उद्देश्यमा प्रस्तुति
विश्वब्रह्माण्ड (प्रकृति)मा रहेका जेजस्ता कुरा छन्, ती सबै सन्तुलित छन्। प्रकृतिको आविष्कारमा असन्तुलन देखा पर्नेबित्तिकै प्रकृतिबाट कोप भाजन हुनुपर्छ । त्यस्तै, मानव वस्तु पनि प्रकृतिकै पुनःसिर्जना भएकाले यसमा पनि सन्तुलन अनिवार्य छ । यो सन्तुलनको कुरा साहित्य लेखन र त्यसभित्र पर्ने लघुकथामा पनि लागु हुन्छ।
लघुकथा मात्र नभई लघुकविता (सूक्ष्म कविता) लघुनिबन्ध, लघुउपन्यास, लघुनाटक युगीन समाजको आवश्यकता हो। आजको व्यस्त समयमा मानिस धेरै चिन्तन गरेर बस्न सक्दैन। त्यसैले आख्यानको सुस्वाद जतिसके छिटो समयमा प्राप्त गरी आनन्द लिन लघुकथाको सिर्जना, विकास र विस्तार भएको हो। लघुकथामा घटना, पात्र, परिवेशको सीमितता भए पनि लेखन समयमा लघुता नहुन सक्छ। यसो हुनुको कारण यसमा रहेको गम्भीरता र प्रस्तुति हो। लघुकथा घटनालाई भाषाको माध्यमबाट परिवेश, पात्र दिएर लेख्ने रचना नभई प्रकृति वा जीवनजगत्को अनुकरण पनि हो। यसमा कला, ललितकला, साहित्य, आख्यान आदिका गुणहरू पनि समाविष्ट छन्। त्यसैले मानक लघुकथा सिर्जना गर्न ज्ञान, मिहिनेत र लगाव चाहिन्छ। यी सबैको उचित संयोजनपछि मात्र यसबाट सन्देश प्रवाह हुन्छ। यसै सन्देशलाई उद्देश्य भनिन्छ। रचनाले दिन खोजेको ज्ञान पक्षलाई मात्र उद्देश्य मान्ने चलन सीमित हो। किनकि रचनाले विषयवस्तुको ज्ञान मात्र नदिई घटनाका कारण र कार्य, घटना घट्नुको परिवेश, घटना घट्नुमा पात्रको क्रियाकलाप आदिलाई पनि प्रस्तुत गरिरहेको हुन्छ। त्यसैले हरेक सिर्जनामा रहने यस खालको उद्देश्य अदृश्य रहेको हुन्छ। यसका साथै रचनाले शैलीगत ज्ञान पनि दिएको हुन्छ। यसमा भाषा र भाषाभित्र पर्ने वाक्य, पद/शब्द, विम्ब, प्रतीक, अलङ्कार, रीति, वक्राेक्ति, ध्वनि तथा रस जस्ता कुरा पनि प्रवाहित भएको हुन्छ। यसका साथै रचनाले सिद्धान्त निर्माणमा पनि सहयोग गरेको हुन्छ।
यसप्रकार सन्देश, अनुकरण, कला, विधागत मान्यता आदि सम्पूर्णको ज्ञान दिनु नै हरेक रचनाको पूर्ण उद्देश्य हो। हरेक रचनाले आफ्नै स्वरूपमा रहेर प्रवाह गर्ने सन्देश नै खासमा रचनाको उद्देश्य हो। यो उद्देश्य लघुकथाको पनि हो। तथापि व्यावहारिक रूपमा हेर्ने हो भने विषयवस्तुमा आएको विषय, विषयवस्तुमा पात्रको क्रियाकलाप र त्यसले निकाल्ने परिणाम सन्देश हो। यो सन्देश लघुकथाको विषयक्षेत्र, ज्ञान, क्षमता, परिवेश, परिस्थितिअनुसार फरक फरक हुन्छ। पौराणिक, ऐतिहासिक, सामाजिक, वैज्ञानिक जस्ता विषयले विषयअनुसार फरक फरक सन्देश दिएको हुन्छ। लघुकथाले दिने यस सन्देशलाई लेखकले हस्तक्षेप गर्नुभन्दा पाठकलाई नै भोक्ता वा द्रष्टा बनाएर घटनाको परिवेश र घटनामा सामेल गराउँदै चित्तमा प्रभाव पार्न सक्ने सन्देश प्रवाह गर्दा लघुकथालगायत साहित्यको मर्म उजागर हुन्छ । यसका लागि लघुकथाबाट सन्देश दिँदा बोलेर वा लेखेर नभई बोधबाट गराउनुपर्छ । त्यसैले लघुकथालेखनमा उद्देश्य क्षिप्त हुनुपर्छ। यसैका लागि प्रस्तुतिमा ध्यान दिनुपर्छ।
७ शीर्षकमा प्रस्तुति
शीर्षक प्रस्तुतिका दृष्टिले बाह्य तत्त्व हो। विषयवस्तु सम्पूर्ण शरीर हो भने शीर्षक चाहिँ टाउको हो। लघुकथामा शीर्षक राख्दा यसले विषय वहन गर्नुपर्छ। विषयलाई बोक्ने नाममा यसबाट कथाको गोपनीयता भने भङ्ग हुन दिनुहुँदैन। लघुकथाको शीर्षक, विषयका अतिरिक्त, पात्र, परिवेश वा परिस्थितिअनुसार राख्न सकिन्छ । यसरी शीर्षक राख्दा विकारी पदलाई नै महत्त्व दिनु राम्रो हुन्छ।
लघुकथामा शीर्षक राख्दा एक शब्द प्रयोग गर्दा राम्रो हुन्छ। दुई शब्दबाट शीर्षक राख्दा प्रयोग हुने विशेषण शब्दले विषयवस्तु खोल्ने सम्भावना रहन्छ । अझ वाक्य तहमा शीर्षक राख्दा यो समस्या धेरै देखिन्छ। अतः लघुकथाको शीर्षक राख्दा त्यसबाट प्रवाहित हुने सूचना पढेपछि मात्र बोध गराउन एक शब्दकै शीर्षक राख्न पनि प्रस्तुतिले मद्दत गर्ने देखिन्छ।
८ निष्कर्ष
सिर्जनात्मक लेखनमा प्रस्तुति भनेको स्रष्टाले पाठक, श्रोता वा दर्शकलाई बुझाएको सामग्रीको संयोजन हो। समाचार वाचक, अभिनेता, कलाकार, शिक्षक आदि सबैको विषय वा वस्तु प्रस्तुत गर्ने आफ्नो कला हुन्छ। यसलाई वैयक्तिक शैलीभित्र राख्न पनि सकिन्छ। नेपाली लघुकथा लेखनमा पनि प्रस्तुतिको आआफ्नो शैली छ। लघुकथामा यस शैलीले घटनालाई परिवेश, चारित्रिक क्रियाकलाप आदिसँग जोडेर कलात्मक, सौन्दर्ययुक्त बनाउन मद्दत गर्छ। यसले लघुकथालाई वास्तविक वा यथार्थ पनि बनाउँछ। लघुकथामा प्रस्तुतिले कठोर संवादलाई पनि मृदुल बनाउन सहयोग गर्छ। यसले मस्तिष्कलाई हृदयसँग जोड्न पनि सहयोग गर्छ। कुशल प्रस्तुतिकै कारण दर्शक, श्रोता वा पाठकको हृदय संवेद्य हुन्छ। प्रस्तुतिकै कारण स्रष्टा भावकको मनभित्र बस्न सफल हुन्छ। त्यसैले लघुकथाका तत्त्वहरूलाई प्रकृति वा जीवनजगत्सँग जोडेर कलात्मक, सुरुचिपूर्ण, मादकतापूर्ण, मौलिक, सार्थक बुनोट गर्न प्रस्तुतिमा ध्यान दिन आवश्यक छ। प्रस्तुतिले नै स्रष्टाको प्रवृत्ति खुट्याउन पनि मद्दत गर्छ। अतः सिर्जनात्मक रचनाको मूल्याङ्कन गर्दा यसको परोक्ष वा अपरोक्ष प्रयोग भइरहेको छ र हुनु पनि पर्दछ।
सन्दर्भसामग्री सूची
..........., नेपाली बृहत् शब्दकोश (संशोधित, २०७५), काठमाडौंः नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान।
अश्क, गोपाल, लघुकथा र नेपाली लघुकथा, लघुकथाको सुगन्ध अङ्क ४ (२०७७), चितवनः नमस्ते आधुनिक लघुकथा मञ्च।
आचार्य, विधान, समालोचनाका कसीमा समकालीन नेपाली लघुकथा, (२०७९), काठमाडौँ: नेपाल स्रष्टा समाज।
चालिसे, विदुर, लघुकथालय (२०७९), चितवनः नमस्ते आधुनिक लघुकथा मञ्च।
बराल, कृष्णहरि र नेत्र एटम, (२०५८)उपन्यास सिद्घान्त र नेपाली उपन्यास,(दोसं), ललितपुरः साझा प्रकाशन।
लामिछाने, कपिल, लघुकथामा भाषाको भूमिका, हाम्रो लघुकथा पाठशाला स्मारिका(२०७९), काठमाडौँ: शेखरकुमार श्रेष्ठ, पृष्ठ ८८–१०२।
............, लघुकथामा पात्र र चरित्र, पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठान फापरथुम, स्याङ्जामा प्रस्तुत सम्मेलनपत्र, २०८० माघ २७।
श्रेष्ठ, शेखरकुमार, सृजनात्मक साहित्यका रूपमा लघुकथा लेखन, लघुकथाको सुगन्ध अङ्क २ (२०७७), चितवनः नमस्ते आधुनिक लघुकथा मञ्च, पृष्ठ १४–२२)।
............., लघुकथाको विधागत स्वरूप, लघुकथाको सुगन्ध अङ्क३(२०७८), चितवनः नमस्ते आधुनिक लघुकथा मञ्च।
............., लघुकथा लेखनका तत्त्वहरू, हाम्रो लघुकथा पाठशाला स्मारिका(२०७९), काठमाडौँI शेखरकुमार श्रेष्ठ, पृष्ठ ८८–१०२।
प्रकाशित: २१ चैत्र २०८२ ०९:४२ शनिबार





