६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

प्रज्ञा

लघुकथा

‘हेल्लो बुबा, तपाईको फोन बिग्रियो अरे।’ प्रज्ञाले म्यासेञ्जरमा सोधी।

‘अरू ठिकै छ। शेयर हुँदैन। ८/१० ठाउँ देखाएँ। कसैले केही पत्ता लगाउनै सकेनन्। कसैले फेसबुककै समस्या हो भने। कसैले गुगल समस्या हो भने। स्टोरेज भरिएछ भने। कसैले तपाईको मोबाइल नै कम क्षमताको रहेछ भने।’मैले म्यासेञ्जरमै जवाफ फर्काएँ।

‘म पैसा पठाइदिन्छु। भोलि इटहरी गएर मोबाइल किन्नु न त।’प्रज्ञाले भनी।

‘भोभो पर्दैन। गएकै ऋण तिरिसकेको छैन होला। पैसा छ र? छोड्दे म आफै किन्छु।’ मैले जवाफ फर्काएँ।

प्रज्ञा मेरी ठुली छोरी हो। उ फिनल्याण्ड बस्छे। ज्वाइँ पढ्नुहुन्छ। छोरी काम गर्छे। तलब कति छ? मैले सोधेको छैन। दुःखसुख बाँचेका होलान्। एकजनाको कमाइ कहाँ पर्याप्त  होला र? डलर नेपाली रुपैयाँमा साट्दा धेर देखिएको हो। उहाँ त एकको एकै त हो नि।

फिनल्याण्ड संसारकै उत्कृष्ट खुसी देश। त्यहाँका मान्छेहरूमा बेचैनी र निराशा छैन होला। सरकारले सुशासन दिएको होला। आधारभूत आवश्यकताहरू निःशुल्क होलान्। शिक्षा, स्वाथ्य र रोजगारीको प्रत्याभूति होला। हत्या, बलात्कार र लुटपाट हुँदैन होला।

हामीकहाँ त मान्छेहरूमा बेचैनी र निराशा छ। सरकारलाई भ्रष्टाचारको आरोप लागेको छ। मान्छेहरू आधारभूत आवश्यकता प्राप्त गर्न नसकी छटपटिरहेका छन्। शिक्षा, स्वास्थ्य र रोजगारीको कुनै प्रत्याभूति छैन। हत्या, बलात्कार र लुटपाट सामान्य घटना जस्तै लाग्छन्।

प्रज्ञा मास्टर्स गर्दै थिई।

‘पढाइ हापेर किन फिनल्याण्ड जानुपर्‍यो? पढ्दै लोकसेवाको तयारी गरे हुन्न? नेपालमै रोजगारी पाइएला नि त? किन लाखौ खर्च गरेर विदेश जाने?’ मैले प्रज्ञालाई सोधेको थिएँ।

‘मास्टर्स गरेर के गर्नु? प्लसटु र कलेज धाउने त हो नि। अधिकृतको जागिरै खाए पनि तलब पर्याप्त छैन। रोजी रोटी नै टर्दैन। जीवनस्तर कसरी सुधार्ने? गुणस्तरीय शिक्षा खै? रोजगारीको प्रत्याभूति खै? आफू मात्र बाँचेर भएन नि बुबा। विदेशिनु बाध्यता हो।’ प्रज्ञाले मलाई मुखभरिको जवाफ फर्काएकी थिई।

प्रज्ञाको जवाफले म नतमस्तक भएको थिएँ। मेरो बोल्ने ठाउँ नै थिएन। देशको पीडा सम्झेर म रोएँ। मेरो आँसु पुछिदिने कोही थिएन।

प्रकाशित: १५ कार्तिक २०८२ १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App