४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

औधी रुचाइयाे ‘पीआर’ को गीत ‘टाटा बाइबाइ’

युटुबमा फिल्म ‘पीआर’ मा समावेश गीत ‘टाटा बाइबाइ’लाई दर्शकले सर्वाधिक रुचाएका छन्। युटुब तथा टिकटकमा राखिएको यो गीतलाई दर्शकले रुचाएका हुन्। अहिले टिकटका अधिकांश दृश्यमा यो गीतको शब्द ‘टाटा बाइबाइ’मा भिडियो निर्माण गरिएको छ।

निर्माण टिम टिकटकमा गीत हिट भएपछि उत्साहित देखिएका छन्। फिल्मका निर्देशक शोभित बस्नेत सामाजिक सञ्जालमा आफ्नो फिल्मको गीतले चर्चा पाएपछि दंग छ्न्। यो फिल्मको गीत गत आइतबार सलोमा युटुब च्यानलबाट रिलिज भएको थियो।

युटुबमा पनि गीतले राम्रै भ्युज कमाइरहेको छ। २ हजारभन्दा बढी लाइक गीतले पाएको छ भने अधिकांश कमेन्टकर्ताले गीतको प्रशंसा गरेका छन्।

गीतमा फिल्मका मुख्य कलाकार नीर शाह र गौरी मल्लको रमाइलो नृत्यलाई दर्शकले सुखद् प्रतिक्रिया दिएका छन्। यस फिल्मको गीतमा भिम बीसीको संगीत, टेक बी.सी. र प्रीति घिमिरेको स्वर रहेको छ भने गीतको भिडियोमा कोरियाग्राफी रामजी लामिछानेको छ।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलले अभिनय गरेका छन्। साथै विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम केसी र दिक्पाल कार्की रहेका छन्।

निर्देशक बस्नेतले यस फिल्ममा प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित फिल्म निर्माण भएको बताए। विदेशमा रहेका छोराछोरीको अवस्था र नेपालमा रहेका बुबाआमाले उनीहरूप्रति गरेको अपेक्षा फिल्ममा समेटिएको निर्माण पक्षको भनाइ छ। यस फिल्मको प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन्।

उक्त फिल्म गणेश बुढाथोकीले लेखेका हुन् भने बन्दे प्रसादले सम्पादन गरेका हुन्। त्यसैगरी यो फिल्मको छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन् भने आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ। फिल्म आउँदाे मंसिर २६ गतेबाट अल नेपाल रिलिज हुँदैछ।

प्रकाशित: २३ कार्तिक २०८२ १३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App