५ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

इटहरीमा सातै प्रदेशका सर्जकको सिर्जनात्मक प्रस्तुति

कला र साहित्यको एक अद्वितीय संगम प्रस्तुत गर्दै शनिबार इटहरीमा ‘एपेक राष्ट्रिय काव्यमहोत्सव–२’ भव्यताका साथ सम्पन्न भएको छ।

एपेक नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा भएको उक्त महोत्सवको मुख्य आकर्षण कविता वाचनसँगै चित्रकारहरूले तत्कालै क्यानभासमा कविताको भाव उतार्नु थियो।

यसले उपस्थित दर्शकलाई एकै मञ्चमा दुई फरक विधाको सिर्जनात्मक जुगलबन्दीको साक्षी बस्ने अवसर प्रदान गर्‍यो।

इटहरीस्थित एक होटलमा आयोजित कार्यक्रममा देशका विभिन्न भागबाट आएका कवि, कलाकार तथा लेखकहरूको बाक्लो उपस्थिति थियो।

कार्यक्रममा कोशी प्रदेशकी कवि अस्मिता विष्टले ‘गाउँमा खुलेको डिपार्टमेन्ट स्टोर’ शीर्षकको कविता वाचन गरिरहँदा कलाकार डिल्लीकृष्ण आलेले त्यसको भावलाई चित्रमा उतारेका थिए भने मनोज लोहारको कविता ‘घर सम्झिरहेको मानिस’ लाई कलाकार सञ्जय वान्तावाले क्यानभासमा जीवन्त बनाए।

कोशी प्रदेशबाट कवि अस्मिता विष्ट गाउँमा खुलेको डिपार्मेन्ट स्टोर शीर्षको कवितामा कलाकार डिल्लीकृष्ण आलेले चित्रसहित प्रस्तुत गर्दै । 

यसैगरी, महोत्सवमा १४ जना कविहरूका रचनामा १४ जना चित्रकारहरूले आ-आफ्नो सिर्जना प्रस्तुत गर्दै कविता र कलाबीचको गहिरो सम्बन्धलाई उजागर गरेका थिए।

सोही अवसरमा साहित्यकार हेमन्त शिशिरको कवितासङ्ग्रह ‘बन्द कोठाको झ्याल’ को पाण्डुलिपिलाई ‘पहिलो पाण्डुलिपि पुरस्कार’ बाट सम्मान गरिएको थियो।

साथै, आयोजकले ४० वर्ष मुनिका युवा कथाकारहरूलाई लक्षित गर्दै दोस्रो लघुकथा पाण्डुलिपि प्रतियोगिताको समेत घोषणा गरेको छ। जसको नतिजा आगामी चैत १५ गते सार्वजनिक गरिने जानकारी दिइयो।

 एपेक राष्ट्रिय काव्यमहोत्सव–२ मा सहभागी कवि, कलाकार तथा लेखकहरु।

कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कवि मनु मन्जिलको प्रसिद्ध कवितांश वाचन गर्दै गरेका थिए।

उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कला र साहित्यको क्षेत्रलाई थप प्रखर बनाउनुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमले युवा पुस्तालाई सिर्जनात्मकतातर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे।

एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, कवि मनु मन्जिल, प्रदेश सभा सदस्य मिना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १५ कार्तिक २०८२ २०:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App