२४ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

विराटनगरमा काव्य उद्यान

साहित्य, सिर्जना, भाषा तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकास गर्ने उद्देश्यले स्थापित काव्य उद्यान नेपाल, विराटनगरको  उद्घाटन भएकाे छ।

काव्य उद्यान नेपालका अध्यक्ष भूपाल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल प्रमुख अतिथि थिए। प्रमुख अतिथि पोखरेलले गमलामा रोपिएको समीको बिरुवामा पानी हालेर तथा पर्दा तानेर संस्थाको उद्घाटन गरेका थिए।

विराटनगरस्थित एलिट क्लबको सभाहलमा सम्पन्न भएको  कार्यक्रममा विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, चारु प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थी, चेतना संरक्षण प्रतिष्ठानका अध्यक्ष गङ्गा सुवेदी, प्रा. खेम नेपाली, झोराहाट नाट्य समूहका प्रमुख भरत गुरागाईं तथा अन्तर्राष्ट्रिय कवि सुमन पोखरेल विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

प्राडा मेदिनीप्रसाद शर्मा, प्राडा हरिहर भण्डारी, मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, छन्द वाटिका नेपालका अध्यक्ष हरि कट्टेल, विराटनगर प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश सुवेदी, सिर्जनामा इनरुवाका अध्यक्ष लिलानाथ सिलवाल, साहित्यकार सीमा आभास, सप्तरङ्गी साहित्य मञ्चका अध्यक्ष रमेन्द्र कोइराला लगायत विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधि, साहित्यकार, स्रष्टा र साहित्यप्रेमीहरूको उपस्थिति थियो। उपाध्यक्ष ऋषि तिवारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा संस्थाका पदाधिकारी तथा आजीवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रमुख तथा विशिष्ट अतिथिहरूलाई मायाको चिनोसमेत हस्तान्तरण गरिएको थियो। डा. देवी पन्थी, मधु पोखरेल, गङ्गा सुवेदी, लिलानाथ सिलवाल, रमेन्द्र कोइराला, डोमी कामत, मञ्जु घिमिरे दाहाल, पुण्यप्रसाद चौलागाईं तथा प्रा. खेम नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

साहित्यसँगै वातावरण संरक्षणको सन्देश उद्घाटन समारोहमा साहित्यसँगै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको सन्देशसमेत दिइएको थियो। कार्यक्रममा हरित विराटनगर अभियानका अभियन्ता तथा अध्यक्ष पारुल क्षेत्रीलाई गमलासहितको समीको बिरुवा हस्तान्तरण गरिएको थियो।

साहित्यिक गतिविधिलाई वातावरण संरक्षणसँग जोड्दै हरियाली र स्वच्छ वातावरण निर्माणप्रतिको सामाजिक प्रतिबद्धता अभिव्यक्त गर्ने उद्देश्यले बिरुवा हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।

नयाँ पुस्तालाई साहित्यसँग जोड्ने लक्ष्य काव्य उद्यान नेपालले साहित्यका सबै विधाको विकास र प्रवर्द्धनसँगै स्रष्टाबीच संस्थागत सहकार्य, एकता र सद्भाव कायम गर्ने लक्ष्य लिएको छ। संस्थाले मासिक साहित्यिक कार्यक्रम सञ्चालन गर्ने, प्रस्तुत रचनालाई आवश्यक सम्पादनसहित दस्तावेजीकरण गरी पुस्तक प्रकाशन गर्ने तथा साहित्यका विभिन्न विधाका सैद्धान्तिक पक्षबारे विज्ञमार्फत जानकारी गराउने योजना बनाएको छ।

विद्यालय तथा कलेजसँग समन्वय गरी ‘विद्यार्थीसँग साहित्य’, सडक कविता लगायतका अभियान सञ्चालन गर्ने, नयाँ पुस्तामा सिर्जनात्मक तथा सैद्धान्तिक चेतनाको विकास गर्ने र ओझेलमा परेका प्रतिभा तथा स्रष्टालाई साहित्यको मूलधारमा ल्याउने संस्थाको उद्देश्य छ।

विभिन्न भाषाको विकास र प्रवर्द्धनका लागि बहुभाषिक साहित्यिक कार्यक्रम सञ्चालन गर्ने, साहित्यिक गोष्ठी, सभा, सम्मेलन, प्रतियोगिता तथा सम्मान कार्यक्रम आयोजना गर्ने, पुस्तक तथा साहित्यिक पत्रिका प्रकाशन गर्ने र अनुसन्धानका कार्य अघि बढाउने लक्ष्यसमेत संस्थाले लिएको छ।

साहित्यका माध्यमबाट समाजमा सकारात्मक चेतना र सन्देश प्रवाह गर्दै समृद्ध, सभ्य र सिर्जनशील समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्यसहित काव्य उद्यान नेपाल अघि बढेको छ।

१६ आजीवन सदस्य सम्मानित 

उद्घाटन समारोहमा काव्य उद्यान नेपालका १६ जना आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित सदस्यहरूमा सृजना प्रसाईं ढुङ्गाना, शान्ता कर्ण, विक्रम विबंश याक्खा, म्यामराज राई, प्रेमप्रसाद रिजाल, अमित साङपाङ राई, दिनेश क्षेत्री, पुरुषोत्तम धमला, डा. प्राची भगत, जयन्त प्रधानाङ्ग, सुनिल पाण्डे, आर्या रिजाल, प्रकाश पोखरेल, कृष्णप्रसाद दवु, कान्ता रिजाल र पूर्णिमा भुर्तेल रहेका छन्।

काव्य उद्यान नेपालको कार्यसमिति काव्य उद्यान नेपालको अध्यक्षमा भूपाल अधिकारी, उपाध्यक्षमा ऋषि तिवारी, सचिवमा केशव रिजाल, कोषाध्यक्षमा अन्सु गुप्ता र सहसचिवमा सुशीला प्रसाईं दङ्गाल रहेका छन्।

सदस्यहरूमा शरद प्रधानाङ्ग, पुण्यप्रसाद चौलागाईं, तारा श्रेष्ठ, रेणुका राई, यमुना भट्टराई र किरण रिजाल रहेका छन्। संस्थाका सल्लाहकारमा भवानीप्रसाद पोखरेल, लिलानाथ सिलवाल, रमेन्द्र कोइराला, कुमार श्रेष्ठ र सुरेश अग्रवाल रहेका छन्।

सहसचिव सुशीला प्रसाईं दङ्गालले सञ्चालन गरेकी थिइन्। साहित्यका विभिन्न विधा, भाषा र पुस्ताबीच सहकार्य, संवाद र सिर्जनात्मक वातावरण निर्माण गर्ने लक्ष्यसहित अघि बढेको काव्य उद्यान नेपालले विराटनगरको साहित्यिक गतिविधिलाई थप सक्रिय र व्यवस्थित बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित: २४ श्रावण २०८३ ०७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App