वर्तमान कविता समूहले ‘अग्रजसँग वर्तमान कविता समूह’ कार्यक्रमको तेस्रो श्रृंखलामा वरिष्ठ कवि श्यामल प्रस्तुत गरेकाे छ।
कार्यक्रममा साहित्य, समाज, भाषा, संस्कृति तथा समकालीन नेपाली कविताका विविध आयाममाथि गहन संवाद भएको थियो। साहित्यिक वातावरण जीवन्त बनाउँदै सम्पन्न उक्त कार्यक्रममा अग्रज र नयाँ पुस्ताका स्रष्टाबीच अनुभव, विचार र सिर्जनशीलताको आदानप्रदान भएको सहभागीहरूले बताएका थिए।
“तपाईहरूमार्फत”, “लयब्रह्म” र “हतारमा यात्रा” तीन कवितासङ्ग्रह तथा “रित्तो गाउँ” निबन्धसङ्ग्रह गरी जम्मा चार कृति पाठकमाझ ल्याइसकेका श्यामलका एउटा कवितासङ्ग्रह र एउटा निबन्धसङ्ग्रह प्रकाशोन्मुख छन्। कार्यक्रममा उनका साहित्यिक योगदान, वैचारिक गहिराइ तथा सामाजिक सरोकारका विषयमा पनि चर्चा गरिएको थियो।
पञ्चायतकालीन प्रतिकूल समयमा पनि भूमिगत रहँदै “नक्षत्र शर्मा”, “हरिश दिक्पाल” लगायत विभिन्न छद्म नाममा लेखन कर्मलाई निरन्तरता दिँदै हालको “श्यामल” सम्म आइपुग्दाका आरोहअवरोहको रोचक पाटाे कवि श्यामलले राखेका थिए।
कठिन राजनीतिक तथा सामाजिक परिवेशमा पनि सिर्जनशीलता र अभिव्यक्तिको निरन्तरता कायम राख्दै नेपाली साहित्यलाई समृद्ध बनाउन योगदान कवि साहित्यकारले कसरी पुर्याउँछन् भने कुरा उनले आफ्नो लेखन यात्रा र अठोटको पोयो खोलेर बताए।
कार्यक्रममा कवि श्यामलले आफ्नो साहित्यिक यात्रा, लेखन अनुभव तथा नेपाली कविताको वर्तमान अवस्थाबारे धारणा राख्दै कविता कोरा अभिव्यक्ति मात्र नभई समाजको संवेदना र समयको दस्तावेज पनि भएको बताए।
उनले साहित्यले मानिस र समाजलाई चेतनशील बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। संवादका क्रममा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, अध्ययन संस्कृतिमा आएको परिवर्तन, सामाजिक सञ्जालको प्रभाव तथा नयाँ पुस्ताको सिर्जनशीलताबारे पनि छलफल भयो।
उक्त कार्यक्रममा कवि श्यामलले रचनागर्भका प्रसङ्गसहित आफ्ना कविताहरू “सिलिकन सुन्दरी र प्लास्टिकका कवि”, “संकटकालमा सहवास”, “रातको हुम्ला”, “केही डरलाग्दा नामहरू”, “पावरहाउस” र “मैना सुनारकी आमा” प्रस्तुत गरेका थिए। साथै उनले कुर्दिस कविको अनूदित कविता “स्वतन्त्रता” पनि वाचन गरेका थिए।
सहभागीहरूले उनका कविताले समकालीन समाज, राजनीतिक यथार्थ र मानवीय संवेदनालाई प्रभावशाली ढङ्गले प्रस्तुत गरेको बताएका थिए।
कवि श्यामलकै समकालीन कवि स्नेह सायमीले विगतका लेखन गतिविधि संघर्षपूर्ण रहे पनि ती दिनहरू उत्साहपूर्ण रहेको बताउँदै कवि श्यामलसँगको आफ्नो सहयात्राको संस्मरण सुनाए। उनले “चेतनाको पक्षघात” र “यात्रा” शीर्षकका दुई कविता पनि सुनाए।
कार्यक्रममा अन्य सहभागी कविहरूले पनि आफ्ना कविता वाचन गरेका थिए। धीरकुमार श्रेष्ठले “मेरो प्रेम”, अभय श्रेष्ठले “जरुरी कुरा”, विश्व सिग्देलले “विवशता”, प्रकाश रम्घालीले “फारु गर्दै”, सुनिता खनालले “ओ नायक”, चाचुले “डीएसएलआर क्यामेरा”, चन्द्रबहादुर लामाले “प्रतिक्षालय” तथा रमी प्रियाले “दन्त्यकथा” शीर्षकका कविता वाचन गरेका थिए।त्यसैगरी, शारदा अधिकारीले कवि श्यामलको कविता “शान्ति नेपाली” वाचन गरेकी थिइन्।
वर्तमान कविता समूहका विश्व सिग्देलले “अग्रज स्रष्टासँग नयाँ पुस्तालाई साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम श्रृंखला सञ्चालन गर्दै आएको” बताए। उनले यस्ता साहित्यिक कार्यक्रमले पुस्तान्तरबीचको दूरी कम गर्नुका साथै नयाँ स्रष्टालाई सिर्जनात्मक प्रेरणा दिने विश्वास व्यक्त गरे।
साहित्यिक संवाद, कविता वाचन र अनुभव आदानप्रदानले समाजमा सकारात्मक वैचारिक वातावरण निर्माण गर्न तथा नेपाली साहित्यप्रति युवा पुस्ताको आकर्षण बढाउन यस्ता कार्यक्रम प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
प्रकाशित: २७ वैशाख २०८३ ०९:४९ आइतबार





