कवि रीता खत्रीको कवितासंग्रह ‘बाँच्नेहरूका नाममा’ सार्वजनिक भएकाे छ।
साझा प्रकाशन, विद्युतकर्मी साहित्यिक समाज र विश्व नेपाली वाङ्मय प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यक्रममा साहित्यकार, समीक्षक, लेखक, कवि तथा साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति थियो।
साझा प्रकाशनकाे अध्यक्ष तथा महाप्रबन्धक शेखर गिरीकाे अध्यक्षतामा कृतिकाे लाेकार्पण तथा अन्तर्क्रिया भएकाे हाे।
कार्यक्रममा साहित्यकार तथा समीक्षक डा. अशोक थापा र समकालीन कवि तथा समीक्षक प्रगति राईले ‘बाँच्नेहरूका नाममा’ कवितासंग्रहका विविध पक्षमाथि समीक्षात्मक मन्तव्य राखेकी थिइन्। उनीहरूले संग्रहमा समेटिएका कविताको भाव, विषयवस्तु, शिल्प, बिम्ब, भाषिक प्रयोग तथा समकालीन जीवनसँगको सम्बन्धका विषयमा चर्चा गरेका थिए।
विद्युतकर्मी साहित्यिक समाजकी उपाध्यक्ष शारदा पराजुलीले
अतिथिजनलाई शब्द स्वागत गरेका थिए। उनले साहित्यिक समाजका तर्फबाट कवि रीता खत्रीलाई बधाई तथा शुभकामना दिँदै ‘बाँच्नेहरूका नाममा’ कवितासंग्रहले नेपाली कविताको क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने विश्वास व्यक्त गरेका थिए।
साहित्य र विद्युत् सेवामा आबद्ध व्यक्तिहरूबीच सिर्जनात्मक सम्बन्ध विस्तार गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
कार्यक्रममा गुञ्जन नारी साहित्य संस्थाकी अध्यक्ष जलेश्वरी श्रेष्ठ, वरिष्ठ साहित्यकार शैलेन्द्र साकार, साहित्यकार उषा शेरचन तथा कोशी प्रदेशसभा सदस्य एवं कवि मिना श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए।
लाेकार्पित कवितासंग्रहबाट साझा प्रकाशन सञ्चालक समिति सदस्य तथा कवि जयन्ता पोखरेल, विद्युतकर्मी साहित्यिक समाजका पूर्व अध्यक्ष तथा कवि कृष्णदेव रिमाल ‘शब्दसेना’, कवि प्रोलाश सिन्धुलीय, कवि पेशलकुमार लुईटेल, मुक्तककार उषा केसी.तथा कवि एवं गजलकार बाबु त्रिपाठी लगायतले कविता वाचेका थिए।
कवि रीता खत्रीले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिलाई धन्यवाद ज्ञापन गर्दै संग्रहकाे एउटा कविता वाचेकी थिइन्।
कार्यक्रमको प्रारम्भ राष्ट्रिय गान तथा दीप प्रज्वलनबाट गरिएको थियो। कार्यक्रममा विभिन्न साहित्यिक तथा सामाजिक संस्थाका प्रतिनिधि, नेपाल विद्युत् प्राधिकरणका उच्चपदस्थ अधिकारी, साझा प्रकाशन, विद्युतकर्मी साहित्यिक समाज, विश्व नेपाली वाङ्मय प्रतिष्ठान तथा गुञ्जन नारी साहित्य संस्थाका पदाधिकारी एवं पूर्वपदाधिकारी, साहित्यकार, पत्रकार र साहित्यप्रेमीहरूको सहभागिता थियो।
कार्यक्रमको समापन गर्दै साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक शेखर गिरीले कवि रीता खत्रीका कविताले जीवन्त समस्या उठाउँदै समाजलाई नयाँ दृष्टिकोणबाट सोच्न अग्रसर गराएको बताए।
नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा भएको कार्यक्रमको सञ्चालन विद्युतकर्मी साहित्यिक समाजका सचिव युवराज शर्माले गरेका थिए।
प्रकाशित: ७ भाद्र २०८३ १०:०२ आइतबार





