अग्रज कवि राजेश ढुंगानाको कवितासङ्ग्रह ‘मुटु फलामको भएर’ लोकार्पण भएको छ। नेपालप्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा रोचक घिमिरे, कृष्ण धारावासी, प्राडा लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, कवि ढुंगाना दम्पति लगायतले कृति लोकार्पण गरे।
उक्त कार्यक्रममा तारा सुवेदीले उपस्थित जनलाई शब्द मार्फत स्वागत गरेकी थिइन्।
प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार एवं साहित्यकार रोचक घिमिरेले कृतिकारलाई बधाई दिँदै पुराना दिनहरू स्मरण गरे। उनले भने, 'हराएको कविले फेरि सिर्जना लिएर आएकोमा खुशी छु। उहाँले हिजोको प्रजातान्त्रिक आन्दोलनको पक्षमा समसामयिक विषयमा लेखहरू निरन्तर लेखेर योगदान गर्नुभएको थियो।'
प्राडा गौतमले कवि ढुंगानामा मितव्ययी भाषामा गहिरो कुरा भन्न सक्ने सामर्थ्य भएका कविको रूपमा आफूले पाएको बताए। कवि विन्दास स्वभावका रहेकोमा उनले जोड दिए।
'उहाँको कविता वेदका मन्त्र पढेजस्तै छन्, जसले व्याख्या गर्दैनन्, संकेत मात्र गर्छन्। कविताको मूल स्वर विद्रोह र असन्तुष्टितर्फ सुनिन्छन्। कतै कवि प्रेम बोल्छन्।' प्राडा गौतमले भने।
कोमल र कठोर तत्त्व दुवै उत्तिकै कवितामा पाएको भन्दै उनले भने,'मृत्युचिन्तन, प्रेमचिन्तन, देश चिन्तन, समय चिन्तन र आफैँमाथि चिन्तन गरेर कविता सिर्जना भएका छन्।'
कवितामा सरल बिम्व भैकन पनि गहिरा भाव अभिव्यक्त गर्ने सामर्थ्यका भएकामा प्राडा गौतमले जोड दिए।
साहित्यकार धरावासीले राजेशसँग बिताएका बाल्यदिन समेत स्मरण गरे। उनले भाँचिन तयार हुने तर ननिहुरिने प्रजातान्त्रिक चेत बोकेका कविको रूपमा ढुंगानाको व्यक्तित्वको चर्चा गरे।
धरावासीले भने, 'काठमाडौँको साहित्य र पत्रकारितामा पनि उहाँको भूमिका छ। उहाँ मुक्तक, गीत र कविता सशक्त ढंगले लेख्न सक्ने क्षमतावान् कवि हो।'
कार्यक्रममा समाजका संरक्षक पवन आलोक, कवि पत्नि मीना ढुंगाना समेतले शुभकामना मन्तव्य राखेका थिए।
मधु पाठकको सञ्चालनमा गरेकाे कार्यक्रममा लाेकार्पित कृतिबाट सुधा शर्मा, राजेश खनाल लगायतले कविता वचन गरेका थिए।
नेपाल स्रष्टा समाज केन्द्रीय समितिद्धारा आयोजित कार्यक्रममा सभाध्यक्षको मन्तव्य राख्दै समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले छोटा कवितामा पनि शक्ति हुन्छ भन्ने कुरा राजेशका कविताले पुष्टि गरेको बताए। उनले वर्तमानमा नेपाली साहित्य क्षेत्रमा देखिएका विकृतिप्रति लक्षित गर्दै भने, 'पुरस्कार र सम्मानको नाउँमा अस्वस्थ्य प्रतिष्पर्धा देखिएको छ। यो हुनु राम्रो संकेत होइन्।'
प्रकाशित: ३१ जेष्ठ २०८३ १३:१५ आइतबार





