७ भाद्र २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

हेटाैँडामा कवि तथा समालोचक प्राडा देवी नेपाल

नेपाली भाषा शिक्षक समिति, मकवानपुरकाे आयाेजनामा कवि तथा समालोचक प्राडा देवी नेपालको एकल कविता वाचन भएकाे छ।

मकवानपुर बहुमुखी क्याम्पसमा ‘कवि देवी नेपाल एकल कविता वाचन’ कार्यक्रममा उनले एक दर्जन कविता प्रस्तुत गरेका थिए।

हेटौँडाका अग्रज साहित्यकारहरू, शिक्षक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा कवि नेपालले शब्दचित्रमा म, गुरु, परिवर्तन, अहङ्कारको आयु, आशङ्का, बुद्धको देश, सन्त्रास, छोरीलाई आह्वान, प्रश्न: नयाँ नेपालको, म गिर्न दिन्नँ गौरव, देश हार्दै छ आज र देश चिन्तन शीर्षकका बाह्र कविता वाचन गरेका थिए।

त्यस्तै श्रोताबाट विशेष माग भएपछि अन्त्यमा ‘मलाई सूर्यले लाली छरेको देश चाहिन्छ’ बोलको एउटा गजल पनि प्रस्तुत गरेका थिए। कवि नेपालका कविता वाचनको बिचबिचमा सुनिल गौतम, विधान स्पर्श र स्वस्तिका दाहालले एकएक कविता वाचेर उनलाई साथ दिएका थिए।

उक्त कार्यक्रमको थालनीमा स्रष्टा दीपक गौतमले कवि नेपालको जीवनी, व्यक्तित्व र कृतित्वमा केन्द्रित रहेर परिचयात्मक मन्तव्य राखेका थिए भने वाचित कविताहरूमाथि समीक्षात्मक टिप्पणी गर्दै समालोचक डा. घनश्याम घिमिरेले कवि नेपालका कविता समसामयिक चेतना, भावगत विविधता, विचारगत प्रखरता र कलात्मक उचाइका दृष्टिले उच्च कोटिका रहेका र तिनलाई वाचनले अझै जीवन्त बनाएको प्रतिक्रिया दिएका थिए।

नेपाली भाषा शिक्षक समितिका अध्यक्ष ज्योति न्योपानेको अध्यक्षता र सचिव डी.बी. बर्तौलाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा सामाजिक विषय समिति, मकवानपुरका अध्यक्ष भोगेन्द्र लुइटेलले शुभकामना मन्तव्य राखेका थिए।

उक्त कार्यक्रममा आरसी रिजाल, हयग्रीव आचार्य, तुलसी घिमिरे, जनार्दन खनाल, विष्णुप्रसाद गौतम, केशव सञ्जेल, माधव पोखरेल, डा. अर्पण पराजुली, राजकुमार लामिछाने, डा. विश्वनाथ सञ्जेल, देवराज तिवारी, केशव समर्पण, इन्द्र नेपाल, सन्जित श्रेष्ठ, बबी थापा, हरि पौडेल, सानु खनाल, प्रेम बमजम, कृतिका लौडारी, कोपिल पौडेल, रोज कार्की जस्ता सबै पुस्ताका स्रष्टाहरूको उपस्थिति थियो।

प्रकाशित: ७ भाद्र २०८३ ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App