मडारिएको बादल
मैले माया गरेकी/ मन पराकी
सपनामा मेरी बन्ने
बिपनीमा छिछि र दूरदूर गर्ने
पहिला खै कसले सुरु गर्याे?
म अज्ञान छु
सम्बन्ध राम्रो भयो
पछिपछि पछाडिपछाडि
बिग्रन थाल्यो
खै बिग्रियो पनि के भन्नु?
राम्रै छ, सप्रेकै छ।
आत्मा नजिक छ
सप्रियो पनि के भन्नु?
बिग्रेकै छ।
चुम्बन टाढा भयो
अंकमाल हट्यो
बिग्रियो भनौँ भने मेरै हो जस्तो लाग्छ
सप्रियो भनौँ भने लात्ता हान्ने गाइको जस्तो गर्छ्याै।
सहमतै सहमत; विमति नै विमति
नजिकै नजिक; टाढै टाढा
मेरै जस्तो
अर्कैको जस्तो
सुम्पे जस्तो
टाढिए जस्तो
खै के हो?
नरी हौ कि किन्नरी हौ?
भूत हौ कि देउता हौ?
परमात्मा हौ कि आत्मा हौ?
मेरै भनौ भने छाया जस्तो छुन सक्दिनँ
होइन भनौँ भने पनि छाया जस्तै टाँसिन्छ्याै
कुरा सुन्दा मेरै हौ
व्यवहार हेर्दा कसैको हौ
बुझेर बुझ्न नसकिने
तिमी, भूत हौ कि?
प्रेत हौ कि?
पिशाच हौ कि?
देउता हौ कि?
माया हौ कि?
छाया हौ कि?
संवेग हौ कि?
खै के हौ?
कसरी बुझ्नु?
देवीदेउरालीमा खोज्नु कि?
भिरपाखामा बुझ्नु कि?
त्यसैले म मडारिएको बादल हो
खरी झरेको मादल हो।
प्रकाशित: ३२ असार २०८३ ०७:४१ बिहीबार





