२३ जेष्ठ २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

देखाएर झुठा सपना नेता मात्र मोटाइरहे!

मुक्तक

१) मुक्तक

खेलो फड्को गर्नलाई नै सधैँभरि जुटिरहे

निर्धा गरिब जनताको दिमागलाई भुटिरहे

सीमा अनि सुकुम्बासी भजाएरै पैतिस वर्ष,

हिजो यो देश लुट्नेहरूले गुम्राहमै लुटिरहे।

२) मुक्तक

भ्रष्टाचारी अपराधीहरूको सधैँ मेल भयो

निर्धा जनताहरूमाथि सधैँभरि खेल भयो

देखाएर झुठा सपना नेता मात्र मोटाइरहे,

गरिब र दुःखीमाथि सधैँ जालझेल भयो।

३) मुक्तक

केही समय लाग्छ हजुर धैर्य गर्न सक्नुपर्छ

देशका लागि मर्नै परे हाँस्दै मर्न सक्नुपर्छ

सत्य सधैँ तितो हुन्छ तर वास्तविक हुन्छ,

सत्यमाथि टेकी भवसागर तर्न सक्नुपर्छ।

४) मुक्तक

कमाएको कालो धन कोटीकोटी गुमेपछि

सोच्दासम्म नसोचेको एकैचोटि गुमेपछि

आहुतिमा स्वाहा भन्दै यसो चरु छर्नेलाई,

साँच्चै पीडा भएको छ रोजीरोटी गुमेपछि।

५) मुक्तक

हृदयको ढोका खोली भित्रै पस्छु भन्छे हजुर

पिरतीको न्यानो अँगालोमा कस्छु भन्छे हजुर

जुनीजुनी हजार जुनी जोडिएर मेरै नाममा,

मेरा दुई आँखामा  सधैँभरि बस्छु भन्छे हजुर।

६) मुक्तक

प्रेम भरेर हृदयमा सधैँ अनन्त बन्नु छ हामी

सुवास दिने फूल फुलाइ वसन्त बन्नु छ हामी

राखेर विश्वास, भरोसा गरेर अटल सहकार्य,

यो ब्रह्माण्डभरि अमर र जयन्त बन्नु छ हामी।

७) मुक्तक

बाझो खेतमा सिँचाइ गरी खन्न पाइयोस् सरकार

रित्ता भकारीलाई भरी टन्न पाइयोस् सरकार

मल, बिउ, सिँचाइ, प्रविधिले बनाई हराभरा

किसान हुँ म गर्वका साथ भन्न पाइयोस् सरकार।

८) मुक्तक

अझै रोइलो गरिरहन्छन् जनता ढाँटी लुट्नेहरू

गरिब निमुखाको हरदम गाँस काटी लुट्नेहरू

रोइलो गर्छन् नारा लगाई जिन्दाबाद मुर्दावादको,

भ्रष्टाचारी दलालहरूको तलुवा चाटी लुट्नेहरू।

९) मुक्तक

खनजोत गरी बाली अब छिट्टै लाउन पाए हुन्थ्यो

यसपालिचाहिँ मल बिउ छिट्टै पाउन पाए हुन्थ्यो

बाझो  खेतलाई जोत्दै मनाउँदै  किसान उत्सव,

बेठी लगाई  असारमा  गीत  गाउन पाए हुन्थ्यो।

१०) मुक्तक

नहुन् खेतका गह्रा खाली किसान बन्न पाइयोस्

फलुन्  फलफूलका डाली किसान बन्न पाइयोस्

मल, बिउ अनि सिँचाइको व्यवस्था होस् सरकार,

उब्जाई टन्नै अन्नबाली  किसान बन्न पाइयोस्।

प्रकाशित: २३ जेष्ठ २०८३ १२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App