७ चैत्र २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

एक धुन एक जोडी: युगल सङ्गीतकारको आगमन

सङ्गीत

नेपाली सुगम सङ्गीतमा एकल सङ्गीतकारका रूपमा नातिकाजी श्रेष्ठ र शिवशंकर मानन्धरले एउटा नयाँ परम्परा सुरु गरे - सङ्गीतमा मौलिकता। यी दुई अलग अलग व्यक्तित्व हुन्, जसले फरक धारमा आआफ्नो शैलीको सङ्गीत ल्याए।  

‘नेपाली गीतमा मेलोडी ल्याउने श्रेय नातिकाजीलाई जान्छ,’ शंकर लामिछानेले उहिल्यै भनिसकेका थिए। तर, नातिकाजीको सङ्गीतमा एक प्रकारको नेपाली लोकगीतको आभा पाइन्छ, जसलाई समीक्षकको भाषामा ‘फोक फ्लेबर’ भनिन्छ।  

त्यसैगरी शिवशंकरले नेपाली संगीतमा आफ्नो मौलिकता कायम राख्दै पाश्चात्य छाप पनि भित्र्याए, फिल्म ‘मनको बाँध’को गीत ‘मेरो मुटुको माझमा’ मा।  यिनले क्याब्रे शैलीको गीत ल्याए। तर यी दुईको विशेषता के हो भने यी दुईले संयुक्त रूपमा पनि सङ्गीत गरेका छन्, नातिकाजी–शिवशंकर नामबाट। विशेषतः चलचित्रमा यी दुई सँगै आए। यो परम्परा पछिसम्मै कायम रह्यो, शान्तिदीपसम्म।

नातिकाजी–शिवशंकरजस्तै संयुक्त रूपमा सङ्गीत गर्ने अर्को जोडी हो, प्रेम–माणिक। फरक पारिवारिक पृष्ठभूमिबाट आएका प्रेमध्वज नेवार जातिका प्रधान हुन् भने माणिकरत्न स्थापित हुन् तर दुवै काठमाडौंका रैथाने र संयोगले दुवै गायक पनि।  

प्रेम–माणिकका लोकप्रिय गीतहरूमध्ये प्रेमध्वज प्रधानले गाएको ‘गोरेटो त्यो गाउँको खोजी खोजी थाकेँ म’, सुशीला कंसाकारले गाएको ‘सगरको छातीमा’ आदि हुन्। प्रेम–माणिककै सङ्गीतमा गायक नारायणगोपाल पहिलो पटक रेडियो नेपालमा गाउन पुगेका थिए, स्वर परीक्षामा।

प्रेम–माणिकजस्तै अर्को चर्चित जोडी हो, कर्म–गोपाल योञ्जन। कर्म र गोपाल दुवै तामाङ परिवारका हुन्। नाताले यी दुई दाजुभाइ हुन्, कर्म बडा बाबुका छोरा, गोपाल काकाका छोरा। दुवैका आमा पनि दिदीबहिनी नै हुन्। कर्म योञ्जन र गोपाल योञ्जन मिलेर धेरै कालजयी गीतसङ्गीत गरेका छन्। सबै हिट छन्।

कर्म–गोपालजस्तै त्यही समय अर्को एउटा युगल जोडी सङ्गीतकारका रूपमा आए, प्रसाद–हाडा। भक्तपुरका व्यापारी घरानाका रामप्रसाद श्रेष्ठ र हल–व्यवसायी नगेन्द्र हाडा। दुई मिलेर गीतकार प्रेमविनोद नन्दनको शब्दमा ‘त्यो चन्द्रमुहार’ रेकर्ड गराए।

पछि प्रसाद अर्थात् रामप्रसाद श्रेष्ठ नारायणघाटमा बसाइँ सरेपछि गायनमा स्थानान्तरण भए। नगेन्द्र हाडा एकल सङ्गीतकारका रूपमा सक्रिय रहे। प्रसाद–हाडाले पछि नेपाली कथानक चलचित्र ‘कान्छी’मा निर्माता र गायकका रूपमा कमब्याक गरे। पछि प्रसाद–हाडाले ‘कर्जा’ फिल्ममा सङ्गीतकार युजिन लामासित संयुक्त रूपमा सङ्गीत गरेका छन्, यो विक्रमाब्द २०५० को सन्दर्भ हो।

सङ्गीतमा यस्तो जोडी सफल भएको पाइन्छ तर कुनै कुनै जोडी सफल भएपछि जोडी तोडिएको पनि पाइन्छ। कुनै जोडी भागभूगोल अलग भएपछि छुट्टिएको पनि पाइन्छ। कर्म–गोपालकै समकालीन शरण–रनजित त्यस्तै जोडी हो, एकदम लोकप्रिय।

यो जोडीको पहिलो गीत ‘यहाँ फूल नखिलेछ बहार आउन भुलेछ’ निकै लोकप्रिय भयो। यही गीतमा गायिका अरुणा लामा एउटा प्रतियोगितामा प्रथम भइन्। गीतकार जितेन्द्र बर्देवा यही गीतबाट चर्चित भए।

जितेन्द्र बर्देवा, शरण–रनजित मिलेर ‘सङ्गम’ भन्ने समूह पनि खोले। दार्जिलिङको पृथक् परिवेशमा जन्मे–हुर्केका शरण प्रधान र रनजित गजमेर दुवै वाद्यवादक पनि थिए। शरण मेन्डोलिन बजाउने, रनजित मादल। अवसरको खोजीमा रनजित आफ्ना साथीहरूसित नेपाल आएपछि शरण एक्लै दार्जिलिङमै बसे। बाँकी आठ वर्ष उनले एकल सङ्गीत गरेर बिताए। उनले एकल सङ्गीतकारका रूपमा गरेका सङ्गीत पनि निकै हिट भए– ‘मान्छे सबै एउटै रगतको’, ‘नेपाली गर्व गर्छ आफ्नै पनमा, घमन्ड त होइन है’।अल्पायुमै उनको निधन भयो, २०३१ सालमा।

यसपछि शरण प्रधानको अनुपस्थिति नेपाली सङ्गीतमा सधैं रह्यो। रनजित गजमेर काठमाडौं हुँदै मुम्बई गए, उनी फिल्म सङ्गीतमा अझै सक्रिय छन्। ‘बाँसुरी’, ‘वासुदेव’, ‘चिनो’, ‘साइनो’, ‘सम्झना’, ‘तृष्णा’जस्ता सिनेमामा उनले निरन्तर सङ्गीत दिए।

शरण रनजितजस्तै उनकै समयमा गणेश–रत्न नामको जोडी–सङ्गीतकार पनि निकै चर्चामा आए। यिनले सङ्गीत गरेको एउटा गीत अरुणा लामाको जीवनको यादगार गीत बन्यो– ‘एक्लै बस्दा सधैं मलाई सम्झना तिम्रो आइदिन्छ’।

देव बज्राचार्यको शब्दको यो गीत गणेश–रत्न जोडीको अमर गीत हो। गणेश र रत्न दुवै सङ्गीतका ज्ञाता थिए। रत्नबहादुर खड्गी विक्रमाब्द बिसको दशकमै गायकका रूपमा आइसकेका थिए। उनी २०२३ सालमा रेडियो नेपालमा उत्कृष्ट गायनमा पुरस्कृत भएका थिए भने गणेश परियार आफैं एक कुशल वाद्यवादक थिए। यी दुवैको जोडी लामो समय टिक्न सकेन। रत्नबहादुर खड्गीको विदेश गइरहनुपर्ने कारणले यी दुवै पछि एक्लाएक्लै भए।

शरण–रनजित, कर्म–गोपालजस्तै दार्जिलिङबाट तिसको दशकमा एक जोडी देखा परे, बद्री–दुर्गा खरेल। एकै परिवारमा दाजुभाइका रूपमा जन्मेका बद्री खरेल र दुर्गा खरेल दुवै हिमालय कलामन्दिर, दार्जिलिङका उत्पादन हुन्। दुवैले संयुक्त सङ्गीतमा एकसेएक गीत बनाए। विशेषतः नरदेन रुम्बा, जस योञ्जन प्यासीका गीतमा यी दुईले भव्य सङ्गीत गरे।

‘बोलाऊँ भने तिमीलाई बात लाग्ने डर’ यो जोडीको अति लोकप्रिय गीत हो। यसपछि यो जोडीले ‘बान्की परेकी माया बान्की परेकी’, ‘आऊ बस न नजिकमा’ जस्ता गीतमा धुन भरे। बद्री–दुर्गा खरेलमा दाजु बद्री चाहिँ नाटकमा अभिनय पनि गर्थे। यिनले मनबहादुर मुखियाको लोकप्रिय नाटक ‘अनि देउराली रुन्छ’मा नायक भएर काम गरेका थिए।

यो जोडीको ठुलो सफलता के छ भने कम गीतमा यी दुईले काम गरेका छन् तर सबै गीत सफल भएका छन्, जस्तै, दावा ग्याल्मोको स्वर, नरदेन रुम्बाको शब्दमा रहेको गीत नै लिऊँ–

शुभकामना खाली खाली दिनेलाई दानी भनेर

जाँदै छु आज आँचलभरि पानी भरेर’

यो गीतमा सङ्गीतकारद्वयले गरेको कामलाई अग्रज सङ्गीतकार कर्म योञ्जनले निकै सार्थक मानेका छन्। यो दावा ग्याल्मोलाई विशेष परिचय दिलाउने गीतमध्ये एउटा हो।

बद्री–दुर्गा खरेलजस्तै लोकप्रिय सङ्गीतकारका रूपमा नेपालमा विशेषतः काठमाडौंमा दुई वाद्यवादक शुभ–रोज नामबाट आए– शुभबहादुर सुनाम र रोजकपुर रनपहेंली। यो जोडीको यात्रा एक दर्जन जति गीतपछि सकियो। उच्चकोटिका सैक्सोफोनवादक शुभबहादुर सुनाम एक कुशल सङ्गीत संयोजक पनि थिए। उनले गुलाम अलीले गाएका नेपाली चार गीतको सङ्गीत संयोजन गरेका थिए भने त्यस गीतमा सैक्सोफोन पनि बजाएका थिए।

शुभबहादुर सुनामले पछि अर्का प्रतिभाशाली सङ्गीतकार शम्भुजित बाँस्कोटासित मिलेर शुभ–शम्भुजित नामबाट जोडी बनाए। यो जोडीले नेपाली कथानक चलचित्र ‘के घर के डेरा’मा उत्कृष्ट सङ्गीत प्रस्तुत गरे भने यो जोडीले ओमविक्रम विष्ट, नारायणगोपालका गीतमा संयुक्त संगीत गरेको छ।

शुभ–शम्भुजितको जोडी पनि पछि गएर अलग भयो। शम्भुजितले नेपाली चलचित्र ‘विजय पराजय’मा आगमन गरेपछि सिनेसङ्गीतमा एक छत्र राज गरे भने शुभबहादुर पनि ‘चाहना’, ‘जन्मजन्म’जस्ता फिल्मको सङ्गीतमा आए।

शुभ–शम्भुजितको जोडीभन्दा शम्भुजित बाँस्कोटाको एकल सङ्गीतको व्यापकता भएपछि बाँस्कोटाले आफ्नो गीतमा संयोजनको सहकार्यका निम्ति मात्र शुभबहादुरसित पछि काम गरेको देखिन्छ।

शुभ–शुम्भुजितले गरेका केही यादगार गीतमा– ‘कति अनौठो मानिसको जीवन’, ‘को हो त्यो? कसले मलाई मोहनी लगायो?’, ‘तिमीले भनेका सारा देव छोएर’ आदि हुन्।  

शुभ–शम्भुजितजस्तै जोडी पछि संगीतकार भूपालमान सिंह र दीप तुलाधरले पनि बनाउन खोजे, भूपाल–दीप नामबाट। यो जोडीका गीत सुनिल उप्रेतीले गाएका छन् भने मिलन प्रधानले पनि केही गीतमा स्वर दिएका छन्।

दुई अलग अलग व्यक्तित्व मिलेर सङ्गीत गर्ने यो परम्परा भारतमा विशेषतः हिन्दी फिल्ममा पनि व्यापक छ। हिन्दी फिल्मजगत्मा शङ्कर–जयकिशन,  कल्याणजी–आनन्दजी, लक्ष्मीकान्त–प्यारेलाल, आनन्द–मिलिन्द, जतिन–ललित, सोनिक–ओमी, राम– लक्ष्मण आदि छन्।

नेपालमा पनि नेपाली चलचित्रमा नातिकाजी–शिवशङ्कर ‘मनको बाँध’, ‘शान्तिदीप’, ‘पच्चिस वसन्त’जस्ता चलचित्रमा आएजस्तै शिवशंकर–चन्द्रराज शर्मा ‘कुमारी’मा, नातिकाजी–गोपाल योञ्जन ‘सिन्दूर’मा, शुभ–शम्भुजित ‘के घर के डेरा’मा देखा परे। तर यिनले चलचित्रमा गरेका गीत भाग लगाएर एकेक वटा गीतमा सङ्गीत गर्ने गरेका छन्।

संयुक्त संगीतकारको परम्परा आजकल बिरलै देख्न पाइन्छ तर पनि यसको इतिहास यादगार छ।  

प्रकाशित: १४ भाद्र २०८२ १०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App