२०८३ साल नयाँ वर्षको संघारमा यौटा नयाँ बिहानीको तिर्खा लागिरहेको छ। म सोच्छु भर्खरै पुरानो भएर विदा भएको वर्ष अब विगत बनेको छ। नयाँ वर्ष आगमनले पुराना वर्ष र दिनलाई बिर्साइदिन्छ तर वितेको वर्षबाट सिक्नुपर्ने केही कुरा पनि हुन सक्छन्। सुधार्नुपर्ने, सच्याउनुपर्ने कतिपय कुरा बाँकी रहेका हुन्छन्। त्यसैले वितेको वर्षलाई बिर्सिहाल्न सकिँदैन।
विगतको घाउ र आगतको चाह
भनिन्छ, समय एउटा यस्तो नदीहो जसले आफ्ना किनारमा कतिपय याद पखालेर लैजान्छ त कतिपय ढुङ्गाका अक्षरझैँ कुँदेर छोडिदिन्छ। भर्खरै बिदा भएको २०८२ साल हाम्रा लागि समयको एउटा कालखण्ड मात्र रहेन, यो त एउटा गहिरो घाउ बनेर उभियो। कसरी बिर्सन सकिन्छ र ती दिनहरूलाई, जसले हामीलाई पलपल चोट दियो? जहाँ इमान्दारितालाई खोट देखाइयो र निष्ठालाई दोषको भारी बोकाइयो।
भित्तेपात्रो फेरिँदैमा मनका घाउहरू कहाँ फेरिँदा रहेछन् र? २०८३ सालको ढोका ढकढक्याइरहँदा विगतका ती नमीठा सम्झनाहरू ऐँजेरुझैँ मनमा टाँसिएका छन् तर पनि मान्छे आशाको त्यान्द्रोमा बाँच्ने प्राणी हो। खरानी भइसकेको बस्तीबाट पनि पुनर्जीवनको सपना देख्नु नै हाम्रो नियति र शक्तिदुवै हो।
दम्भको अन्त्य र न्यायको उदय
२०८३ सालअंकको परिवर्तन मात्र नबनोस्। यो वर्ष ती अहङ्कारी आँखाहरूका लागि ऐना बनोस्, जसले विनाशको खरानीमा उभिएर पनिआफ्नो दम्भ त्याग्न सकेनन्। सत्ताको कुर्सीका लागि रगतको खोलो बगाउने र सडकमा अशान्ति मच्चाउने प्रवृत्तिले अब बिदा लिनुपर्छ। हामीलाई त्यस्तो ‘नयाँ नेपाल’ चाहिएको होइन जहाँ जालीझेली र ठगहरूको रजगज होस्। अबको वर्ष तीतमाम फट्याइँहरूको ‘आखिरी अन्त्य’ को वर्ष बनोस्।
नवनिर्माण र निष्ठाको यात्रा
परम्परागत शैलीको जालो र थोत्रो संरचना तोडेर अब देशले नवनिर्माणको यात्रा तय गर्नैपर्छ। नयाँ जनादेश अनुहार फेर्नका लागि मात्र होइन, प्रवृत्ति फेर्नका लागि हुनुपर्छ। २०८३ सालमा नातावाद र कृपावादको अन्त्य होस्, क्षमता हुनेले अवसर पाओस्, पहुँच हुनेले मात्र होइन।
योग्यताको कदर होस्ः खाडीको तातो बालुवामा पसिना बगाउने युवाले आफ्नै माटोमा पौरख देखाउने आधार पाओस्। भ्रष्टाचारको जरो काटियोस्ः भ्रष्टाचारले शिर उठाउन नपाउने गरी विधिको शासन बलियो बनोस्।
जनताको पीडा र राज्यको सम्बोधन
जनताका दुःखका फेहरिस्तहरू लामा छन्। कसैको चुलो निभेको छ, कसैको छानो चुहिएको छ। यी पीडा र चोटहरू केवल तथ्याङ्कमा सीमित नहोउन्। २०८३ सालले ती मौन चित्कारहरूलाई सुन्न सकोस्। स्वच्छ छविको निर्माण, इमानको सम्मान र इज्जतको कदर हुने समाज नै हाम्रो अबको गन्तव्य हुनुपर्छ।
विगतको विद्रूप ऐना
२०८२ साल, तिमी एउटा वर्ष मात्र रहेनाैं - तिमी त उराठ लाग्दो मरुभूमि र दिक्कलाग्दो कोलाहलको एउटा पर्याय बनेर आयौ। इतिहासका पानाहरूमा तिमीलाई एउटा यस्तो दुःखान्त अध्यायका रूपमा सम्झिनेछ, जहाँ मानवताले हारिरह्यो र बारुदले जितिरह्यो। नेपालका डाँडाकाँडा मात्र होइन, तिम्रो कार्यकालमा सारा विश्व नै युद्धको भयले थरथर कामिरह्यो। विनाशका ती आँखाहरूले हेर्दाहेर्दै सुन्दर संरचनाहरूलाई भग्नावशेषमा बदलिदिए, कयौँको सिउँदो पुछियो त कयौँको काख रित्तियो। त्यो ध्वंसको हिसाब कुनै गणितले राख्न सक्दैन।
शक्ति र निर्दयताको चेपुवामा हामी
कति विडम्बनापूर्ण रह्यो यो वर्ष! एकातिर शक्तिशाली राष्ट्रहरूको अहङ्कार र अर्कोतिर हामी जस्ता अल्पविकसित देशहरूको निरीहता। अमेरिका जस्तो शक्ति राष्ट्र र त्यसको नेतृत्वका केही निर्दयी निर्णयले विश्वलाई नै अनिश्चयको खाडलमा जाकिदियो। जब शक्तिमा रहनेहरूले मानवतालाई बिर्सन्छन्, त्यसको मूल्य संसारका गरिब र श्रमजीवीहरूले चुकाउनुपर्ने रहेछ।
हामी त झन् त्यो महँगीको मारमा थिचियौँ र किचियौँ, जहाँ ग्याँस र तेलको हाहाकारले भान्साहरू चिसिए। मूल्यवृद्धिको त्यो डढेलोले आम मान्छेको सपना मात्र होइन, बाँच्ने आधार समेत डढाइदियो। २०८२ साल, तिमीले साना देशहरूलाई सिकाएको पाठ निकै महँगो र पीडादायी रह्यो।
विरोधाभासः बारुदको धुवाँ र अन्तरिक्षको चमक
तर, खुसीको कुरा यही वर्षले एउटा अनौठो विरोधाभास पनि देखाएर गयो। एकातिर धर्तीमा रगतको खोला बगिरहँदा र बमका गोलाहरू बर्सिरहँदा, अर्कोतिर त्यही अमेरिकाले पाँच दशकपछि अन्तरिक्ष यात्रामा अभूतपूर्व सफलता प्राप्त गर्यो। ब्रह्माण्डको त्यो अथाह गहिराइ, ती रहस्यमयी तारापुञ्ज र मानव साहसको त्यो उच्चतम बिन्दु! यो सफलता आफैँमा एउटा रोमाञ्चक र गौरवपूर्ण इतिहास हो।
कस्तो आश्चर्य! एउटै हातले एकातिर विध्वंसको बिउ रोपेर राष्ट्रहरूलाई क्षतविक्षत पारिरहेको छ भने अर्कोतिर विज्ञानको मशाल बालेर अनन्त आकाशको यात्रा गरिरहेको छ। चुनौतीपूर्ण र खर्चिलो भए पनि विज्ञानको यो उपलब्धिले भने हामीलाई केही आशावादी बनाएको छ। धर्तीमा सीमानाहरू कोरेर लडिरहेका मानवहरूका लागि यो अन्तरिक्ष यात्राले सायद बुझाउन खोजिरहेको छ - हाम्रो अस्तित्व यो सानो ग्रहमाकति क्षणभङ्गुर छ भनेर!
अन्ततः २०८२ साल कष्ट र आँसुको एउटा लामो कथा बनेर बिदाभएको छ। यसले हामीलाई सिकाएको छ कि विज्ञानले जतिसुकै प्रगति गरे पनि यदि मान्छेको मनमा दया र विवेक छैन भने त्यो प्रगति केवल ध्वंसको औजार मात्र बन्नेछ। अबको कामना यति मात्र हो -अन्तरिक्षमा पुग्ने ती हातहरूले धर्तीका दीनदुःखीहरूको आँसु पुछ्न पनि सिकुन् र विज्ञानको प्रकाशले युद्धको अन्धकारलाई सधैँका लागि चिर्न सकोस्।
बिदाइ २०८२, तिम्रा कष्टकर यादहरू अब इतिहासको एउटा गहिरो खाडलमा पुरिउन्!
बितेका वर्षहरूले दिएका चोटले हामीलाई थकित बनाएका होलान् तर पराजित भने पक्कै गरेका छैनन्।२०८३ साल एउटा यस्तो ओखती बनोस्, जसले विगतका सबै घाउमा मल्हम लगाओस्। आग्रह र पूर्वाग्रहको पर्खाल ढलोस् र एउटा यस्तो देश बनोस् जहाँ मान्छेले मान्छे हुनुको गौरव महसुस गर्न पाओस्।
नयाँ वर्ष २०८३ सालको यही हार्दिक शुभेच्छा - शुभकामना!
प्रकाशित: २ वैशाख २०८३ १२:०४ बुधबार





