२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

केही गुनासो छैन चटक्क छोडी जानेहरूसँग!

मुक्तक

१) मुक्तक

केही गुनासो छैन चटक्क छोडी जानेहरूसँग

धेरै रुनु छैन सुटुक्क मन चोरी लानेहरूसँग

पवित्र दिललाई सकभर आफैंसँग बसाउनु छ

मिल्नु छ मैले सबैलाई बाँडेर खानेहरूसँग।

२) मुक्तक

आमा महँगो त्यो सुन लाउनै नपरोस् 

विलासिताको जीवन पाउनै नपरोस् 

आकाशिएको भाउ छ बजारमा हजार दाउ छ

जीवन सकिने बजार धाउनै नपरोस्।

३) मुक्तक

पुरानो त्यो शिक्षा ऐन खारेज अब गर्नुपर्छ

प्रविधिको परिवेश अब हामी सर्नुपर्छ

ऋतुसँगै रुखले पनि पात फेर्ने गर्छन्

नयाँनयाँ पालुवासँगै हरियाली भर्नुपर्छ।

४) मुक्तक

आँखालाई गाजलले सजाउँदै ओठभरि लाली लायौ

मनभरिको चोखो प्यार दिई मलाई मोहनी छायौ

हरपलको झल्कोहरूमा तिमी अगाडि देखिन्छौ

सम्झनाको तरेलीहरूमा कोमल यो मुटु तिम्ले पायौ।

५) मुक्तक

यात्रा अगाडि बढेर नै बाटोका नदीहरू तर्ने गर्छ

सुन्दर सपना देखेर नै अमर विपना झर्ने गर्छ

अधुरै छोड्नु हुन्न देखेका ती सपनाहरू

आफू जति चम्किलो छ त्यति नै दिव्य ज्योति छर्ने गर्छ।

प्रकाशित: २५ वैशाख २०८३ ०९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App