घण्टाघरको स्मार्ट घडीले यस पटक पनि धर्म छोडेन। चैत लाग्नासाथ नै उसले जानकारी दियो, ‘नयाँ वर्ष आउँदैछ। नयाँ जीवन सुरु हुन्छ!’
”मान्छेहरू घडीको आवाज सुनेर उफ्रिँदै आफ्नो वाचा सुनाउँथे, “अबदेखि म बिहानै उठ्छु, हिँडछु, दैनिक योगा गर्छु, मोबाइल धेरै चलाउन्न, झुट बोल्दिनँ, रिसाउँदिनँ!”
धेरैले सुखशान्ति, समृद्धि, आरोग्यको स्टाटस साटासाट गरे पनि। बुद्धिमान् प्राणीहरूले समयको पालना गरेको देखेर घडी मुसुक्क मुस्कुरायो।
केही दिनमै घडी दुःखित देखियो किनकि मान्छेहरू बिहानै उठ्न, हिँड्न छोडिसकेका थिए, योगा गर्नेहरू केक काट्दै थिए। ‘झुट नबोल्ने’ ले फोनमा “म बाटोमा छु” भनिरहेको थियो। एकदिन घडी मान्छेसित झोक्कियो, “तिमीहरू नयाँ वर्ष किन मनाउँछौ?”
“पुरानो गल्ती बिर्सन।”
घडीले फेरि सोध्यो, “गल्ती बिर्सन समय चाहिन्छ कि व्यवहार बदल्न?” मान्छे निःशब्द रह्यो र मोबाइलतिरै हेरिरह्यो।
अर्को वर्ष फेरि मान्छेहरूले संकल्प गर्न थाले। फेरि पहिलेकै झैं भटाभट पोस्ट गरे। यसपटक समय बदलिदिने घडीले बडो दुःखका साथ भन्यो, “हे मनुष्यहरू! अब तिमीहरू आफूलाई बदल्ने नाटक नगर।”
प्रकाशित: २ वैशाख २०८३ १०:०३ बुधबार





