३ वैशाख २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

नेपाल र भारतका प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

नइ एकेडेमीद्वारा काठमाडौँमा आयोजित तीनदिने ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ सम्पन्न भएको छ। सम्मेलनको समापन समारोहमा नेपाल र भारतका विभिन्न प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गरिएको छ।

नइ एकेडेमीकी कुलपति इन्दिरा प्रसाईंले समालोचक प्राडा वासुदेव त्रिपाठीलाई ‘नइ प्रज्ञा पुरस्कार’ तथा ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’ प्रदान गरिन्। त्यसपछि त्रिपाठीले नेपाल र भारतका २६ जना प्राज्ञलाई सोही पुरस्कार र पदकबाट सम्मानित गरे।

नेपाली भाषा–साहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक प्रवर्द्धनमा योगदान पुर्‍याउनुका साथै सम्मेलनको स्तर उकास्न भूमिका खेलेबापत उनीहरूलाई सम्मान गरिएको हो। प्रत्येक पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ।

पुरस्कृत हुनेहरूमा ऋषिराम शर्मा, कपिलदेव लामिछाने, कविता लामा, केशव सुवेदी, कृष्णराज घतानी, खेमराज जोशी (मरणोपरान्त), चक्रपाणि खनाल, चूडामणि बन्धु, जङ्गब चौहान, टेकबहादुर छेत्री, दयाराम श्रेष्ठ, दिवाकर प्रधान, दैवकीदेवी तिम्सिना, पुष्प शर्मा, भरतकुमार भट्टराई, महादेव अवस्थी, रजनी काफ्ले ढकाल, राजकुमार क्षत्री, लक्ष्मणप्रसाद गौतम, लेखप्रसाद निरौला, शिवगोपाल रिसाल, साधना पन्त ‘प्रतीक्षा’, हर्कबहादुर शाही तथा संयुक्त रूपमा सञ्जय राई र अरुणा राई रहेका छन्।

यसै समारोहमा अम्बिका अर्याल र त्रिभुवन बरईंलाई जनही २५ हजार रुपैयाँ राशिको ‘नइ कपिल प्रज्ञा पुरस्कार’ प्रदान गरिएको थियो।

त्यसैगरी, ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ शीर्षकको ग्रन्थ तथा अन्य सामग्रीको सम्पादन कार्यमा योगदान पुर्‍याएबापत आयुष्मान शाक्य, लवप्रसाद भण्डारी र सुमन कार्कीलाई जनही १० हजार रुपैयाँसहित ‘नइ सेवा पुरस्कार’ प्रदान गरिएको छ।

कुलपति प्रसाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा समालोचक वासुदेव त्रिपाठीसहित नेपाली भाषासाहित्यमा विद्यावारिधि गरेका २४ जना प्राध्यापक सहभागी थिए। सम्मेलनका संयोजक महादेव अवस्थी र सदस्य–सचिव नरेन्द्रराज प्रसाईंले सम्मेलनका उपलब्धिबारे प्रकाश पारे।

प्रकाशित: २९ चैत्र २०८२ २०:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App