नेपाली संगीतको चर्चित ब्यान्ड नेपथ्य दशैंमा दुबई गुञ्जिने भएको छ। नेपथ्यले आगामी अक्टोबर ४ मा दुबईमा विशेष लाइभ कन्सर्ट गर्ने भएको हो।
यसअघि नेपथ्यले कोरियामा सांगीतिक प्रस्तुति दिएका थिए। यो नेपथ्यको दुबईमा चौथो कन्सर्ट हुनेछ।
अब ‘नेपथ्य दुबई–लाइभ इन कन्सर्ट २०२६’ नामक सांगीतिक कन्सर्ट अगामी असोज १८ गते दुबईको ‘इन्टरनेट सिटी’स्थित ‘दि अजेन्डा’ हलमा प्रस्तुति दिने आयोजकले जनाएको छ।
कन्सर्ट अमेरिका तथा दुबईमा लामो समयदेखि व्यवसाय गर्दै आइरहेको इजी ग्रुप अफ कम्पनिजको आयोजना, गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसी युएई, नेपाली समाज युएईलगायत नेपाली समाजमा आबद्ध विभिन्न संघसंस्थाको सहकार्यमा हुने भएको हो।
कन्सर्ट आइतबार साँझ ६ बजेदेखि सुरु हुनेछ भने दर्शकका लागि गेट साँझ ४ बजे खुला गरिने आयोजकले जनाएको छ।
उक्त कन्सर्टमार्फत हुने मुनाफाको २० प्रतिशत भोटेकोशीमा आएको बाढीका कारण अनाथ भएका बालबालिका पढाउने तथा एकल महिलाको संरक्षणमा खर्च गरिने इजी ग्रुप अफ कम्पनिजका एमडी अनिल लामिछानेले जानकारी दिए।
यसपटकको नेपथ्य लाइभ संगीतप्रेमीहरूको मनोरञ्जनका साथै संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको आयोजकको भनाइ छ।
प्रकाशित: १४ आश्विन २०८३ १२:३६ बुधबार


-600x400.jpg)


