दक्षिण कोरियाको विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ३०औँ संस्करणमा नेपाली लघु चलचित्र ‘रिहाना’ ले आफ्नो वर्ल्ड प्रिमियर गर्ने भएको छ। यो वर्षको प्रतिष्ठित फिल्म महोत्सवमा रिहाना एकमात्र नेपाली प्रतिनिधित्व हो।
फेस्टिभलले जारी गरेको सूचना अनुसार चलचित्रको विशेष प्रदर्शन असोज ५ र ६ गते हुनेछ। यो पटक महोत्सवका लागि तीन हजार ५९ वटा चलचित्र प्राप्त भएको छ। जसमध्ये उत्कृष्ट १० मा रिहाना परेको छ।
फिल्म निर्माता केदार भुसालका अनुसार यो उपलब्धिले नेपाली कथालाई विश्वसामु पुर्याउने प्रयासलाई निरन्तरता दिनेछ। उनले भने, ‘नेपालका फरक फरक कथाहरूलाई फरक विधामा प्रस्तुत गर्दै विश्वभर पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ। रिहानाको बुसान छनोटले मलाई अझ ठूलो हौसला र प्रेरणा दिएको छ।’
ए दुम्सी प्रोडक्सन हाउसले यो चलचित्रको निर्माण गरेको हो। जसमा मिराज मोशन पिक्चर्स, अन्डरग्राउन्ड टकिज र पिक्चर फेमको सहकार्य रहेको छ। चलचित्र लेखन र निर्देशन सुरज पौडेलले गरेका छन्। चलचित्रमा पृथु भट्ट र सृजना अधिकारीको मुख्य भूमिका छ। चलचित्र निर्माणकर्ता उज्ज्वल बस्ताकोटी, अभिनाश विक्रम शाह र केदार भुसालले मिलेर निर्माण गरेका छन् र रोशनी अधिकारी कार्यकारी निर्माताको रूपमा रहेकी छन्।
शिशिर विशंखेले छायाङ्कन गरेको चलचित्र गौरव कुमारले सम्पादन गरेका छन्। कास्टिङ निर्देशन मदन श्रेष्ठले गरेका छन्। यसको साउन्ड डिजाइन र मिक्सिङको काम डिकेश खड्की शाहीले गरेका छन्, र रामलाल खड्का प्रोडक्सन डिजाइनरको रूपमा रहेका छन्।
फिल्मको सहलेखक शैलेश आरसीले गरेका छन्।
बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल विश्वकै प्रतिष्ठित महोत्सवमध्ये एक मानिन्छ। एसियाली सिनेमालाई विश्वसामु चिनाउने प्रमुख मञ्चको रूपमा यसले नाम कमाएको छ। नयाँ निर्देशक र फरक कथा शैलीका कारण यसलाई प्रोत्साहन गर्ने उद्देश्यले यसलाई ‘एसियाको क्यान्स’ पनि भनिन्छ। यसकारण महोत्सवमा छनोट हुने निर्माताका लागि ठूलो उपलब्धि मानिन्छ। यसको यो सफलताले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा मजबुत उपस्थितिको अपेक्षा गरिएको छ।
प्रकाशित: १६ भाद्र २०८२ ११:५७ सोमबार





