२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

नेपाली लोक-रक ब्यान्ड नेपथ्यकाे गान्तोकमा सांगीतिक प्रस्तुति

नेपाली लोक–रक ब्यान्ड नेपथ्यले पहिलोपटक भारतको सिक्किमस्थित गान्तोकमा सांगीतिक प्रस्तुति दिने भएको छ। आगामी ३१ अक्टोबर २०२६ मा गान्तोकको पाल्जोर स्टेडियममा ‘नेपथ्य लाइभ इन सिक्किम–लेट्स गेट लाउडः सेलिब्रेट सिक्किम’मा नेपथ्यले आफूलाई प्रस्तुत गर्न लगेको हो।

पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क) को प्रस्तुतिमा र नेपालयको निर्माणमा हुन लागेको कन्सर्टलाई संगीत, संस्कृति र पर्यटनलाई जोड्ने उत्सवका रूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

‘रेशम’, ‘तालको पानी’, ‘भेडाको ऊन जस्तो’, ‘जोमसोमै बजारमा’ र ‘यो जिन्दगानी’ लगायतका गीतमार्फत विभिन्न पुस्ताका नेपालीभाषी श्रोतामाझ लोकप्रिय नेपथ्यको यो गान्तोकमा पहिलो प्रस्तुति हुनेछ।

कार्यक्रममा सिक्किमसँगै भारतको उत्तरपूर्वी क्षेत्र, भारतका विभिन्न भाग, भुटान र नेपालबाट समेत दर्शक सहभागी हुने आयोजकको भनाई छ। दसैं–तिहारको चाडपर्वको बीचमा आयोजना हुने भएकाले कार्यक्रमले साथीभाइ, परिवार र संगीतप्रेमीलाई कन्सर्टसँगै गान्तोक र सिक्किमको संस्कृति, प्राकृतिक सौन्दर्य तथा पर्यटन अनुभव गर्ने अवसर प्रदान गर्ने आयोजकको दाबी छ।

पीभीई नेटवर्कका संस्थापक निर्देशक बिकेश कायस्थले ‘लेट्स गेट लाउडः सेलिब्रेट सिक्किम’को उद्देश्य सांगीतिक कार्यक्रम मात्र नभई संगीतलाई माध्यम बनाएर सिक्किमका मानिस, संस्कृति, सम्पदा, प्राकृतिक सौन्दर्य र आतिथ्यलाई प्रवर्द्धन गर्दै राज्यलाई सांस्कृतिक तथा सांगीतिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने हो।

‘यो कन्सर्ट मात्र होइन, संगीतमार्फत सिक्किमलाई उत्सवका रूपमा प्रस्तुत गर्ने हाम्रो प्रयास हो,’ कायस्थले भने, ‘नेपाल, भुटान, भारतको उत्तरपूर्वी क्षेत्र र भारतका विभिन्न भागबाट दर्शक गान्तोक आऊन्, नेपथ्यको संगीतसँगै सिक्किमको संस्कृति, मानिस र पर्यटनलाई अनुभव गरून् भन्ने हाम्रो चाहना हो।’

उनका अनुसार ‘सेलिब्रेट सिक्किम’मार्फत सिक्किमलाई सांस्कृतिक तथा सांगीतिक पर्यटन गन्तव्यका रूपमा अघि बढाउने दीर्घकालीन सोचसमेत राखिएको छ।

पीभीई नेटवर्कले सन् २०२५ मा सज्जनराज वैद्यको प्रस्तुतिसहित ‘लेट्स गेट लाउड सिक्किम’ आयोजना गरेको थियो। आयोजकका अनुसार उक्त कार्यक्रममा पाँच हजारभन्दा बढी दर्शक सहभागी भएका थिए। तीमध्ये दुई हजारभन्दा बढी सिक्किम बाहिरबाट कार्यक्रमका लागि आएका थिए।

बाहिरबाट आएका दर्शकको आवास, होटल तथा रेस्टुरेन्ट, यातायात, स्थानीय किनमेल, सेवा तथा अन्य खर्चका कारण उक्त कार्यक्रमले सिक्किमको स्थानीय बजारमा तीन करोड भारतीय रुपैयाँभन्दा बढीको आर्थिक गतिविधि सिर्जना गरेको पीभीई नेटवर्कले जनाएको छ।

प्रकाशित: २९ श्रावण २०८३ ११:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App