२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

विदेशीभन्दा नेपाली फिल्मका दर्शक धेरै, कमाइ कम

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको २०८२ को वार्षिक समीक्षाअनुसार यस वर्ष नेपाली चलचित्र उद्योग विस्तारोन्मुख देखिएको छ। 

सोमबार जारी भएको सो समीक्षाले बोर्डमा २३० वटा चलचित्र दर्ता भएका छन् भने ९४ वटाले सेन्सर सिफारिस प्राप्त गरेका छन्। बोर्डको तथ्यांकअनुसार यस वर्ष ५६ वटा नेपाली र ९३ वटा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनमा आएका छन्। 

यसैगरी, देशभर ८ वटा नयाँ सिनेमा हल थपिएसँगै हाल सञ्चालनमा रहेका कुल हलको संख्या १७२ पुगेको छ। वितरण क्षेत्रमा पनि उत्साह देखिएको छ, जहाँ ९ नयाँ वितरक दर्ता भएसँगै कुल संख्या ४४ पुगेको छ।

बोर्डका अनुसार व्यापारिक हिसाबले नेपाली चलचित्रले एक अर्ब ८ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। ३७ लाख ८१ हजारभन्दा बढी दर्शकले स्वदेशी फिल्म हेरेका छन्। 

अर्कोतर्फ, अन्तर्राष्ट्रिय चलचित्रले एक अर्ब ११ करोड ५२ लाख रुपैयाँको व्यापार गरे पनि दर्शक संख्या भने ३३ लाख २२ हजारको हाराहारीमा सीमित भएको छ। यस वर्ष विदेशी चलचित्रको तुलनामा नेपाली चलचित्र हेर्न चार लाख ५८ हजार ७ सय ७८ जना बढी दर्शक हलसम्म पुगेको देखिएको छ।

प्रकाशित: २४ चैत्र २०८२ १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App