२३ माघ २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

नेपाल आइन् ‘मिस ग्लोब २०२५’ की विजेता सरादत्त

‘द मिस ग्लोब २०२५’ की विजेता छायाथानुस सरादत्त नेपाल आएकी छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आइपुगेकी हुन्।

सरादत्तलाई स्वागत गर्न मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डा. सन्तोष उपाध्यायसहित मिस ग्लोब नेपालका विजेताहरू विमानस्थल पुगेका थिए। उनीसँगै मिस ग्लोबका अन्तर्राष्ट्रिय आयोजक फ्याकी बोजो पनि नेपाल आएका छन्। मिस ग्लोबको उपाधि जितेपछि सरादत्तको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो।

पहिलोपटक नेपाल आउन पाउँदा आफू निकै खुसी भएको बताउँदै सरादत्तले नेपालका हिमालप्रति विशेष आकर्षण रहेको उल्लेख गरिन्।

उनले भनिन्, ‘पहिलोपटक नेपाल आएकोमा निकै खुसी लाग्यो। यहाँका माउन्टेनबारे धेरै सुनेकी छु, म पहाड र हिमालतिर घुम्न चाहन्छु।’

सन् २०२५ मा अल्बानियामा सम्पन्न मिस ग्लोबको फिनालेमा सरादत्तले थाइल्यान्डको प्रतिनिधित्व गर्दै ताज पहिरिएकी थिइन्। ८० भन्दा बढी देशको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपालबाट रिजु भट्टराईले प्रतिनिधित्व गरेकी थिइन्।

डा. सन्तोष उपाध्यायका अनुसार सरादत्त र उनको टोलीको नेपाल बसाइँ पाँच दिनको हुनेछ। यस अवधिमा उनीहरूले काठमाडौंसहित आसपासका पर्यटकीय गन्तव्यहरूको भ्रमण गर्नेछन्। साथै औपचारिक भेटघाटका कार्यक्रमसँगै विद्यार्थीहरूसँग अन्तरक्रिया गर्ने तालिका पनि तय गरिएको छ।

औपचारिक भेटघाट अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा सम्भव भए प्रधानमन्त्रीसँग पनि भेट गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन्। त्यस्तै उनी इस्ट एसियन मेडिकल स्टुडेन्ट्स कन्फ्रेन्समा विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछिन्।

गत वर्ष पनि मिस ग्लोबकी विजेता डायना मोरेनो नेपाल आएकी थिइन्। उनले मिस नेसनल नेपालको अडिसनमा निर्णायकको भूमिकासमेत निर्वाह गरेकी थिइन्। यसैबीच मिस नेसनल नेपालको यस वर्षको आवेदन प्रक्रिया खुलिसकेको छ, जसका लागि खल्ती मार्फत आवेदन दिन सकिनेछ।

प्रकाशित: ३० पुस २०८२ १०:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App