१७ आश्विन २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

नेपालको पहिलो चलचित्र ‘आमा’ हेर्नुहोस् युट्युबमै

नेपाली चलचित्र क्षेत्रको ऐतिहासिक कोसेढुङ्गा मानिने पहिलो कथानक चलचित्र ‘आमा’ युट्युबमा सार्वजनिक गरिएको छ।

दोस्रो राष्ट्रिय चलचित्र दिवसको अवसर पारेर चलचित्र विकास बोर्डले शुक्रबार आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत यस ऐतिहासिक चलचित्र सार्वजनिक गरेको हो।

नयाँ पुस्ताका चलचित्रप्रेमी तथा अध्येताहरूलाई सहज रूपमा हेर्न र अध्ययन गर्न मिल्ने उद्देश्यले बोर्डले वर्षौँदेखि सुरक्षित राखेको पुरानो प्रविधिको यो चलचित्रलाई डिजिटल प्लेटफर्ममा ल्याएको जनाएको छ।

विसं. २०२१ (सन् १९६४) मा निर्माण प्रारम्भ गरिएको यस चलचित्रलाई नेपाली सिनेमाको आधारस्तम्भ मानिन्छ। यस अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले शुभकामना सन्देश जारी गर्दै नेपाली चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन तथा व्यवस्थापनका निम्ति नीतिगत र कानुनी सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

तत्कालीन पञ्चायती व्यवस्थालाई समर्थन गर्ने उद्देश्यसहित ‘शाही नेपाल चलचित्र संस्थान’ तथा तत्कालीन श्री ५ को सरकारको सूचना विभागको पहलमा यो चलचित्र निर्माण भएको थियो।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वि.सं. २०८२ मा चलचित्र ‘आमा’ सार्वजनिक प्रदर्शनमा आएको दिन असोज १५ गतेलाई राष्ट्रिय चलचित्र दिवसका रूपमा घोषणा गरेको थियो।

हिरासिंह खत्रीको निर्देशनमा तयार भएको यस चलचित्रमा भुवन चन्द, शिवशंकर मानन्धर, हरिप्रसाद रिमाल, बसुन्धरा भुसाल, चैत्यदेवी, उत्तम नेपाली, इन्द्रलाल श्रेष्ठ, दुर्गाप्रसाद श्रेष्ठ, भीम गुरुङ, यदुकुमारी तथा स्वयं निर्देशक खत्रीको अभिनय रहेको छ।

प्रकाशित: १७ आश्विन २०८३ १४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App