नेपाल प्रज्ञाप्रतिष्ठानले हरेक वर्ष भाषा,साहित्य,संस्कृति, दर्शनशास्त्र र सामाजिकशास्त्र विधाका विभिन्न प्रज्ञा पुरस्कारहरू-२०८२ घोषणा गरेको छ।
नेपाल प्रज्ञाप्रतिष्ठानले यसपटकदेखि प्रज्ञा प्रादेशिक पुरस्कार समेत प्रारम्भ गरेको छ।
नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले जारी गरेकाे विज्ञप्तिअनुसार जनही एक लाख रूपैयाँ नगद राशि रहेको प्रज्ञा पुरस्कार १२ जनालाई दिइने भएको छ। जसमा समालोचनातर्फ प्राडा अभि सुवेदी, भाषातर्फ प्रा. मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा. डम्बर चेम्जोङ, पद्य साहित्यतर्फ शैलेन्द्र साकार, संस्कृतितर्फ प्राडा सोमप्रसाद खतिवडा, बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग, गद्यसाहित्यतर्फ आहुति, दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, अनुवादतर्फ डा. सर्वोत्तम श्रेष्ठ, अन्तर्देशीयतर्फ नरेश काङमाङ राई (बेलायत), मातृभाषा (हिमाली पहाडी) तर्फ
बुद्ध योञ्जन र मातृभाषा (मधेश तराई) तर्फ अमरेन्द्रकुमार यादवलाई प्रज्ञा पुरस्कार-२०८२ प्रदान गरिने भएको छ।

यसैगरी जनही नगद ५० हजार रुपैयाँको प्रज्ञा प्रादेशिक पुरस्कार नेपाल प्रज्ञाप्रतिष्ठानले पहिलो पटक ७ जनालाई दिने भएको छ। जसमा कोसी/१ नम्बरतर्फ मलिसा याक्थुम्बा लिम्बु (महेन्द्रकुमार नेम्बाङ), मधेस प्रदेशतर्फ मुना चौधरी, बागमती प्रदेशतर्फ शान्ति प्रिय वन्दना, गण्डकी प्रदेशतर्फ अनिल श्रेष्ठ, लुम्बिनी प्रदेशतर्फ क्षितिज मगर, कर्णाली प्रदेशतर्फ रमानन्द आचार्य, सुदूरपश्चिम प्रदेशतर्फ कर्ण दयाल 'सोडारी’ लाई प्राज्ञ प्रादेशिक पुरस्कार प्रदान गरिने भएको छ।
प्राज्ञ चेतनाथ धमलाकाे अनुसार उक्त प्रज्ञा पुरस्कारहरू २०८३ साल वैशाख १७ गते बिहीवार नेपाल प्रज्ञाप्रतिष्ठानको सिद्धिचरण सभाकक्ष, कमलादी, काठमाडौँमा कार्यक्रम आयोजना गरी प्रदान गरिने भएको छ।
प्रकाशित: ११ वैशाख २०८३ १०:४७ शुक्रबार





