युवा पुस्ताको रोजाइका कवि तथा साहित्य सर्जक नवराज पराजुलीको उपस्थितिमा असोज २५ गते शनिबार ताप्लेजुङमा ‘कविता कन्सर्ट’ हुने भएको छ।
बाल मन्दिर आधारभूत विद्यालय अन्तर्गत रहेको अपाङ्ग बाल आवास गृहमा रहेका बालबालिका तथा नेपाल नेत्रहिन संघमा आबद्ध व्यत्तित्वहरूको सहयोगका लागि ‘कविता कन्सर्ट’ आयोजना गरिएको यसको संयोजन गरिरहेका सागर मादेनले जानकारी दिए। मादेन लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष समेत हुन्।
उनका अनुसार ‘शब्दले हृ्दय जोड्ने’ असल मनशायका साथ होटल जन्नु इनको सभाहलमा कविता कन्सर्ट हुने छ। जनही २ सय रुपैयाँ बराबर टिकट दर कायम गरिएको मादेनले जानकारी दिए। यसअघि असोज ६ गतेका लागि तय गरिएको उक्त कार्यक्रम देशको पछिल्लो अवस्था संगै स्थगित गरी असोज २५ गतेका लागि निर्धारण भएको आयोजकले जानकारी दिएका छन्।
साहित्यकार पराजुली कविता लेखन र बाचन शैलीका कारण प्रख्यात छन्। ‘सगरमाथाको गहिराई’ नामको पराजुलीको पुस्तक पद्मश्री पुरस्कारबाट पुरस्कृत भएको छ। पराजुलीका अधिकाँस कविता निजी जीवनमा आधारित भएर कोरिएको भेटिन्छ। अंग्रेजी साहित्यमा स्नातकोत्तर पराजुली युवा पुस्ता माझ पनि उत्तिकै रोजाइको केन्द्रमा छन्।
कविताका बारेमा कम मात्र चासो राख्नेहरूलाई पनि पराजुलीको कविता लेखन र बाचन शैलीले मोहित बनाउने गरेको पाइन्छ। ताप्लेजुङ आउन लागेका उनले आयोजकले भनेजस्तै परोपकारी काममा सहयोग गर्ने उद्देश्यसहित आफूले असोज २५ गते शनिबारको समय ताप्लेजुङका लागि समर्पण गरेको बताए।
प्रकाशित: १४ आश्विन २०८२ १४:२३ मंगलबार





