२५ श्रावण २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

‘मेरो आफ्नै संसार’ सार्वजनिक

नेपाली साङ्गीतिक क्षेत्रमा नयाँ भाव र सामाजिक सन्देश बोकेको गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक भएको छ।

गीतकार शंकर पाण्डे मुक्तिको उक्त गीत बिहीबार मानव सेवा आश्रममा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरिएको हो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

लाेकप्रिय गायक प्रमोद खरेलले सुमधुर स्वरमार्फत गीतलाई जीवन्तता तुल्याएका छन्। गीतले जीवन, परिवार, सम्बन्ध र आफ्नोपनको भाव संवेदनशील ढंगले प्रस्तुत गरेको छ।

कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले सङ्गीत भरेको गीतमा आधुनिक सङ्गीत र भावनात्मक शब्दसंयोजनले दर्शक तथा श्रोताको मन छुने विश्वास गरिएको छ।

सार्वजनिक गीतको भिडियो निर्देशक माधवराज खरेलले तयार गरेका हुन्। भिडियोले कलात्मक रूपमा पारिवारिक सम्बन्ध, संघर्ष र जीवनका विभिन्न आयाम प्रस्तुत गरेको छ।

भिडियोमा कलाकारहरू दीपेन्द्र सोनम, समिया कार्की, ज्योत्स्ना घिमिरे, रश्मि भट्ट, वसन्तराज रिजाल लगायतको अभिनय छ। साथै बालकलाकारमा आरुश पाण्डे, समाज पाण्डे, मीरु पराजुली, अमानी पाण्डे र आर्जन पाण्डेको अभिनयले भिडियो अझ जीवन्त बनेको छ।

भिडियोको छायांकन अजय रेग्मी र सम्पादन विनोद बमले गरेका हुन्। सरिता मगरको श्रृङ्गारले कलाकारहरूलाई आकर्षक रूपमा प्रस्तुत गरेको छ।

भिडियोमा प्रयोग गरिएको दृश्य संयोजन, अभिनय र कथावस्तुले दर्शकलाई भावुक बनाउने क्षमता राख्ने कार्यक्रममा सहभागीहरूले प्रतिक्रिया दिएका थिए।

कार्यक्रममा बोल्दै गीतकार  ‘मुक्ति’ ले गीत मनोरञ्जनका लागि मात्र नभई समाजप्रतिको उत्तरदायित्वबोधका साथ तयार गरिएको बताए। उनले भिडियोबाट प्राप्त आम्दानीको केही हिस्सा समाजसेवामा खर्च गरिने घोषणा गर्दै कला र मानवीय सेवाको सम्बन्ध अझ मजबुत बनाउन चाहेको बताए।

गीतबारे कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, निर्देशक माधव खरेल र प्रा. ध्रुव पौडेल लगायतले मन्तव्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा उपस्थित अतिथिहरूले गीत तथा भिडियोको प्रशंसा गर्दै यसले नेपाली सङ्गीत क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, नेपाल चलचित्र कलाकार संघका सदस्य तथा अभिनेता श्रीदेव भट्टराई, गीता अधिकारी, श्वस्तीका पन्थी, विश्व देवकोटा, जितेन्द्रकुमार श्रेष्ठ, डोल्पा शेर्पा र ओएसआर डिजिटलकाका ओम अग्रवाल लगायतको आतिथ्य थियो।

कार्यक्रममा गीत तथा भिडियो निर्माणमा सहयाेग गर्ने व्यक्तित्वहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। सामाजिक उत्तरदायित्व, पारिवारिक भावनात्मकता र सांगीतिक मिठासको संयोजन बनेको ‘मेरो आफ्नै सन्सार’ ले नेपाली संगीतप्रेमीमाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित: १४ जेष्ठ २०८३ १३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App