आमा...‘बोल्न सकिनन् तर आमाका आँखाले प्रश्न सोधिरहे– मेरो उमेर बढ्यो भनेर उपचार गर्ने अधिकार पनि सकियो र ?’
आज मेरो मन अत्यन्तै भारी भइरहेको छ। धेरै कुरा गरेर मन हल्का बनाउन खोजेँ तर घुमिफिरी अन्तरमनलाई दिउँसोको दृश्यले यति गहिरोसँग छोएको रहेछ कि कार्यालय आएपछि पनि मन शान्त हुन सकेन।
मैले आमा गुमाएको पनि धेरै वर्ष भइसक्यो अनि म आफैं आमा भएको पनि त धेरै वर्ष भइसक्यो। आफूसँग आमा नहुँदाको त्यो पीडा, त्यो छटपटाहट मैले अनुभूत गरेको छु। आमाको माया, विश्वास, न्यानो काख अनि साथ एकचोटि गुमाइसकेपछि न धर्ती फोडेर ल्याउन सकिन्छ, न आकाश चिरेर नै पाउन सकिन्छ। त्यसैले सबैकी आमा बिरामी हुँदा म साह्रै छटपटिन्छु।
आमा केवल जन्म दिने व्यक्ति होइनन्, उनी त हाम्रो अस्तित्वको पहिलो पाइला, जीवनको पहिलो दर्शन र प्रेमको सबैभन्दा शुद्ध परिभाषा हुन्। संसारका सबै सम्बन्ध समयसँगै बदलिन सक्छन् तर आमाको माया कहिल्यै परिवर्तन हुँदैन। आमा रहँदासम्म हामीले उनको उपस्थितिलाई सामान्य ठान्न सक्छौं तर उनको अभावले मात्र थाहा हुन्छ– घरको एउटा कुनो होइन, पूरै जीवन नै रित्तिएको रहेछ। मृत्युले मानिसको शरीर मात्र लैजान्छ तर आमासँगै हाम्रो बालापनको निश्चिन्तता, निःस्वार्थ विश्वास र निःसर्त ममताको एउटा युग पनि समाप्त हुन्छ। त्यसपछि संसारमा जति धेरै मानिसको साथ पाए पनि आमाको न्यानो काखजस्तो आश्रय, आमाको हातजस्तो सुरक्षा र आमाको आँखाभित्र लुकेको निःस्वार्थ आशीर्वाद कतै भेटिँदैन। त्यसैले आमा जीवित हुनु भनेको केवल एउटा व्यक्तिको उपस्थिति मात्र होइन, जीवनमा अझै पनि एउटा यस्तो आकाश बाँकी हुनु हो, जहाँ थाकेका हरेक क्षणमा निःसर्त प्रेमको छहारी पाइन्छ।
आज मेरो मन शान्त छैन। बारम्बार एउटै अनुहार, एउटै दृश्य र एउटै प्रश्नले सताइरहेको छ। यो केवल एउटा वृद्ध आमाको कथा होइन, यो हाम्रो समाज, हाम्रो संस्कार, हाम्रो जिम्मेवारी, हाम्रो मावनता अनि आधुनिक सोचको कथा हो।
आज संयोग मेरी आमाको झल्को मेटाउने एक वृद्ध आमासँग भयो। उहाँको घरमा पुगेँ, मेरा आँखाले ओछ्यानमा सुतिरहेकी मायालु वृद्ध आमालाई नै खोजिरहेका थिए। उहाँको शरीर एकदमै कमजोर भइसकेको थियो। उहाँ बोल्न सक्नुहुन्नथ्यो। धेरै झकझकाएपछि बल्ल आँखा खोलेर हेर्नुहुन्थ्यो अनि फेरि चिम्लिएका आँखा धेरै कष्टसाथ अलिकति मात्र उघार्नुहुन्थ्यो।
मैले हेरिराखेँ उहाँलाई, केही बेरसम्म मेरो मन असाध्यै बेचैन भयो। बिस्तारै उहाँको हात समाएँ, मेरा औंला च्याप्प समाउनुभयो तर आँखा उर्घानुभएन। यो दृश्यले मलाई भित्रैदेखि हल्लाइदियो। केही दिनदेखि ओछ्यानमै थला पर्नुभएको रहेछ, खानपिन पनि कम भएको रहेछ। मेरो पीडा झन् गहिरो भयो किनभने उहाँलाई मैले पहिलो पटक देखेको होइन, केही महिना अघि जब म त्यही घर पुगेकी थिएँ, उहाँ पूर्ण रूपमा फरक हुनुहुन्थ्यो। म जतिबेला पनि उहाँलाई भेट्न जान्थेँ, सधैं मुस्कानसहित ‘छोरी ! नानु !’ भनेर स्वागत गर्नुहुन्थ्यो। छोरी आइस् भन्दै आफ्नै छोरीलाई झैं माया अनि आफ्नै हातले खाना खुवाउन खोज्नुहुन्थ्यो। कहिले चुरा, कहिले टीका, कहिले घरमै बनाएको सेलरोटी। उहाँको अनुहारमा सधैं माया, स्नेह, अपनत्व, सम्मान हुन्थ्यो। उहाँ केवल आफ्नो सन्तानको मात्र आमा होइन, घरमा आउने हरेक पाहुनालाई आफ्नै परिवार सम्झिने एक महान् नेपालआमा हुनुहुन्थ्यो।
आज उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्न। उहाँका ओठ बन्द थिए तर मलाई लाग्यो– उहाँको मौनताले हजारौं प्रश्न गरिरहेको छ। अनि मैले प्रश्न गरेँ– कति दिन भयो ओछ्यानमा ? अस्पताल किन नलगेको ? केही त्यस्तो रोग देखियो ? उत्तरको प्रतीक्षामा परिवारको आँखा हेरेँ अनि उत्तर आयो– ‘दश–बाह्र दिन, एक महिनाअगाडिसम्म तलमाथि गर्नुहुन्थ्यो। रोग केही छैन, बुढेसकाल हो, किन सुई घोपेर दुःख दिने भनेर हो।’
त्यो उत्तर सुनेपछि मेरो मनमा आँधी चल्न थाल्यो। के नब्बे वर्ष पुगेपछि उपचार गर्ने आवश्यकता समाप्त हुन्छ ? के बुढ्यौली भनेको चिकित्सकको सुझाव सल्लाह नलिने समय हो ? एकजना आमा बोल्न सकिरहनुभएको छैन, शरीर दिन प्रतिदिन कमजोर हुँदै गएको छ भने चिकित्सकलाई देखाएर सायद अस्पतालमै भर्ना गर्नुपर्नेजस्तो लाग्यो। आमालाई हेरेँ, केही बोलिनँ। परिवार पनि चिन्तित देखिएका थिए। म चिकित्सक पनि होइनँ, उहाँको रोग के थियो भन्ने पनि मलाई थाहा थिएन। त्यसैले कसैमाथि आरोप लगाउने मेरो उद्देश्य पनि होइन तर एउटा नागरिक, एउटी छोरी र मावनताको हैसियतले मेरो मनले एउटै कुरा भनिरहेको थियो।
बिरामी वृद्ध आमाको उपचार गर्नु केवल रोग निको पार्ने प्रयास होइन, त्यो त उहाँले जीवनभर निःस्वार्थ रूपमा बगाउनुभएको माया, त्याग र तपस्याप्रति सन्तानले अर्पण गर्ने कृतज्ञताको सबैभन्दा जीवित अभिव्यक्ति हो। हामी कसैलाई मृत्युबाट जोगाउने सामथ्र्य राख्दैनौं तर उपचारको अवसरबाट वञ्चित गर्ने अधिकार पनि हामीसँग छैन। वृद्ध शरीर समयको नियमअनुसार कमजोर बन्छ तर आमाको जीवनको मूल्य उमेरसँगै कहिल्यै घट्दैन। जसरी उहाँले हाम्रो सामान्य ज्वरोमा पनि रातभर निद्रा त्यागेर निधार छाम्नुभएको थियो, त्यसरी नै उहाँको पीडाको प्रत्येक सासमा हाम्रो कर्तव्य, हाम्रो संवेदना र हाम्रो मानवता जाग्नुपर्छ। उपचारले सधैं जीवन लम्ब्याउँछ भन्ने निश्चित छैन तर यसले एउटा अमूल्य सत्य प्रमाणित गर्छ– आमा अन्तिम क्षणसम्म पनि हाम्रो माया, सम्मान र जिम्मेवारीको केन्द्र हुनुहुन्छ। अन्तिम परिणाम जे भए पनि उपचारले सन्तानको मनमा पछुतोभन्दा कर्तव्य पूरा गरेको शान्ति छोड्छ र बिरामी आमाको मौन आँखामा पनि एउटा सन्तोष झल्किन्छ, आफूले जीवनभर जोगाएको सन्तानले अन्तिम समयसम्म पनि मलाई छोडेन भन्ने आभास हुन्छ।
यस्तो अवस्थामा कम्तीमा विशेषज्ञ चिकित्सकको सल्लाह त लिनैपथ्र्यो। अस्पतालले सबै बिरामीलाई बचाउन सक्छ भन्ने होइन तर अस्पतालले कारण पत्ता लगाउँछ, पीडा कम गर्छ, शरीरमा आवश्यक पानी र पोषण दिन्छ, थप संक्रमण हुन सक्दैन। बिरामीको अन्तिम समय नै आएको हो भने पनि सम्मानजनक हेरचाह सुनिश्चित गर्छ।
त्यस घरमा छोरा, बुहारी, नाति, नातिनी सबै थिए। सधैं आफन्त तथा परिवारको भिडभाड हुन्थ्यो। मेरो मनमा एउटै प्रश्न बारम्बार आइरहन्थ्यो– हामी आधुनिक समाजमा बाँचिरहेका छौं कि आफ्नै जिम्मेवारी बिर्सिरहेका छौं ? विज्ञान, प्रविधि र चिकित्सा क्षेत्रमा यति ठुलो विकास भइसकेको समयमा पनि आफ्नै आमा, बुबाका लागि आवश्यक पर्दा चिकित्सा क्षेत्रलाई प्रयोगमा ल्याउँदैनौं भने त्यो विकास केका लागि अर्थात् त्यसको अर्थ के रहन्छ ?
आज संसार कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स र अत्याधुनिक चिकित्सा प्रविधिको युगमा पुगेको छ। नेपालमै चिकित्सक विशेषज्ञ, आधुनिक अस्पताल र उपचारका नयाँ सम्भावना उपलब्ध छन् तर सबैभन्दा ठुलो प्रश्न प्रविधिको होइन, हाम्रो सोचको हो। के हामीले बुढ्यौलीलाई उपचारको अन्त्य ठान्न थालेका छौं ? के हामीले उमेर भयो भन्ने एउटा वाक्यले आफ्नो कर्तव्य समाप्त भएको सम्झिरहेका छौं ? यो कथा कुनै एक परिवारको आलोचना गर्न लेखिएको होइन। उनीहरूको आफ्नै परिस्थिति, पारिवारिक निर्णय वा हामीलाई थाहा नभएको कारण पनि हुन सक्छ।
आजको आधुनिक व्यस्त समाजमा यस्ता घटना धेरै घटेका छन्। तर मैले जे देखेँ, जे सुनेँ, त्यस्तै एउटा गम्भीर सामाजिक प्रश्न भने उठाएको हो। हामी सबैले आफ्ना वृद्ध आमाबाबुप्रति कति जिम्मेवारी महसुस गरेका छौं ? उहाँहरूले जीवनभर हाम्रा लागि आफ्नो निन्द्रा, आफ्नो स्वास्थ्य, आफ्नो समय साथै आफ्नो सपना त्यागेका छन्। आज उहाँहरू कमजोर हुँदा हाम्रो कर्तव्य केवल उहाँहरूको वरिपरि बस्ने मात्र होइन अनि उहाँहरूको अन्तिम सास कुर्नु पनि होइन। हाम्रो कर्तव्य उहाँहरूलाई सम्मान दिनु, अन्तिम क्षणसम्म सम्भव भए उपचारको अवसर उपलब्ध गराउनु हो। आमा, जसले हामीलाई नौ महिनासम्म कोखमा हुर्काउनुहुन्छ, जीवन आरोह–अवराहमा कति पनि बिचलित नभई अघि बढ्न सिकाउनुभएको छ। समग्रमा भन्दा जुन देवीदेवतालाई मान्छौं, त्यसको साक्षात रूप हुन् आमा।
हामी कसैलाई अमर बनाउन सक्दैनौं। मृत्यु रोक्न पनि सक्दैनौं तर उपचारको अवसर दिन सक्छौं, पीडा कम गर्ने प्रयास गर्न सक्छौं। अन्तिम समयमा उहाँहरूको हात समाउन सक्छौं, त्यो हाम्रो कानुनी मात्र होइन, नैतिक र मानवीय जिम्मेवारी पनि हो। सभ्य समाजको वास्तविक परिचय केवल अग्ला भवन, आर्थिक वृद्धि वा आधुनिक प्रविधि हुँदैन। सभ्य समाजको वास्तविक परिचय त त्यहाँका सन्तानले आफ्ना वृद्ध आमाबुबालाई कति सम्मान, माया र जिम्मेवारीपूर्ण तरिकाले अन्तिम समयसम्म साथ दिन्छन् भन्ने कुराले निर्धारण गर्छ।
यो कथा लेख्दै गर्दा धेरै आमाहरूको वेदना सम्झेर आँसु झरिरह्यो। गीत टाढा कतैबाट बजिरहेको थियो– सब कुछ मिल जाता है, लेकिन माँ नहीं मिलती।
आमा त्याग, तपस्या, बलिदान अनि स्नेहको खानी हुन्। यस आधुनिक व्यस्त समाजमा आमाको कोख, माया अनि त्याग झनै मूल्यवान् हुन्छ। त्यसैले आमाप्रति सम्मान गर्न हामी कहिल्यै नचुकौं।
प्रकाशित: २७ असार २०८३ ०६:०२ शनिबार

