आज आमाकाे मुख हेर्ने दिन
तर आमा!
मलाई तिम्राे मुख मात्रै हेर्न मन छैन।
मलाई हेर्न मन छ
तिम्राे आँखाबाट,तमाम दुखहरूकाे चित्र।
बुझ्न मन छ,
घाँसकाे हरियाे भारी बाेकिरहने त्याे टाउकाेकाे केश
कसरी सेताे फुल्याे?
कपाल फुले पनि जीवन किन फुलेन?
जीवन नफुले पनि कसरी देख्न सकिरहेछाै
फुलेकाे सपना?
तिमीले
दुख पढ्न सकाेस् भनेर धेरै पढाएकाे छाेराले
यी प्रश्नरूकाे उत्तर सायद कुनै नैतिक शिक्षामा पढेनछ।
त्यसैले निरूत्तित छ।
मलाई नाप्न मन छ
वेदनामा पनि सपना लुकाइराख्न सक्ने
ती आँखाहरूकाे गुरुत्वाकर्षण
र
जान्न मन छ थामेर आँसुकाे महासागर
कसरी बसिरहन सकेकाे विश्वास बाेकेर जीवनकाे डिलमा?
आमा!
अधुराे सपना पूरा गराेस् भनेर धेरै पढाएकाे तिम्रो छाेराले
यसकाे जानकारी कुनै दर्सनमा भेटेन
त्यसैले निशब्द छ।
मलाई पढ्न मन छ
तिम्रो निधारमा चाउरिएर लेखिएका
रेखाहरूकाे भाषाकाे कविता।
तर
यसकाे पढ्ने विधि छाेराले कुनै विज्ञानमा पढेनछ।
त्यसैले अहिले अलमलमा छ।
म पत्ता लगाउन चाहन्छु,
जिम्मेवारीकाे भारी बाेकीबाेकी
बाङ्गिएकाे हजुरकाे ढाडकाे काेणकाे मान कति हाेला?
आफूले दुखकाे हिसाब थपेर
छाेराले जीवनकाे सबै हिसाबकिताब मिलावस् भनेर
खुब पढायाै छाेरालाई
छाेराले
याे सुत्र र तथ्य कुनै गणितमा पढेनछ।
त्यसैले अहिले निरुत्तरित छ।
मलाई साेध्न मन छ
ढाड दुखेकाे बाहनामा बाँधेकाे पटुकीमा
कसरी आइपुग्थ्याे खेताला जाँदा
खाजाकाे आधा टुक्रा अल्झिएर?
खाना बाँड्दाबाँड्दै भाँडा रित्तिएकाे साँझ
अझ कसिलाे कसेपछि पटुकी
कसरी हराउँथ्याे हजुरकाे भाेक?
मलाई नाप्न मन छ
अभावकाे ढिस्काहरूमा ठाेकिँदाठाेकिँदा फुटेकाे
तिम्रो पैतालाकाे धाँजाहरूकाे गहिराई कति छ?
संसारकाे सबै स्थिति र अवस्थाहरूकाे बारेमा जानाेस् भनेर
आफू बन्धकी बसेर पढाएकाे छाेराले
यी तथ्यहरू
कुनै विषयमा पनि पढ्न पाएन वा पढ्न छुटाएछ।
र
अहिले केवल म चुपचाप छ।
तर
सायद
तिमिले आफ्नै गहिराई नाप्न सकाेस सम्झेर
पिडाकाे महाशागर नापि नापि पढाएकाे छाेराेले
पढेनछ यस्ताे कुनै बिज्ञान!
तिमिले आफेैँलाई बिर्सिएर
सबथाेक सम्झियाेस् भनेर पढाएकाे तिम्राे छाेराले
आफ्नै खुट्टामा उभिनुपर्छ
भनेर खुब पढ्याे
तर बिर्सिएँछ तिम्रो घुँडा दुख्ने राेग।
केही नपढी पनि
यत्राे रहस्यहरू बाेकिरहेकाे तिमिले
जीवन पढ्न सकाेस् भनेर जीवनभर पढाएकाे छाेराले
पढ्न छुटाएँछु वास्तविक शिक्षा।
आमा! मैले पढ्न भ्याईनछु प्रेमकाे पाठ
त्यसैले तिमिलाई माया गरेजस्तो गर्न पनि
मैले दिवश पर्खनुपर्छ
पात्राे हेर्नुपर्छ।
प्रकाशित: ४ वैशाख २०८३ ०७:४६ शुक्रबार





