१) लामखुट्टे
ऊ आउँछ
मेरो वरिपरि घुमिरहन्छ
समयसमयमा गीत सुनाउँछ
बिस्तारै चुम्न खोज्छ मेरा अङ्गअङ्ग
म परपर भाग्न खोज्छु ऊबाट
ऊ झन् - झन् पछ्याइरहन्छ मलाई
उसको यस्तो चाला मन पर्दैन मेरो मान्छेलाई
ऊ मलाई पटकपटक झम्टिन खोज्छ
मेरो मान्छे पटकपटक झम्टिन खोज्छ उसलाई
दुवैको घम्साघम्सीमा म पो विचलित बन्छु
आखिर ऊ मारिन्छ मेरो मान्छेबाट
म हेरिरहन्छु उसका रगतका छापहरुलाई।
२) सपना
मिरमिरे उज्यालोमा उड्ने चरीझै
केही सपना बोकेर
उडेको छ भोको पेट
खै उसकाे सपना पूरा हुन्छ वा हुँदैन
बिरानो ठाउँ नयाँ परिवेशमा
ऊ भिज्न सक्छ वा सक्दैन
तर पनि
लागिरहन्छ निरन्तर अघि बढ्न
बाटाका काँडाहरू पन्छाएर
प्रचण्ड गर्मी , हिउँ, बतास र
टोरनाडोसँगै जुधेर
कैयौ सपनाहरू पूरा गर्न
पसिना बगाइरहेछ हर्दम
उसको मनभरि छन्
बुढा बाआमा प्रियसी र लालाबालाका
उत्सुक अनुहारहरू।
प्रकाशित: ११ श्रावण २०८३ १०:०२ सोमबार





