स्वर संगम संगीतालय, विराटनगरले दशैंको शुभारम्भसँगै मासिक बैठकी शृङ्खला सुरू गरेकाे छ।
पहिलाे शृङ्खलामा विराटनगर प्रज्ञाप्रतिष्ठान, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष कवि विवश पोखरेलले एकल कविता वाचन कार्यक्रम सम्पन्न भएकाे छ।
यही महिनादेखि सुरु गरेको मासिक बैठकी शृङ्खला -१ मा तीसको दशकदेखि नेपाली साहित्यको कथा, कविता सिर्जनामा समर्पित कवि पोखरेलले यस पहाड, समय, निस्तब्ध किनारामा, शब्द स्मृतिमा आमा, वसन्तले आत्महत्या गरेको दिन, सेतो घर, स्वास्नी, गुलाफ सन्चै छ? ऊसँगको भेटमा, अहिले गाउँमा केही छैन, बुद्धको मृत्यु, छोरी, बुद्धिकान्तको घडी, बग्दैबग्दै जाने छोरासँग, शालिनी, एउटी नगरवधुको डायरी लगायत विविध विषयका सत्र कविता वाचन गरिएकाे थियाे।
मालश्री धुनबाट उद्घाटन गरिएको उक्त कार्यक्रममा संगीतालयका कलाकारहरूले मीठो संगीत दिएर वाचित कविताहरूलाई अझ प्रभावशाली र जीवन्त बनाएकाे थियाे।
कवि, कथाकार पोखरेलका कथा कविता, बालसाहित्य, निबन्ध, मुक्तक विधाका नौ कृति प्रकाशित छ्न्। उनले दर्जनौं कृतिको समेत सम्पादन गरेका छन्। उनी एक कुशल साहित्यिक अभियन्ता पनि हुन्।
स्वर संगम संगीतालयका प्रमुख संगीतकार कुश्वेश्वर राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शुभकामनासँगै वाचित गरिएका कविताहरूमाथि कवि मनु मन्जिलले समीक्षा गरेका थिए। आमन्त्रित अतिथिहरूलाई स्वागत संगीतालयका सचिव महिमा शर्माले स्वागत गरिन् भने कार्यक्रमको सन्चालन कवि शुभलक्ष्मी लम्सालले गरेकी थिइन्।
प्रकाशित: २६ आश्विन २०८३ ०८:३१ सोमबार





-600x400.jpg)